Ad Area

गठबन्धनलाई हराउँदै ताजा जनादेशबाट एमाले सरकारमा जाने उपाध्यक्ष नेम्वाङको दावी


घोराही, २ साउन । नेकपा एमालेको उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अपवित्र गठबन्धन एमाले विरुद्ध एक्लै चुनाव लड्न नसक्ने हुनु भनेकै एमालेको राजनीतिक जीत भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुखसमेत रहनुभएका नेता नेम्वाङले विचार र सिद्धान्त नमिल्नेहरु बीच गठबन्धन गरेर संसदीय मुल्य र मान्यता विपरीत काम गर्दा देश दुर्घटनामा परेको बताउनुभयो । एमालेको व्यापक दवावका बावजूद अन्ततः सरकारले आगामी निर्वाचनको मिति तोकेको हुँदा अब देशलाई असहज अवस्थाबाट पार लगाउन जनताले फैसला गर्नुपर्ने बेला आएको बताउनुभयो । ‘गठबन्धन आफैमा संसदीय मुल्य र मान्यता विपरीत छ, यो आफैमा अपवित्र छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले एमालेसँग एक्लै चुनाव लड्न सक्ने हैसियत राख्दैन, यसो हुनु भनेकै एमालेको राजनीतिक जीत भएको हामीले ठानेका छौँ ।’

सत्ता स्वार्थमा लिप्त भएका, देशलाई श्रीलंकाको बाटोमा हिँडाउन खोजेका गठबन्धनका नेताहरुको कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई काम गर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताउनुभयो । ‘देशको अग्रगमनका लागि हामीले नयाँ जनादेशको कुरा गर्दा अराजनीतिक पार्टी, राष्ट्रघाती भन्नेहरु टाउको जोडेर जनताको बीचमा भ्रमको खेती गरिरहेका छन्, जनताले उनीहरुको कार्यशैली र गतिविधिलाई बुझेका छन्’ उहाँले भन्नुभयो, ‘जसले राष्ट्र र राष्ट्रियताको लागि सरकारमा बसेर काम गर्यो, जनताको जन जीविकालाई माथि उठाउन समाजमा योगदान दिन खोज्यो उसलाई जनताले रुचाई रहेका बेलामा अपवित्र गठबन्धन गर्नेहरुले रुचाएनन् । आखिर देशलाई यस्तो अवस्थामा ल्याउनका लागि रहेछ भन्ने आज प्रमाणित भएको छ ।’

हिजोको असहज परिस्थितीमा देशको निकासका लागि ताजा जनादेशमा जानुपर्छ भनेको एमालेलाई राष्ट्रघाती भन्नेहरु अहिले आफुहरुको बाटोमा आएको स्मरण गराउँदै उहाँले एमाले जनताको मन, विचार र विश्वास लिएर सँधै अघि बढेको पनि बताउनुभयो । यस्तै, आफ्नो पार्टीले संसदीय मुल्य र मान्यतामा रही जिम्मेवार प्रतिपक्षको रुपमा गरी रहेको खबरदारीलाई कमजोरीका रुपमा नलिन चेतावनी दिनुभएको छ ।

नेता नेम्वाङले पछिल्लो समय गठबन्धन सरकारले एकपछि अर्को गलत काम गर्दै गएकोमा खबरदारी गर्दागर्दै पनि नजरअन्दाज गरेर अघि बढ्न खोज्नु मुलुक र जनताको हीत विपरीत भएको तर्क गर्नुभयो । ‘हामी संविधान र संसदीय मुल्य र मान्यतामा रहेर जिम्मेवार प्रतिपक्षको भूमिकामा उभिँदै आएका छौँ, जनताको आवाजलाई नीति र विधि सम्मत रुपमा संसदका बोल्दै आएका छौँ, हामीले विनम्रतापूर्वक गर्ने व्यवहारलाई गठबन्धन सरकारले कमजोरी ठान्छ भने त्यो दर्भाग्य हुनेछ,’ उहाँले भन्नुभयो, ‘के हामीले उनीहरुले गरे जस्तै टेबल फुटाउनु पर्ने हो ? के हामीले प्रहरीमाथि आक्रमण गर्नुपर्ने हो ? जनताको आवाज विपरीत काम गर्ने हाम्रो नीति र सिद्धान्तमा छैन । हामी त्यसो गर्दैनौ ।’

Blog Post Ad

गठबन्धन सरकारले गरेका गलत कामको विनम्रतापूर्वक खबरदारी गरिरहेको जिम्मेवार प्रतिपक्ष एमालेलाई किनारा लगाउँछौँ भन्नु दिवास्प्न मात्रै भएको जिकिर गर्नुभयो । दल विभाजनबिना नै विचार सिद्धान्त नमिल्ने दलहरुबीच गठबन्धन गरेर देशलाई बर्बादीको बाटोमा हिडाईरहेकाहरुले जनताको विश्वासमाथि कुठाराघात गरेको बताउनुभयो । तर, आसन्न प्रदेश र संघीय निर्वाचनमा उहाँल मन र विचार मिल्नेहरुसँग तालमेल हुन सक्ने संकेत भने गर्नुभएको छ । कुन दलसँग कसरी तालमेलन गर्ने भन्ने बारेमा पार्टीमा ठोस छलफल नभएको उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय लगातार रुपमा संसदबाट पारित गरिएको एमसीसी, एसपीपी, नागरिकता विधेयक जनता र राष्ट्र अनुकुल नभएको स्पष्ट पार्नुभयो । लामो समयसम्म विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकका अन्तरबस्तुका संसदीय समितिभित्र वृहत छलफल गरी पटक पटकको संशोधन पश्चात अघि बढाउने काम हुनुपर्नेमा हठात् गरिएको कामले नेपाली नागरिकलाई ठूलो धोका भएको बताउनुभयो । यस्तै, उहाँले अर्थमन्त्रीको सिसि टिभी फुटेज प्रकरण, गभर्नर निलम्बन प्रकरणका बारेमा पनि स्पष्ट पार्नुभएको थियो ।

उहाँले गठबन्धनका नेताहरुले एमालेले एम अधिकारीसँग अर्थमन्त्रीको फुटेज प्रकरणमा सौदावाजी गर्यो भन्नु सरासर गलत प्रचार भएको बताउनुभयो । एम अधिकारीका बारे स्वयम् गभर्नर महाप्रसाद अधिकारी र एमालेले आफ्नो स्पष्ट धारणा सावजनिक गरिसकेको अवस्थामा पनि गठबन्धनका नेताहरुबाट जनतामा भ्रम फैलाउन गलत प्रचार गरिएको प्रष्ट पार्नुभयो । चौतारी जिल्ला अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर राम्जाले गर्नुभएको थियो भने सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad