Ad Area

हापुर खोलाको बितण्डा, सडक र खेत कटानपछि अस्पाराका स्थानीय त्रसित


घोराही, २७ साउन । हापुर खोलामा आएको बाढीले बाटोसहित खेत बगाउँदा स्थानीयलाई आउजाउ गर्न निकै समस्या भएको छ । गत शनिबार राति परेको वर्षाका कारण आएको बाढीले भर्खरै रोपेको धानबालीसहित खेत कटान गर्नुका साथै सार्वजनिक बाटोसमेत बगाएको एक साता बित्नै लाग्दा पनि मर्मत हुन नसक्दा आफुहरु त्रासमा बस्न बाध्य भएको स्थानीयले बताएका छन् ।

साउन २१ गते राति परेको अविरल वर्षाले घोराही उपमहानगरपालिका वडा नम्बर ९ मा पर्ने अधिकांश खेतमा नोक्सान गरेको छ । यस्तै, सोही वडा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टा जोड्ने बाटो पनि हापुर खोलाले बगाएपछि आफुहरु निकै मारमा परेको अस्पाराका वामदेव शर्माले बताउनुभयो ।  ‘यो खोलाले अहिले निकै दुख दिएको छ, पहिला पहिला यति ठूलो भल यता आएको थिएन, पानी पनि उतै पारीबाट बग्थ्यो, अहिले त गाउँमै पस्ला जस्तो गरेको छ,’ खोलाको डिलमा उभिएर दुख पोख्दै उहाँले भन्नुभयो, ‘अब यसको उपाय नसोँच्ने हो भने हामीले थप दुख सहनुपर्छ ।’

उहाँका अनुसार, हापुर खोलाको बहाव तुलसीपुर क्षेत्रबाट बग्ने गरेकोमा केही वर्षयता घोराही ९ को सिमा क्षेत्रबाट बहाव परिवर्तन गरेर बग्ने गरेको छ । जसका कारण अस्पाराको अधिकांश खेत अहिले बगर बनेको उहाँले बताउनुभयो । खोलाले अत्यधिक मात्रामा खेत कटान गर्न थालेपछि स्थानीयबासीले कटान नियन्त्रणका लागि सम्बन्धित निकाय र पालिकामा जानकारी गराउँदै ध्यानाकर्षण गराएपनि प्रभावकारी रुपमा काम हुन नसक्दा यो पटक ठूलो मात्रामा क्षति भएको उहाँले बताउनुभयो ।

‘खोलाको पारीसम्म वारीका खेत हुन्, अहिले खेत बगर बनिसक्यो, मनलाग्दी खोला बगेको छ, हामीलाई दुख दिएको छ, ३–४ वर्षयता हापुर खोलाले धेर सतायो, गर्दागर्दा बाटो नै बगायो, अब कताबाट हिँड्ने होला ?’ प्रश्न गर्दै शर्माले भन्नुभयो, ‘बाटो नै  खोलाले खाई दिएपछि अब खेत पनि खान लाग्यो ।’ खोलाले खेत र बाटो बगाउनुका साथै सिंचाई डिभिजन कार्यालय तुलसीपुरले निर्माण गरिरहेको अस्पारा लिफ्ट डिपबोरिङ पनि जोखिममा परेको छ । करीव सय घरधुरीलाई खानेपानी पुर्याउने र डबरामा सिँचाई सुविधा पुर्याउने लक्ष्यका साथ निर्माणाधीन अवस्थामा रहेको उक्त लिफ्ट डिपबोरिङ हापुर खोलाले बगाउने अवस्थामा पुगेको छ ।

Blog Post Ad

२०२१ सालमा नापी गरिएका दर्ता श्रेष्ता कायम भई पोत बुझाउँदै आएका धेरै खेत अहिले बगरमा परिणत भएको बताउँदै उहाँले खोलाको बहाव नियन्त्रण गर्दै पहिलेकै धारबाट बगाउने गरी तारजालीसहित दीर्घकालीन तटबन्ध गर्नुपर्ने अस्पाराबासीको माग छ । हापुर खोलाले अस्पाराको माथिल्लो भागबाट खेत कटान गर्दै क्षति पुर्याउँदै आएको छ भने तल्लो भागमा सक्राम खोलाले थप क्षति गरिरहेको अस्पाराका अमर भण्डारीले बताउनुभयो । ‘ऊ पारीसम्म अस्पाराका खेत हुन्, तर के गर्नु पोत बुझायो, खोला हेर्यो बस्यो मात्रै भएको छ,’ भण्डारीले भन्नुभयो, ‘हाम्रा समस्या बारे भन्दा भन्दा मुख दुखी सक्यो खोई कसैले सुन्ने होईन,  अब त खेत बगर बनेँ, उल्टै पालिकाले हाम्रा खेत बगर बनेपछि गिट्टीबालुवा उठाउन ठेक्का पो लगाउँछ ।’

गत वर्ष पनि दुवै खोलाले खेत कटान अत्यधिक गरेपछि कटान नियन्त्रणका लागि सामान्य तारजाली गरेपनि सम्भव नभएको बताउनुभयो । उहाँका अनुसार खोलाले सयौँ विगाहा खेत बगरमा परिणत गरिदिएको छ । लालपूर्जावाल खेत खोला र बगरमा परिणत हुँदासम्म पनि खेत कटान नियन्त्रणका लागि तीनै तहका सरकारले ठोस कदम नचालेको उहाँले बताउनुभयो । ‘भन्न नभ्याएको कहाँ होला र बरै, हामीले भ्याएसम्म सबैलाई यहाँको समस्याका बारेमा भनिसकेका छौँ, तर खै काम सिन्को भाँचिएको छैन, खेत खोलाले वर्षेंनी काटेर बगर बनाई सक्यो,’ उहाँले भन्नुभयो ।

गत वर्षपनि तारजालीका लागि बजेट माग गर्दा अत्यन्तै कम तारजाली पाएको, त्यसको  पनि पूूरा भुक्तानी नपाएको जस्ता समस्या व्यहोरेको उहाँको अनुभव छ । ‘पोहोर साल तारजाली माग गरेको हो, भने जति पनि पाईएन, त्यसमा भुक्तानी लिन गएको त्यसमा पनि पूरा भुक्तानी भएन, हामीले श्रमदान सबै गर्छौँ, केवल दीगो समाधानका लागि तारजाली नभए तटबन्धका लागि आवश्यक बजेट दिनुस् भनेका हौँ तर कही कसैले सुन्दैनन्,’ उहाँले भन्नुभयो, ‘अब खेत सबै बगर बन्ने भए ।’

जनताको समस्या समाधानमा स्थानीय सरकार कानमा तेल हालेर बस्दा आफुहरु जस्ता थुप्रै किसानको उठीबास लाग्ने स्थिती आएको बताउँदै उहाँले हाल देखा परेको समस्या समाधानका लागि आग्रह गर्नुभयो । हापुर खोलाले आफ्नो धान खेत कटान गरेको देखाउँदै उहाँले खेतको किनार अहिले खोलाको पारी रहेको बताउनुभयो । अहिले खोलाको बहाव उहाँको खेतको तिरैतिर भएर बग्ने गरेको छ ।

उसो त, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ ले एकलौटी रुपमा आफ्नो क्षेत्रलाई मात्रै ख्याल गर्दै तटबन्ध गरिदिएपनि खोलाको पानीको बहाव घोराही ९ अस्पारातिर ढल्केको छ । त्यसले पनि खेतमा ठूलो असर गरेको स्थानीय बताउँछन् । सोही ठाउँकी कुमारी केसीको पनि हापुर खोलाले यो पटक ठूलो क्षति पुर्याएको छ । भर्खरै रोपेको धानसहित करीव ५  कट्ठा खेत हापुर खोलाले बगाईदिएको बताउनुभयो । खोलाले खेत कटान गरेको देखाउँदै उहाँले जीवनभर दुख गरेर कमाएको पैसाले किनेको खेत बगरमा परिणत भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

जेनतेन गरेर किनेको खेत खोलाले खाईदिएपछि आफुहरु अब के गरी खानेभन्ने अवस्था आईपुगेको भन्दै बचेको एक कट्ठा खेत भएपनि बचाईदिन तत्काल तटबन्धको माग गर्नुभयो । ‘जेनतेन गरेर कमाएको पैसाले धान खाने खेत किनेका थियोँ अब त यो पनि सकियो बर्बाद भयो’ खोलाको डिलमा उभिएर बचेको एक कट्ठा खेत हेर्दै कुमारीले भन्नुभयो, ‘कम्तिमा यत्ति खेत त बचाई दिनुस् नत्र मेरो घर त सडकमा आउने भयो ।’

खोलाले उहाँ जस्तै धेरै किसानको खेत हापुर खोलाले काट्दै लगेको छ । खोलाले दक्षिण तर्फ बहाव बनाउँदै खेतीयोग्य जमीन धमाधन काटिरहेकाले भोलिका दिनमा दीगो रुपमा तटबन्ध हुन नसकेका आफुहरु थप क्षति व्यहोर्नु पर्ने अवस्थामा आउने मात्रै नभई सुकुम्बासी बन्ने अवस्थामा पुग्न सक्ने भन्दै चाँडोभन्दा चाँडो विपत व्यवस्थापनमा ध्यान दिन स्थानीयले आग्रह गरेका छन् ।  स्थानीय दानबहादुर केसीले खोलाको बहाव परिवर्तन हुँदै दक्षिण तिर लागेको हुँदा आगामी दिनमा यसले थप क्षति गर्ने हुँदा वडा कार्यालय, पालिका तथा सो क्षेत्रका नेताहरुसँग हारगुहार गरेपनि ठोस रुपमा काम हुन नसकेको बताउनुभयो ।

यसैबीच, हापुर खोलाले आफुहरुको खेत र बाटो बगाएको बारे अस्पाराका स्थानीयले साउन २२ गते  बिहानै घोराही उपमहानगरपालिकालाई जानकारी  गराएपछि दिउँसो उपप्रमुख हुमा डिसीले सो क्षेत्रको अनुगमन गर्नुभएको थियो । अनुगमन गर्दै उहाँले तत्काल बाटो मर्मत गर्दै खोलाको बहाव परिवर्तनका लागि डोजर पठाउने वचन दिँदै फर्किनुभएको थियो । ‘मैले त्यहाँको बस्तुस्थिती हेरेर फर्किए लगत्तै डोजर पठाउन भनेको हुँ, खै गयौ की नाई थाहा भएन,’ उपप्रमुख डिसीले भन्नुभयो, ‘कामका लागि पहल गरेको हुँ ।’

तर, स्थानीयले  क्षति व्यहोरेको एक साता बित्नै लाग्दा पनि घोराही उपमहानगरपालिकाले अझैसम्म डोजर नपठाएको स्थानीय अमर भण्डारीले बताउनुभयो । जसका कारण खोलाले अहिले पनि खेत र बाटोमा थप क्षति गरिरहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad