Ad Area

आठ स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने


दाङ, ४ कार्तिक । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रका आठ स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।

पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड–२०७८ मा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएकोले स्रष्टाहरु दामोदर बटुवा आचार्य, चन्द्रकला शाह, कोमल वली, कुलानन्द गिरी, चन्द्र शर्मा, सीता आचार्य, चुल्ह्या चौधरी र मोहलाल चन्द आधारलाई दीर्घ साधना सम्मान प्रदान गरिने कार्यक्रम निर्देशक केएल पीडितले बताए ।

कार्यक्रम निर्देशक पीडितका अनुसार अवार्ड कार्यक्रममा स्व. प्रेमप्रकाश मल्ल, स्व. जंगबहादुर गन्धर्व, स्व.मधुबाबु थापा, स्व. नारायण पाण्डे र स्व. मथुरा प्रसाद श्रेष्ठलाई मरणोप्रान्त सम्मान गरिने भएको छ । साथै त्यस अवसरमा राप्ती क्षेत्रका विभिन्न जाति तथा समुदायका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताए ।

अवार्ड वितरण समारोहमा लुम्बिनी प्रदेशका सभामुख एवं जनवादी कवि, गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ मा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरुले आगामी कार्तिक १६ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उपनिर्देशक शर्माले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad