Ad Area

१० अर्वको ऐतिहासिक ‘राप्ती कोरिडोर’को मन्त्री चौधरीद्वारा शिलान्यास


भालुवाङ, ३० साउन । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोरको शिलान्यास गर्नुभएको छ । एशियाली विकास बैंकको करिव १० अर्वको लगानीमा निर्माण हुने कोरिडोरको सोमबार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीस्थित ईन्टेक नम्बर २ मा विधिवत रुपमा शिलान्यास गर्नुभयो ।

कोरिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले राप्ती कोरिडोर आफ्नो सपनाको प्रोजेक्ट भएको बताउनुभयो । संघीय निर्वाचनका बेला आफुले जनता माझ गरेको ४ वटा वाचामध्ये यो प्रमुख रहेको बताउनुभयो । ‘निर्वाचन हुने बेलामा मैले बोलेको ४ वटा आयोजनामध्ये यो सबैभन्दा ठुलो काम हो,’ उहाँले भन्नुभयो, ‘अहिले काम गर्ने ठाउँमा पुगेको छु, यो सपना पूरा हुनेछ ।’ यस्तै उहाँले परियोजनाका लागि एडिबीका कन्ट्रि डाईरेक्टरसँगको छलफलपछि बजेट सुनिश्चित भएर काम अघि बढाईएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कन्ट्रि डाईरेक्टर ज्युले यो काममा निकै चासो लिनुभएको छ, बिस्तृत छलफलपछि यो काम अघि बढेको छ, बजेटको अभाव हुँदैन ।’

उहाँका अनुसार, राप्ती कोरिडोरको काम एडिबीले गर्नेछ भने यसको डिपिआर शहरी विकास मन्त्रालयले गरिरहेको छ । उहाँले यो परियोजनाले यो क्षेत्रका जनताको जीवन बदल्न भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘यसले भोलिका दिनमा ठुला व्यवस्थित शहर बनाउन सक्छौं’ उहाँले भन्नुभयो ‘यो प्रदेशको राजधानी भएकाले विमानस्थल बनाउन पनि आयोजना अघि बढेको छ। टरीगाउँ विमान स्थलको स्थल वृद्धि गर्ने काम पनि हुनेछ उहाँले भन्नुभयो ८७ विगाहा जमिन सिसहनियामा छ । त्यहाँ विमान स्थल बनाउन सकिन्छ ।’

उहाँका अनुसार, कोरिडोरले जनताको हजारौँ विगाहा जमिन प्रयोगमा आउन सक्ने गरि उकासिँदैछ । देशका ठूला कोरिडोर मध्ये राप्ती कोरिडोर पनि एक रहेको उहाँले बताउनुभयो । ‘धोबी खोला कोरिडोर, बागमती कोरिडोरपछि राप्ती कोरिडोर हो’ उहाँले भन्नुभयो ‘यो दाङको सपना हो ।’ कोरिडोरको प्रकृया शुरु भएकाले यसले मूर्त रुप पाउनेमा दंगाली जनताले आशा लिएको बताउनुभयो । यो प्रकृया शुरु भएको छ । ‘म सधै मन्त्री र सांसद हुने होईन, तर भोलि यो क्षेत्रका मन्त्री सांसदले यो आयोजना अघि बढाउनु हुनेछ’ उहाँले भन्नुभयो ।

उसो त लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यातामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ । जसको बिस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर अघि बढ्ने पनि मन्त्री चौधरीले बताउनुभयो ।

Blog Post Ad

सो अवसरमा, शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले राप्ती कोरिडोर बिल्कुलै नौलो सोँचका साथ आएको बताउनुभयो । चौधरी मन्त्रीमा बहाल भएपछि काम शुरुभएको बताउदै उहाँले एडिवि कन्ट्री डाईरेक्टरसँगको १० अर्व बजेट सुनिश्चितपछि अघि बढेको बताउनुभयो । उहाँले भालुवाङबाट शुरु हुने यो परियोजना अगैयासम्म पुग्ने बताउनुभयो ।

‘राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित खुला ठाउँमा हरियाली पार्क, नयाँ शहरसहितको बस्ती विकास लगायतको काम हुनेछ । सडकको चौडाई एक्काईस मिटरको फराकिलो हुनेछ, ठूला सवारी साधन पनि आउजाउ गर्न मिल्ने फराकिला सडक बन्नेछ’ उहाँले भन्नुभयो ‘सेट ब्याक मिलाएर, पर्यावरण जोगाएर सकेसम्म कम क्षति हुने गरि ४ वटा शहर बन्नेछ ।’ उहाँका अनुसार, यो परियोजनामा भालुवाङ, गढवा, राजपुर, अगैयामा ठुला शहर बसालिनेछ ।

नदिमा ढल नखसाल्ने गरि ६७.५० किलोमिटर राप्ती क्षेत्र र ६८.३० किलोमिटर गढवा क्षेत्रमा गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा यो कोरिडोर रहनेछ । स्थानीय आयोजकका रुपमा रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताउनुभयो । ‘बजेट सुनिश्चितता गरेर काम अघि बढ्ने देउखुरीबासीको अपेक्षा छ । प्रकृया अघि बढेकाले भोलिका दिनमा आर्थिक विकासमा टेवा पुग्नेछ,’ उहाँले भन्नुभयो ‘पर्यटन र आर्थिक विकासमा भुमिका खेल्ने हुँदा दाङको गौरवका रुपमा हामीले लिएका छौँ ।’

शिलान्यास कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलसहित स्थानीय नेता कार्यकर्तालगायत उल्लेख्य नागरिकहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad