Ad Area

अन्तर्राष्ट्रिय युवा दिवस– ‘युवाको जोशमा अग्रजको अनुभव मिसाऔँ, समाजले गति लिन्छ’


घोराही, २७ साउन । युवा पुस्ताको अध्ययन र उत्साह तथा अग्रजहरुको अनुभव र सीपलाई समायोजन गरेर अघि बढेमात्रै अबको समाज समृद्ध बन्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा समाज रुपान्तरणका लागि सबै पुस्ताको सहभागीता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अग्रजहरु आरोह र अवरोहको बीचबाट अनुभवले पारङ्गत हुनेभएकाले उनीहरुको विवेक र अनुभवलाई नयाँ पुस्ताले अनुशरण गरेर अघि बढेमात्रै समाजले सही गति लिने र समाज समृद्ध बन्ने विश्वास व्यक्त गरिएको छ ।

घोराही उपमहानगरपालिका र नेपाल परिवार नियोजन संघ दाङ शाखाको संयुक्त आयोजनामा शुक्रबार घोराहीमा गरिएको कार्यक्रममा वक्ताहरुले अहिलेको नयाँ पुस्ताका काम भन्दा बढी उपलब्धी खोज्ने परिपाटीको विकास हुँदै गएकाले यसको असर देखा परेको बताउनुभयो । कामसँगै उनीहरुलाई कर्तव्य र अनुशासन सिकाउने तथा अग्रजहरुको अनुभवलाई स्वीकार्दै अघि बढेको खण्डमा त्यसले सफलता प्राप्तिमा भूमिका खेल्न सक्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख विनोद गौतमले वर्तमान अवस्थामा युवा पुस्ता ज्ञान, सीप र क्षमताले भरिपूर्ण भएपनि अनुभवको दृष्टिकोणले कमजोर भएकाले अग्रजहरुको अनुभवलाई आधार बनाउनुपर्ने बताउनुभयो । विज्ञान प्रविधिको युगमा नयाँ पुस्ता अभ्यस्त भईसकेपनि हिजोका दिनमा अग्रजहरुले गर्दै आएको काम, ज्ञान, सीप र धारणालाई अंगीकार गर्न सकेमा यसले नयाँ पुस्तालाई धेरै लाभ मिल्ने बताउनुभयो ।

उहाँले युवाहरुमा नयाँपनको कमी भएको स्वीकार्दै युवाहरुमा यसको खाँचो रहेको बताउनुभयो । युवाहरुमा नयाँपन भएमा आफै उद्यम बन्नेदेखि भइरहेका अवसरहरुलाई पनि नयाँ तरिकाले उपयोग गर्न सकिने उहाँको भनाई छ । तर त्यसका लागि सरकारको नीति कस्तो छ भन्नेमा भर पर्ने गौतमले तर्क गर्नुभयो । नेपालमा अवसर नदेखेपछि आफ्नै छोरोछोरी पनि युरोप, अष्ट्रेलिया पुगेको जानकारी दिँदै उहाँले नेपालमा गरिएको रोजगारीले युवाहरु सन्तुष्ट हुन नसक्ने अवस्था रहेको बताउनुभयो ।

Blog Post Ad

नेपाल बाल संगठन जिल्ला अध्यक्ष विनोद केसीले नेपालमा युवा कसलाई भन्ने विषय नै बहसका रुपमा उठाउन जरुरी रहेको बताउनुभयो । युवा पुस्ता कसलाई भन्ने बारेमा धेरै थरी मतभेद रहेकाले यसको उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो । अधिकार खोज्नेले कर्तव्य भुल्दा अहिलेको पुस्तामा विचलन देखा पर्दै गएकाले अब अग्रजहरुको साथ आवश्यक पर्ने बताउनुभयो ।

देशको ठूलो हिस्सा ओगटेको युवा जनशक्ति अहिले पनि यत्तिकै बरालिन बाध्य भएको, विदेश पलायन हुँदै गएको, शिक्षा हासिल गरेर पनि सीपयुक्त जनशक्ति बन्न नसक्दा प्रयोग विहीनको अवस्थामा गुज्रिरहेकाले अब युवा जनशक्तिलाई सीपसहित उद्यमशीलत विकासमा जोड्ने तर्फ सबैको ध्यान जान आवश्यक रहेको नेपाल परिवार नियोजन संघ युवा सदस्य तथा रोट्रयाक्ट क्लव अब घोराहीकी अध्यक्ष मिरा अधिकारीले बताउनुभयो ।

‘देशको जनसंख्याको ठूलो हिस्सा युवाले ओगटेको छ । युवा भन्दा वृद्ध तथा बालबालिकाको संख्या देशमा कम छ । देश बनिरहेको छैन । देश विग्रीरहेको छ । किन?’ मिराले भन्नुभयो ‘किनकी हामी युवा देशमा भएको समस्याको समाधान खोजिरहेका छैनौँ । हामी त देशमा भइरहेको समस्या खोजिरहेका छौँ । समस्याका पछि मात्र दौडिरहेका छौँ । देशमा समस्या छ भन्दै अवसर चाहियो भनेर विदेशीरहेका छौँ । अनि कसरी बन्छ देश ?’

उद्यमशीलता विकासमा अहिलेको पुस्तालाई जोड्दै नवप्रवर्तनका कार्यक्रममा समाहित गराउन अग्रजहरुले साथ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले युवाहरुले देशमा कसरी अवसरहरु खोज्ने भन्ने विषयको जानकारी दिनुभयो । देशमा अवसरहरु थुप्रै भएको तर्क गर्दै अवसरको प्रयोग गर्न युवाहरु चुकिरहेको बताउनुभयो ।

उहाँले नेपालमै बसेर धेरैले सफलता प्राप्त गरेको बताउँदै युवाहरुमा अहिले आफू के भन्ने उदेश्य नभएको, प्राविधिक ज्ञानको कमी, आफै ठूलो भन्ने भावनाले गर्दा युवाहरु अवसरबाट बञ्चित भएको बताउनुभयो । युवाहरुले अरुसँग सम्बन्ध बनाउन सक्नुपर्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नु पर्ने, नयाँपन हुनुपर्ने मिराको सुझाब थियो ।

यस्तै, लक्ष्मीपुर युवा क्लव सदस्य प्रमोद पन्थीले परम्परागत संस्कार, संस्कृति र सामाजिक परिवेशले अहिले पनि विभिन्न खालका समस्या निम्ताउने गरेकाले सकारात्मक काममा हातेमालो गर्न सुझाव दिँदै नकारात्मक कामलाई सबै मिलेर परास्त गर्नुपर्ने बताउनुभयो । जात, धर्म, वर्ण लिंगलगायतका नाममा हुने विभेदबाट माथि उठ्दै समृद्ध समाजका पक्षमा युवाहरु एकजुट हुनु अबको आवश्यकता रहेको उहाँको भनाई थियो । उहाँले युवाहरुमा नयाँपन हुनुपर्ने बताउनुभयो ।

लायन्स क्लब अफ घोराही सीटीका अध्यक्ष पवन योगीले युवा दिवसका बारेमा विषय प्रवेश गराउनुभएको थियो । उहाँले युवाका बारेमा अहिलेको परिस्थितीमा नेपालसहित विश्वमा भईरहेको बहसका बारेमा चर्चा गर्नुभएको थियो । नेपाल परिवार नियोजन संघ दाङशाखा उपसभापति भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखा प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्तरबाट उल्लेख्य रुपमा युवाहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad