Ad Area

यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार तेक्वान्दोे खेलाडी बिष्टलाई


घोराही, २७ साउन । त्रिभुवननगर जेसीज, घोराहीले यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार यसवर्ष तेक्वान्दोे खेलाडी सुनिता बिष्टलाई प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ निवासी बिष्टलाई यस वर्षको यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार-२०२२ प्रदान गरिएको त्रिभुवन नगर जेसीजले जनाएको छ । लामो समयदेखि तेक्वान्दो खेलमा साधनारत बिष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक हासिल गरी दाङ जिल्ला तथा सिंगो राष्ट्रको शिर उच्च बनाउन सफल भएको भन्दै पुरस्कार प्रदान गरिएको हो । त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष विवेक आचार्यको अध्यक्षता तथा उर्जा, सिचाई तथ जलस्रोत राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिष्टलाई पुरस्कृत गरिएका छनौट समिति संयोजक महेश गुप्ताले बताउनुभयो ।

दाङ जिल्लाभित्र लुकेर रहेका विभिन्न क्षेत्रका प्रतीभा पहचान गरी उचित छानबिन गरेर वितरण गरिँदै आईएको “यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार २०२२ बाट आफु पुरस्कृत एवम् सम्मानित हुन पाउँदा निकै हर्षित तथा उत्साहित भएको खेलाडी बिष्टले बताउनुभयो । यस्तै, तेक्वान्दो खेलमा आफुले गर्दै आएको संघर्षले यति ठुलो प्रतिफल दिलाएको भन्दै यो बाटोमा सदा तप्पर रहि लागिरहन थप हौसला बढेको बताउनुभएको छ ।

उक्त पुरस्कार यसअघि पत्रकार सविन प्रियासन, मुक्त कमलरी उर्मिला चौधरी, खेलाडी एवम् अभिनेता बिरुभाई ब्रजाचार्य, चिकित्सक डा. अरविन्द्र भुसाल, खेलाडी प्रदीप मजगैया र फोटो पत्रकार कुलदीप न्यौपानेलाई प्रदान गरिएको थियो । स्वर्गीय बुढाथोकी दाङ शिक्षा तथा सामाजिक क्षेत्रमा अतुलनीय भूमिका खेल्नुभएका व्यक्ति हुनुहुन्थ्यो ।

को हुन्, सुनिता बिष्ट ?

Blog Post Ad

तेक्वान्दो खेलाडी सुनिता बिष्ट २०५६ साल असार ३० गते रोल्पाको लुंग्री गाउँपालिका–८ गुम्चलमा बुबा जगत बिष्ट र आमा ज्ञानु बिष्टको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिनुभएको हो ।

रोल्पाको लुंग्रीमा रहेको जनजागृती प्राथमिक विद्यालयबाट औपचारिक पढाई थालनी गर्नुभएकी बिष्टले ३ कक्षासम्म सोही विद्यालयमा पढ्नुभएको हो । त्यसपछि कक्षा ४ र ५ कपिलवस्तुको आदर्श प्राथमिक विद्यालयमा अध्ययन गर्नुभयो । ६ कक्षादेखि १० सम्म घोराही उपमहानगरपालिका–१० मा रहेको जनजागृति माध्यमिक विद्यालय लुम्डरुवामा अध्ययन गर्नुभयो ।

लमडरुवाबाट एसएलसी पास गरेपछि बिष्टले घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट व्यवस्थापन विषयमा प्लस टु पास गर्नुभएको हो । तेक्वान्दो खेलाडी बिष्ट हाल घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।

खेल क्षेत्रमा क्रियाशील बिष्टले खेलका क्रममा तथा पढाइको समयमा विद्यालयबाट पनि धेरै पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पनि प्रतिष्पर्धा गर्दै थुप्रै पदक जित्न फिल हुनुभएको छ ।

बिष्ट दाङ जिल्ला तेक्वान्दो संघको कार्यसमिति सदस्य, अल्फा तेक्वान्दो डोजाङलगायतका संघसंस्थाहरूमा आवद्ध निकै सक्रिय खेलाडीका रुपमा परिचित नाम हो । उहाँका एक दिदी, एक बहिनी र दुई भाइ रहेका छन् ।

Blog Post Ad Blog Post Ad