ब्रह्माकुमारीमा सामूहिक रक्षावन्धन एवं स्नेह मिलन समारोह

घोराही, २७ साउन । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय घोराही दाङले सामूहिक रक्षावन्धन, सद्भाव एवं स्नेह मिलन समारोह गरेको छ । ब्रह्माकुमारीज राप्तीकी प्रमुख सञ्चालिका राजयोगिनी गिता दिदीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकार उर्जा, जलश्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार सामुहिक रक्षाबन्धन गरिएको हो ।
प्रमुख अतिथि श्रेष्ठले धर्म भनेको धारणा रहेको बताउनुभयो । सके अरूको कल्याण गर्न नसके कसैको अहित नगर्न सनातन धर्मले सिकाउने गरेको हु्ँदा यस्ता चाडपर्वको माध्यमबाट सवैलाई एकतामा आवद्ध गराउन सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘मानव मन नै उत्थान र पतनको कारण हो, त्यसैले मनलाई दबत्राउने हैन मोड्नु आवश्यक छ, मन सशक्त बनाउन सजिलो छैन तर पनि आचरण र नियमित चिन्तन गर्दै गएको खण्डमा सफल हुन सकिन्छ ।’
ब्रह्माकुमारी गिता दिदीले आन्तरिक रुपमा सुरक्षित हुन आत्मिक स्थिति मजवुद हुन जरुरी रहेको बताउनुभयो । रक्षावन्धनको आद्यात्मिक रहस्य माथी ब्रह्माकुमारी पुष्पाले प्रकाश पार्नुभएको थियो ।
पवित्रता सुख शान्तिको जननी भएको उहाँको भनाई थियो । ‘टीका लगाउनु अर्थात आत्मिक स्वरुपमा टिक्नु हो । भृकुटीको बिचमा आत्मास्थित छ’ उहाँले भन्नुभयो ‘अविनाशी आत्माले उक्त स्थानमा रही यस भौतिक शरीरद्वारा रंगमञ्चमा नाटक खेलिरहेको हुन्छ । जस्तो कर्म गर्दछ त्यस्तै फल भोग्दछ ।’
सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले मानवमा सदाचार, सदभाव, आत्मियताको खडेरी परिरहेको, विनासको कालो बादल चारैतिर मडारिरहेको हुँदा सदभाव बढाउन आवश्यक रहेको बताउनुभयो ।
‘आध्यात्मिक ज्ञान, राजयोगको अभ्यासबाट जबसम्म हामीले परमात्माको नाममा सच्चा दिलले आफ्ना पशुबृतीहरुको बली दिदैनौ, विषरुपी विकारहरुलाई खतम गदैनौ, शुद्ध र पवित्र दृष्टि बनाउदैनौ तवसम्म कसैको पनि रक्षा हुनै सक्दैन,’ उहाँहरुको भनाई थियो ।
कार्यक्रममा जनप्रतिनिधी, न्याय, प्रशासन, शिक्षा स्वास्थ्य क्षेत्र, धर्म, जातजाती, गैरसरकारी संघसंस्थाहरु, नागरिक समाज, उद्योगी, समाजसेवी बुद्धिजिवी, कलासाहित्य, सञ्चार, महिला मानवअधिकार संस्थाहरु, राजनैतिक दललगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण ब्रह्मकुमार माधव तिमिल्सेनाले गर्नु भएको थियो ।
यसैबीच व्रहमाकुमारी इश्वरी विश्व विद्यालयले घोराहीमा रहेको कारागारमा रहेका कैदी वन्दिहरु, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी एवं ट्राफिक प्रहरी कर्मचारीलाई सकारात्मक सोच एवं कुविचार दुव्र्यसन त्याग्ने प्रतिवद्धतासहितको सामुहिक रक्षावन्धन र मानव कल्याण समाज (सेवा घर) नारायणपुरमा समेत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।