Ad Area

आज जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व मनाइँदै


घोराही, २७ साउन । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ । जनै पूर्णिमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ ।

आज तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन् । यस्तै नेवारी समुदायमा क्वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ । आज बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो ।

यस्तै, आज आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ । वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ ।

जनै पूर्णिमाका दिन पितृलाई तर्पण दिने गरिन्छ । काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ । आज पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास पनि रही आएको  छ । आज दाङका नदी तथा खोलाका लगायत तालहरुमा पनि ताकाधारीहरु नुहाउन पुग्ने गर्छन् ।

यसैबीच, तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । आज दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन् । पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ ।

Blog Post Ad

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यो वर्षको जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा एकैदिन रहेको  जनाएको छ  । जनैपूर्णिमा र गाईजात्रा आज शुक्रबार एकै दिन परेको भन्दै टिकाटिप्पणी भइरहँदा समितिले विज्ञप्ति निकालेर भ्रममा नपर्न आग्रह गरेको थियो ।

समितिले सन्देह नराखी आफ्ना धार्मिक कृत्य गर्न गराउन समेत भनेको छ । पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले आज जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ । यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले स्मरण गराएको छ ।

Blog Post Ad Blog Post Ad