Ad Area

मुलुकको समग्र विकासका लागि अब देशभर घण्टी बज्ने लामिछानेको दावी


घोराही, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले यसअघि सत्तामा पुगेका नेताहरुले देश बनाउने भन्दा देश बिगार्ने काम गरेको आरोप लगाउनुभएको छ । पार्टीको आयोजनामा शुक्रबार घोराहीमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले वर्षौ पार्टीहरुले आफ्नो र आफन्तको भलो हुने काम मात्र गरेको र नागरिकको पीडा भने अहिले पनि ज्यूँ का त्यूँ रहेको तर्क गर्नुभयो ।

आफ्नो पार्टीको कुनै सिद्धान्त, विचार नरहेको भन्दै ५–६ वर्षसम्म नागरिकका दुःख सुनेको र त्यहि दुःख नै आफ्नो सिद्धान्त विचार भएको बताउनुभयो । आफूले देखेको नागरिकको आँसु दुःख र त्यहि दुःखहरुको अन्त्य गर्ने काम आफ्नो पार्टीले गर्ने उहाँको भनाई थियो ।

लामिछानेले सत्तामा पुगेर कानमा तेल हालेर बस्ने नेतृत्वलाई घण्टी बजाउने बताउनुभयो । उहाँले सत्तामा पुग्ने नेतृत्वले कानमा तेल हालेर बसेकाले देश समस्याको भूमरीमा गएको भन्दै आगामी मंसिर ४ मा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाटीले घण्टी बजाउने बताउनुभएको छ ।

उहाँले नागरिकको जीवन परिवर्तन गर्न सत्तामा पुगेका नेताले आफु र आफ्नाको जीवन परिवर्तन गरेको बताउनुभयो । कमिनशनको दाउमा देशलाई ठेक्का पट्टामा लगाएर खोक्रो पार्नेहरुले आगामी पाँच वर्षमा बाँकी रहेको पनि सकाउने उहाँले आरोप लगाउनुभयो । देश बचाउनका लागि भएपनि आफुहरु देश दौडाहमा लागेको सभापति लामिछानेले बताउनुभयो ।

‘पाँच वर्षमा कसले कति खाने भनेर अहिले भागबण्डाको खेलमा लागेका छन् ’ उहाँले भन्नुभयो ‘देशलाई बेच्न खोज्नेहरुदेखि सावधान हुनुहोस्, अब आफु सच्चिने र देशलाई सही बाटोमा लैजाने अभिभारा नेपाली जनताको काँधमा आएको छ ।’

यस्तै पार्टीका प्रवक्ता डा. मुकुट ढकालले दाङ देशकै दोस्रो राजधानी हुने स्थान भएपनि यस ठाउँलाई दाङका नेताहरुले ठगेको बताउनुभयो । यस्तै मेरो कल्पनाको देश विषयमा दाङका नरबहादुर डाँगी, पदम पुन, पार्वती नेपाली, शिलाकुमारी केसी, तेज विक्रम वली, सन्तोष परियार, अन्जु अधिकारीलगायतले धारणा राख्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad