Ad Area

सवा ६ करोडको शेयर निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त संस्था


घोराही, २० साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुका लागि शेयर जारी गर्न विशेष साधारणसभामार्फत स्वीकृति प्रदान गरेको छ । यसअघि स्वीकृति प्रदान गरेको शेयर पूँजीलाई नेपाल राष्ट्र बैंकले अनुमति दिएपनि कम्पनी रजिष्ट्रारले कर्मचारी, सर्वसाधारण र सामुहिक लगानी कोषका लागि रकम थप गर्नुपर्ने भन्दै प्रबन्ध पत्र र नियमावली संशोधन गर्न परिपत्र गरेपछि विशेष साधारणसभाबाट पारित गरिएको हो ।

शुक्रबार केन्द्रिय कार्यालय घोराहीमा आयोजित विशेष साधारण सभाले संस्थाको ६ करोड शेयर पूँजीमा वृद्धि गरेर ६ करोड २३ लाख ३८ हजार बनाएको छ । जस अनुसार प्रति शेयर कित्ता सयका दरले ६ लाख २३ हजार ३ सय ८० रुपैयाँ बनाईएको छ ।

संस्थाका शेयर सदस्यहरुले प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने निर्णय गरेकाले शेयर निष्काशनका लागि रजिस्ट्रार कार्यालयमा पारित भएको निर्णय पठाएपछि अन्तिम स्वीकृति प्राप्त हुने र त्यसलगत्तै प्रारम्भिक पूँजी निस्काशन (आईपिओ) जारी हुनेछ ।

२०७६ बैशाख २ बाट आत्मनिर्भर लघुवित्तका रुपमा रुपान्तरण भएको संस्थाले यसअघि ७०–३० को अवधारणामा शेयर जारी गर्ने तयारी भएपनि राष्ट्र बैंकको पछिल्लो नियमले यो प्रकृया अपनाउनु परेको संस्थाका प्रमुख प्रशासकीय अधिकृत सोगतबीर चौधरीले बताउनुभयो । जस अनुसार अब जारी पूँजीमा ३२ दशमलव ६२ प्रतिशत शेयर निस्काशनको तयारी भएको छ ।

संस्थाकी अध्यक्ष मीरा चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको प्रमुख आतिथ्यतामा भएको विशेष साधारण सभामा सहभागी वक्ताहरुले संस्थाको आन्तरिक पक्षलाई बलियो बनाउँदै लक्षित समुदायको उत्थानमा केन्द्रित भई लगानी गर्न सुझाव दिनुभएको थियो ।

गरिव, विपन्न, पिछडिएका वर्गको उत्थानमा संस्थाको भूमिका हुनुपर्ने भन्दै लगानी गर्दा संस्थालाई आर्थिक लाभ भएपनि प्रतिफलको हिस्सेदार लाभग्राही पनि बन्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले देशको आर्थिक विकासमा वित्तिय संस्थाको भूमिका अतुलनीय रहेको भन्दै आत्मनिर्भर लघुवित्तले पनि जनमुखी काममा ध्यान दिन अपिल गर्नुभयोे ।

विशेष साधारण सभाको औचित्यमाथि प्रमुख कार्यकारी अधिकृत सोगतबिर चौधरीले पार्नुभएको थियो । संस्थागत स्थिति विवरण आन्तरिक लेखा परिक्षक नेपबहादुर चौधरीले अवगत गराउनुभएको थियो । दाङ, बाँके, बर्दियासहित सल्यानमा २१ वटा शाखा रहेको वित्तिय संस्थाको संस्थाको अधिकृत पूँजी ८ करोड, जारी पूँजी ६ करोड र चुक्ता पूँजी ४ करोड २० लाख रहेको छ । संस्थाका कर्जा अधिकृत कालीदास चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण आन्तरिक लेखा परिक्षक सुशीला गिरीले गर्नुभएको थियो ।