Ad Area

दाङमा थपिए ९ हजार २ सय बढी मतदाता


घोराही, २२ साउन । दाङमा पछिल्लो करीव साढे १ महिनामा ९ हजार बढी मतदाता थपिएका छन् । ४९ दिनको अवधिमा दाङमा गरिएको मतदाता नामावली संकलन अभियानमा ४ हजार ४ सय ७३ महिला र ४ हजार ७ सय ४९ जना पुरुष गरी कुल ९ हजार २ सय २२ जना नयाँ मतदाता थपिएका निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार, बैशाख ३० को स्थानीय तह निर्वाचनपछि असार १ गतेबाट सुचारु भएको मतदाता नामावली संकलन अभियान साउन १९ गतेसम्म चलेको थियो ।

यो समयमा जिल्लाभित्रको दर्ता संख्या ८ हजार ९ सय ८५ रहेको छ भने बाहिरी जिल्लाको दर्ता संख्या २ सय ३७ रहेको उहाँले बताउनुभयो । जिल्लामा ४ हजार ३ सय ६९ जना महिला र ४ हजार ६ सय १६ जना पुरुष थपिएका छन् भने बाहिरी जिल्लाको दर्तामा महिला तर्फ १ सय ४ जना र पुरुष तर्फ १ सय ३३ जना थपिएका हुन् ।

यसअघि, दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका थिए । योसँगै जिल्लामा कुल मतदाता संख्या ४ लाख १९ हजार १ सय २४ पुगेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले बताउनुभयो । सरकारले प्रदेश र संघीय निर्वाचनको मिति मंसीर ४ गते तोकेसँगै साउन २० गतेबाट मतदाता नामावली संकलन अभियान स्थगित भएको छ ।बैशाख ३० गते भएको निर्वाचनमा दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको थियो ।

Blog Post Ad Blog Post Ad