Ad Area

आत्मरक्षा तालिम लिएपछि किशोरीहरू उत्साहित


रञ्जिता अधिकारी
दाङ, २६ साउन । दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर २ सरुवाडाँडाकी १७ वर्षीया संगीता चौधरीले आत्मरक्षा तालिमबारे पत्रपत्रिकामा छापिएका समाचार त पढ्नुभएको थियो तर तालिम नै भने लिनुभएको थिएन । उहाँलाई २०७९ साउन १८ र १९ गते यो तालिम लिने अवसर मिल्यो । मधपुरस्थित श्री माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत संगीताले कुनै पनि नयाँ ठाउँमा जाँदा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने ज्ञान तालिमबाट प्राप्त भएको बताउनुभयो । अपराध गर्नेले जस्तोसुकै बेलामा पनि गलत काम गर्न सक्ने हुँदा आत्मरक्षाका लागि सबैभन्दा ठुलो कुरा आत्मबल बलियो बनाउँदै त्यसको प्रतिकार गर्ने साहस बटुल्नु रहेको उहाँको धारणा छ ।

दाङ जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ५ काशीपुरकी १६ वर्षीया रेखा बुढाथोकी स्थानीय श्री आदर्श मावि काशीपुरमै कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँले पनि २०७९ साउन १८ र १९ गते आत्मरक्षाको तालिम लिनुभयो । पहिले उहाँ प्रहरी तथा सेनामा कार्यरत वा तेक्वान्दो खेलाडीहरूले मात्र आत्मरक्षाको तालिम लिन्छन् भन्ने सोच्नु हुन्थ्यो । तालिममा सहभागी भएपछि भने यस्तो तालिम सबैलाई अति नै आवश्यक रहेको अनुभव गर्नुभएको छ । “मलाई आत्मरक्षाको विषयमा खासै जानकारी थिएन,” बुढाथोकीले भन्नुभयो, “धेरै कुरा सिक्ने अवसर मिलेको छ । सिकेको र जानेको कुरालाई जीवनमा लागु गर्ने छु ।”

दंगीशरण गाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया टीका भुसाल पनि आत्मरक्षा तालिममा सहभागी भएपछि धेरै कुराको बोध भएको बताउनु हुन्छ । खिलतपुर बीरेन्द्र माविमा कक्षा १२ मा अध्ययनरत टीकालाई अब तत्काल आफुमा आइपर्ने कुनै पनि समस्या छ भने समाधानका लागि अग्रसर हुने आत्मबल मिलेको छ । आत्मरक्षा तालिम केही कठिन भए पनि यसले एक प्रकारको ऊर्जा दिएको बताउनुभयो । “आत्मरक्षा गर्ने धेरै उपाय सिकेका छौँ,” उहाँ भन्नुभयो, “अब अरूलाई पनि तालिम दिन सक्ने भएकी छु जस्तो लागेको छ ।” यस्तो तालिम सबै बालिका, किशोरीलाई दिन आवश्यक रहेको उहाँको सुझाव छ ।

“हामीले यौनहिंसाबाट कसरी बच्ने भन्ने उपाय सिकेका छौँ । कसैले बलात्कार प्रयास गरे प्रतिकार गर्ने सिप जानेका छौँ । यो सिप अरूलाई पनि सिकाउने छौँ । पहिलाभन्दा आत्मविश्वास बढेको छ र सुरक्षित महसुस भएको छ,” उहाँले भन्नुभयो । जिल्लाका सात विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययन गरिरहेका किशोरीलाई यही साउन १८ र १९ गते दुई दिने तालिम इम संस्थाको सहयोग सिड संस्थाको आयोजना र दंगीशरण गाउँपालिकाको समन्वयमा बालविवाह तथा लैङ्गिक हिंसा बिरुद्ध महिला तथा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम दंगीशरण गाँउपालिकाको कार्यालयमा आत्मरक्षा तालिम दिइएको थियो ।

तालिम क्रममा अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अङ्गमा प्रहार गर्नेलगायतका उपाय पनि सिकाइएको थियो । तालिमपछि किशोरीहरू उत्साहित र आत्मविश्वासी बनेका छन् । यौनजन्य हिंसाको प्रयास गर्नेविरुद्ध प्रतिकार गर्ने क्षमता विकास भएको किशोरीहरूको बुझाइ छ । दंगीशरण गाउँपालिका भित्रका माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत २६ किशोरीहरुको सहभागिता थियो । पूर्णिमा भण्डारीले गलत नियतले हात समाते, पछाडिबाट अँगालो हाले, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास भएमा त्यसबाट जोगिन प्रतिकार गर्न सिकाइएको बताउनुभयो ।

Blog Post Ad

भण्डारीका अनुसार, शारीरिक र मानसिक रूपमा कसरी सक्षम हुने मात्र होइन, विभिन्न यौनजन्य हिंसा र दुव्र्यवहारबाट कसरी आफ्नो सुरक्षा आफैँ गर्ने भन्ने विषयमा पनि ज्ञान दिइएको थियो । आत्मरक्षा तालिम बालिकामाथि हुने यौनहिंसा नियन्त्रण गर्न फलदायी हुने विश्वास गरिएको छ । बालिका र किशोरीहरूलाई तालिममा सहजीकरण गर्दै आएको सिड्स संस्थाकी सामाजिक परिचालक सीता चौधरीले भन्नुभयो, “किशोरीहरूलाई यस्तो तालिम आवश्यक थियो । उनीहरूमाथि कुनै बेला पनि हिंसा हुने जोखिम छ । हामीले आत्मरक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारीसहितको उपाय सिकाएपछि किशोरीहरू प्रतिकार गर्न सक्ने भएका छन् भन्ने लागेको छ ।”

किशोरीहरूले आफूमा आत्मबल बढेको छ भनेको सुन्दा निकै खुसी लागेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी बताउँछन् । “पछिल्लो समय गाउँ र समाजमा महिला हिंसा, बलात्कार, यौन दुव्र्यवहारका घटना बढेकाले यस्तो तालिमको आवश्यकता निकै बढेर गएको छ,” उहाँले भन्नुभयो, “समाजलाई सही दिशामा अघि बढाउन सबै क्षेत्रमा जिम्मेवारी बोध गराउन आवश्यक छ । त्यसका लागि सचेतना दिनु निकै जरुरी छ ।”

स्थानीय पालिकाको समन्वयमा राखिएको तालिमले आत्मरक्षा गर्न किशोरीहरूलाई विभिन्न उपाय सिकाएको छ । “हामीले उनीहरूलाई मोटिभेसन तालिम पनि दिएका छौँ,” तालिम प्रशिक्षक तथा इलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी सहायक निरीक्षक एवं इन्चार्ज बलसिंह केसीले भन्नुभयो, “आत्मरक्षाका लागि विभिन्न टिप्स दिएका छौँ । खासगरी महिलामाथि हिंसा गर्नेको प्रतिकार कसरी गर्ने भनेर सिकाइएको छ ।” मनोबल बढाएर महिला पनि पुरुष जत्तिकै बलिया छन् भन्ने आत्मविश्वास दिने काम गरेको उहाँले बताउनुभयो । तालिमले किशोरीहरूलाई भावनात्मक रूपमा बलियो बनाएको उहाँको भनाइ छ ।

यस्तै, कसैले समाते वा समात्न खोजे चिच्याउने र चिच्याउँदै भिड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल पनि सिकाइएको अर्का प्रशिक्षक प्रहरी सहायक हवल्दार इन्द्रलाल चौधरीले बताउनुभयो । किशोरीहरू आफ्नो सुरक्षा आफँै गर्न सक्ने भए भने उनीहरू सुरक्षित हुने उहाँँको धारणा छ ।

“आफ्नो सुरक्षा कसरी गर्नुपर्छ भन्ने कुराको ज्ञान मलाई हुनुपर्छ भन्ने विद्यार्थीले बुझेका छन्,” प्रशिक्षक केसीले भन्नुभयो, “यस्तो तालिम धेरैलाई दिनुपर्छ भनेर नै नेपाल प्रहरीको अभियान पनि चलेको छ, जसका लागि विभिन्न सङ्घसंस्थाहरूसँगको सहकार्यमा हामीले समुदाय प्रहरी साझेदारी अभियानका रूपमा गाउँगाउँमा सचेतनामूलक अभियान चलाइरहेका छौँ ।”

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार दाङ जिल्लामा आर्थिक बर्ष २०७८-०७९मा महिला तथा बालबालिका माथि जवरजस्ती करणीका ८३ वटा, जवरजस्ती करणी उद्योगका २९ वटा, मावन बेचबिखनका २, बहुविवाहका ४२, बाल यौन दुरुपयोग ३ वटा उजुरी परेको छ । जसमध्ये ठाडो उजरी परेको ४३१ मुद्धा मध्ये ३६८ मुद्धा मिलापत्र भएको छ भने ५६ मुद्धा अदालत गएको ७ जनालाई मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक निमा जिसीले जानकारी दिनुभयो । घरेलुहिंसाका १२९ मुद्धा परेकोमा ११५ वटा मिलापत्र भएको र १४ जनाको सम्बन्ध बिच्छेदको लागि अदालत गएको उहाँँले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानमा किशोरीहरूका लागि प्रहरी र विभिन्न संघसंस्थाले आत्मरक्षासम्बन्धी तालिम दिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले समाजमा बढ्दो अपराध रोक्न सचेतना अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ । अभियानकै रूपमा अघि बढाउनु पर्ने नागरिक स्तरबाट आवाज पनि उठेको छ । यसका लागि हरेक पालिकामा आत्मरक्षासम्बन्धी अभियानमा किशोरी र जोखिम समूहलाई सहभागी बनाई उनीहरूमा सचेतना प्रदानसँगै जागरुक बनाउन कार्यक्रम गर्नुपर्ने अधिकारकर्र्मीहरूको भनाइ छ । बालविवाह तथा लैङ्गिक हिंसाविरुद्ध महिला तथा किशोरीहरूका लागि आत्मरक्षा तालिम दिनसकेको अवस्थामा समाज अपराधरहित बनाउन र सभ्य समाज निर्माण गर्न बल पुग्ने विश्वास गरिएको छ ।

Blog Post Ad Blog Post Ad