Ad Area

दाङमा वर्षातले ८ हजार हेक्टरमा धानबाली नष्ट


दाङ, ५ कार्तिक । निरन्तर परेको वर्षातका कारण दाङ जिल्लाको मुख्य बालीका रुपमा रहेको धान बालीमा ठुलो क्षति पुगेको छ । किसानले काटेर भित्राउन तयार रहेको धान खेतमै भिजेको छ । कतिपय स्थानमा धान उम्रन थालेको छ । जिल्लाका १० पालिकामध्य बंगलाचुली बाहेक अन्य सवै पालिकाहरुमा मुख्य बालीका रुपमा धानको खेती गरिन्छ ।

दाङ जिल्लाका कम्तीमा पनि आठ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले संकलन गरेको तथ्याङ्कमा जिल्लामा आठ हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । अविरल बर्षातका कारणले गर्दा तीन हजार चार सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुवेको छ । यस्तै चार हजार तीन सय हेक्टरमा लगाइएको धानबाली ढलेको छ । यस्तै करिव दुई सय हेक्टरमा लगाएको धान बगेको छ भने एक सय हेक्टर जति क्षेत्रमा लगाएको धान नदीले बगाएको छ ।

लमही नगरपालिका वडा नं. ३ कान्तिपुर निवासी तुल्सिराम अधिकारीले आफ्नो गाउँ क्षेत्रमा लगाइएको ७५ प्रतिशत अन्नबालिमा क्षति पु¥याएको जानकारी दिएका छन् । बर्षादले धान र भर्खरै लगाएको आलुमा पनि क्षति पुराएको बताए ।

दाङ जिल्ला लमही र राप्ती गाउँपालिकामा धानको राम्रो उत्पादन हुने गरेको छ । यस्तै घोराही उपमहानगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान नष्ट भएको छ । वडा नं. ९ का अध्यक्ष मानबहादुर बस्नेतले आफ्नो वडाका मछाई, भगुवार, कर्मटिया लगायतका क्षेत्रमा धान नष्ट भएको बताए ।

दशैं मानेर धान भित्राउने तयारीमा रहेका किसानहरुले भर्खरै काटेको धान भित्राउन पाएका छैनन् । पानीले दाङ देउखुरीका राजपुर, गढवा, राप्ती र लमही नगरपालिका भित्र रहेका किसानको हजारौं बिगाह खेतको धानबाली नष्ट भएको छ । काटेर खेतमा छोडेको धान खोलाले बगाउदा ठूलो नोक्सानी भएको राजपुर गाउँपालिका वडा नम्बर ३ निवासी झल्लु चौधरीले बताए ।

झल्लुका अनुसार खहरे खोलाको पानी खेतमा पस्दा धान खोलाले बगाएको छ । दशैं लगत्तै धमाधम धान भित्राउने तयारीमा रहेका थियौँ तर, एक्कासी अविरल वर्षातका कारण सबै धान खोलाले बगाएर लग्यो उनले भने ।

Blog Post Ad

जिल्लाका अधिकांश स्थानमा काटेको धानबालीमा शरदीय वर्षाका कारण ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार प्रारम्भिक रुपमा गरिएको अध्ययनले करोडौँको क्षति पुगेको अनुमान गरिएको छ । देउखुरी क्षेत्रमा अहिले ७५ प्रतिशत धान काटिएको हुँदा त्यहाँ क्षति भएको छ भने पश्चिम दाङका धेरै जसो स्थानमा पनि धेरै क्षति गरेको छ ।

यस्तै, घोराही आसपासका क्षेत्रमा पनि वर्षाले धानबालीमा क्षति गरेको छ । जिल्लामा यस वर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । कृषि ज्ञान केन्द्रले यो वर्ष जिल्लामा मनसुन सक्रिय भएको र बेलैमा धान रोपिएकाले धान उत्पादन बढ्ने प्रक्षेपण गरेको थियो ।

अपत्यारिलो रुपमा आएको वर्षाले गरेको क्षतिले कृषकहरु विक्षिप्त बनेका छन् । कतिपय ठाउँमा काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ भने धान नकाटेको ठाउँमा पनि हावासहितको वर्षाले धानको बोट ढालेको छ । काटेको धान पानी पानीले भिज्दा वर्षभरी खानसमेत समस्या हुने उनीहरूको चिन्ता थपिएको छ । किसानले काटेर घरमा भित्र्उयाउने तयारी अवस्थाको धान अविरल वर्षाका कारण खेतमै डुबानमा परेपछि अहिले कृषकहरु धान खेतमा केही भएपनि धान जोगाउन सकिन्छ की भनेर जुटेका छन् ।

खेतमा पानी जमेपछि काटेको धान काम नलाग्ने गरि बिग्रिएको र त्यसले जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार देउखुरीको विभिन्न स्थानमा काटेको धानबाली बाढीले बगाएको छ । जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पौडेलले पनि काटेको धानबालीमा लगातारको वर्षाले क्षति पुगेको सबै ठाउँबाट जानकारी आएको भएपनि यसको यकिन विवरण संकलनको तयारी गरिएको बताए ।
मसुरोमा पनि क्षति
सूचना अधिकारी पौडेलले जिल्लाका दश वटै पालिकाका कृषि इकाइहरुमा धानबाली र मसुरोमा पनि पुगेको क्षतिको विवरण संकलन गर्न आग्रह गरिएको जानकारी गराए । ‘अहिले हामीले प्रारम्भिक अनुमान गरेका छौंँ, जिल्लाका सबै पालिकामा धान बालीमा भएको क्षतिको यकिन विवरण पठाउने गरी समन्वय गरिरहेका छौँ, तर करोडौँ बढीको क्षति भयो की भन्ने हाम्रो अनुमान हो,’ उनले भने, ‘सबै पालिकाहरुबाट यकिन विवरण संकलन भएपछि क्षतिको आधिकारिक अवस्था बारे सार्वजनिक गर्नेछौं र क्षतिपूर्तिको पहल गर्नेछौँ ।’

राप्ती गाउँपालिका वटा नम्बर ६ का पुरन चौधरीले वर्षाका कारण खेतमा रहेको धान उठाउन नपाई खेतमै उम्रिएको बताए । दाउने तयारी गरिएको बेलामा स्याहार्न नपाई भिजेर सबै काम नलाग्ने बनेको उनको दुखेसो छ । यस्तै, सोही वडाका रामचरण चौधरीले पनि धान दाउने तयारी गरिरहेका बेला अचानक आएको वर्षाले सबै धान भिजेर कामै नलाग्ने अवस्थामा पुगेको दुखेसो पोखे ।

घोराही ६ का पुनाराम थारुको व्यथा पनि उस्तै छ । उनले यो पाली धान राम्रो फलेकाले खुशी भएपनि त्यो टिक्न नपाएको बताए । ‘पानीले सबै धान भिजेर उम्रिएको छ, अब के खाने हो भन्ने चिन्ताले सताएको छ,’ उनले भने । जिल्लामा हजारौँ बिगाहामा वर्षाले क्षति गरेको छ ।

जिल्लाभरको अवस्था हेर्ने हो भने विकासे धानमा सबै भन्दा धेरै क्षति पुगेको छ । अहिले बास्मति र तिलकी लगायतका धान पछि लगाइएका कारण धान बाली नकाटिएकाले त्यहाँ उल्लेख्य क्षति भएको छैन । वर्षासँगै आएको हावाहुरीले धान ढालिदिएको छ । केही स्थानमा मकै भाँचेर मसुरो छरेकोमा सबै नोक्सान भएको छ ।

क्षतिको विवरण पठाउन पालिकालाई ज्ञानकेन्द्रको आग्रह

दाङमा धानबालीमा भएको क्षतिको विवरण संकलन गरी पठाउन जिल्लाका सवै पालिकालाई कृषि ज्ञानकेन्द्र दाङले पत्राचार गरेको छ । केन्द्रले अविरल वर्षातले धानबालीमा भएको क्षति वा असरको एकिन विवरण संकलन गरी पठाउन सबै पालिकाका कृषि शाखालाई पत्राचार गरेको जनाएको छ । केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले जिल्लाका सवै पालिकालाई जानकारी गराउन पत्राचार गरिएको जानकारी दिएका छन् । जिल्लाका दश वटै पालिकाको कृषि विकास शाखालाई क्षतिको विवरण संकलन गर्ने फारामसहित पत्राचार गरिएको उनको भनाई छ ।

सम्वन्धित पालिकाले पठाएको विवरण लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा पठाउने उनले बताए । उनका अनुसार स्थानीय तह, धानको क्षेत्रफल (हेक्टर), सुरक्षित हार्भेष्ट भएको क्षेत्रफल वा प्रतिशत, काटिएको धान बगाएको क्षेत्रफल वा प्रतिशत, धान ढालेर भएको क्षेत्रफल वा प्रतिशत र काटिएको धान डुबाएको क्षेत्रफल जस्ता विवरण फाराममा उल्लेख गरी पठाउन अपिल गरिएको छ । किसानहरुले सम्वन्धित वडा कार्यालयमा गएर आफनो धानखेतीमा भएको क्षतिको विवरण टिपाउन जिल्लाका सबै पालिकाका कृषि शाखाले सवैमा आग्रह गरेका छन् । बेमौसमको हावाहुरीसहितको वर्षाका कारण जिल्लामा मानवीय क्षति नभएपनि ठूलो मात्रामा अन्नबालीमा क्षति हुँदा यहाँका कृषक निकै मारमा परेका छन् ।

Blog Post Ad Blog Post Ad