Ad Area

‘राप्ती कोरिडोर’ आयोजना दाङको विकासमा नयाँ मोडेल- शहरी विकास मन्त्री चौधरी


घोराही, ३० साउन । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको विकासका लागि ‘राप्ती कोरिडोर’ नयाँ आयामका रुपमा रहने बताउनुभएको छ । जिल्लास्थित पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले दाङ प्रसस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती कोरिडोरका माध्यमबाट विकासको यात्रामा अरु पक्षलाई पनि जोड्ने आफ्नो योजना रहेको बताउनुभएको छ ।
राप्ती कोरिडोर अन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास गरी वृहत योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको बताउनुभयो ।

भालुवाङबाट शुरु भएर करीव ८७ किलोमिटर लम्बाइमा रहेको राप्ती नदीको दुवै तर्फ कालो पत्रे गरिनेछ । जसले नदी उकास गरी नयाँ शहर बसाल्न सकिने छ भने सुन्दर पार्क निर्माण गरेर दाङमा नयाँपन ल्याउन सकिनेछ, उहाँले भन्नुभयो । राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर आयोजनामा नदी उकास भएपछि हजारौँ विगाहा जमिन प्रयोगमा आउने छ ।

विकासको मोडल अहिले पनि पुरानै शैलीमा हुने गरेको बताउँदै आफु शहरी विकास मन्त्री भएपछि पूर्वाधार विकासदेखि समग्र विकासको मोडेलमा नयाँपन दिने गरी अघि बताउनुभयो । राप्ती कोरिडोरको अवधारणा पूरा गर्न आज शिलान्यासको कार्यक्रम पनि तय भएको छ । बहुवर्षीय आयोजना अन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भईसकेको पनि उहाँको भनाई छ ।

यस्तै, उहाँले देउखुरीको मौरीघाटस्थित श्रीनारायण चोकदेखि बंगलाचुली हुँदै स्वर्गद्वारीसम्म केबुलकार संचालनको सम्भाव्यता अध्ययन भईसकेकाले प्राविधिक काम अघि बढी सकेको बताउनुभयो । मौरीघाटदेखि स्वर्गद्वारीसम्म करीव ५५ किलोमीटरको दुरीमा केबुलकार संचालन गर्न नीजि क्षेत्रले चासो दिएको उहाँले बताउनुभयो । यस्तै, सो खण्डमा रणनीतिक सडक बनाउने काम पनि हुन लागेको बताउनुभयो ।
घोराही–लमही सडक खण्डको मसोटदेखि बबई नदी किनारसम्म सुरुङमार्ग बनाउन डिपिआर भईसकेको उहाँले बताउनुभयो । हालको सडकको अवस्थाका कारण सवारी चालक र यात्रुलाई परेको सास्तीलाई मध्यनजर गर्दै भूगोलको असहजताका कारण सुरुङमार्ग बनाउन बिस्तृत परियोजना प्रतिवेदन तयार भएकाले अब काम पनि अघि बढ्ने बताउनुभयो ।

मन्त्री चौधरीले दाङमा भरपर्दो विमानस्थल नहुँदा यहाँका नागरिकले पाएको सास्तीका कारण आफु स्वयम् लज्जित भएको हुँदा यसबारेमा गम्भीरतापूर्वक सरोकार निकायसँग छलफल अघि बढाएको बताउनुभयो । टरीगाउँ विमानस्थलको स्तर वृद्धिका लागि करीव २२ करोड बजेट चाहिने हुँदा बजेट सुनिश्चित भएपनि प्राविधिक रुपमा काम गर्न सरोकार निकायसँग प्रकृया अघि बढाएको बताउनुभयो ।

यसअघि दाङको विमान स्थलले धावनमार्गको लम्बाई बढाएर ठूला जहाज बसाल्न सकिने बताउँदै आएपनि नेपालगंजको विमान स्थलले आफ्नो स्वार्थका कारण यहाँ ठूला जहाजका लागि उपयुक्त नभएको प्रतिवेदनमा उल्लेख गरेको खुलासा गर्नुभयो । तर, दुवै प्रतिवेदनको गहन अध्ययनपछि वास्तविकाको आधारमा दाङमा ठूला जहाज बसाल्ने गरी टरीगाउँ विमान स्थलको वृद्धि गर्ने र नियमित उडानको वातावरण बनाउने वचन दिनुभयो ।

Blog Post Ad

यस्तै, उहाँले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका सडक, पुल पुलेसा, पूर्वाधारको बारेमा चासो लिएको जानकारी गराउनुभयो । फोरलेन सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई भेट गरी चाँडो काम सम्पन्न गर्न ताकेता गरेको पनि बताउनुभयो ।

यस्तै, उहाँले आफुले सम्हालेको मन्त्रालयको काम र जिम्मेवारीको दायरा निकै फराकिलो रहेकाले नजिता देखिने गरी काममा सहयोग गर्न पनि अपिल गर्नुभएको थियो । आवश्यक सल्लाह र सुझावका आधारमा आफु अघि बढ्ने बताउँदै जिल्लाको विकासका सवालमा खबरदारी गर्न पनि आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad