Ad Area

घोराहीका विद्यालयमा छड्के अनुगमन, शिक्षण सिकाई विधि बदल्न आग्रह


घोराही, ३० साउन । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले आईतबार पनि घोराही १० मा रहेको दुई वटा सामुदायिक विद्यालयको अनुगमन तथा छड्के निरीक्षण गरेको छ । घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक एवम् कार्यवाहक नगरप्रमुख राममणि पाण्डेको नेतृत्वमा पुगेको टोलीले विद्यालयको अनुगमन तथा छड्के निरीक्षण गरेको हो । निरीक्षणका क्रममा विद्यालयमा अधिकांश क्षेत्र सन्तोषजनक रहेको पाइए पनि केही कुराको सुधारका लागि सचेत गराइएको छ ।

अनुगमन टोेलीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था बारे निरिक्षण पनि गरेको थियो । कक्षाकोठा, हाजीरी पुस्तिका, खाजा नास्ता र विद्यालयको भौतिक संरचनाको टोलीले निरीक्षण गरेको शिक्षा महाशाखा अधिकृत नारायण पौडेलले बताउनुभयो । ‘कुन विद्यालयमा के समस्या छ भनेर जानकारी लिइसकेपछि त्यसै अनुसार उपमहानगरपालिकाले सहयोग गर्ने भएकोले यो अनुगमन जरुरी थियो’, उहाँले भन्नुभयो ‘विद्यालयमा नै पुगेर अवस्थाको बारेमा जानकारी लिँदा यथार्थ जानकारी आएको छ ।’

विद्यालयको शैक्षिक सुधारका लागि पछिल्लो समय गरिएको सैद्धान्तिक प्रयासलाई विद्यालयमा लागू भएको छ की छैन भनेर पनि निरिक्षणका क्रममा हेर्ने गरिएको छ । ‘विद्यालयले माग गरेर मात्र नभई कार्यालय आफैले अनुगमन गरेर जानकारी लिन प्रभावकारी हुनेछ’, शाखा अधिकृत पौडेलले भन्नुभयो । कक्षा कोठा नपुगेको स्थानमा कक्षा कोठा बनाउन सहयोग गरिने, शौचालय समस्या भएकालाई शौचालय बनाउन सहयोग गरिने, खानेपानीको समस्या भएको विद्यालयमा खानेपानीको लागि सहयोग गरिने, विद्यार्थीहरु धेरै तर शिक्षक कम रहेको स्थानमा शिक्षक दरबन्दी थप गर्न पालिकामा पहल गरिने भएको छ ।

अनुगमनको क्रममा देखिएका कमी–कमजोरीहरु सच्चाउन निर्देशन दिएको शाखा अधिकृत पौडेलले बताउनुभयो । विद्यालयमा अध्यापन गराउँदा शैक्षिक सामग्रीहरु प्रयोग गर्न समेत अनुगमन टोलीले जनाएको छ । शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउँदा शिक्षण सिकाइसमेत प्रभावकारी हुने अनुगमन टोलीको भनाई छ । त्यसैगरेर विद्यार्थीहरुलाई खुवाइने दिवा खाजाको प्रत्येक दिनको तालिका सबैले देखिने गरेर नराखेको भन्दै राख्न समेत निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।

Blog Post Ad

स्वच्छ पिउने पानी, शौचालय व्यवस्थित रहेको थियो भने शिक्षक शिक्षीकाद्वारा पठनपाठन राम्रो तरिकाले भएको निरीक्षणका क्रममा आफुहरूले पाएको टोलीले जनाएको छ । श्री सिद्धरत्ननाथ मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले दक्ष जनशक्ति अभाव विद्यालयलाई खड्किएको र त्यसको पहल गरीदिन अनुगमन टोली समक्ष आग्रह गर्नुभएको थियो । शिशु कक्षामा विद्यार्थी संख्या कम रहेको पाईएकाले यस विषयमा विशेष ध्यान दिन सुझाव दिइएको शिक्षा समिति सदस्य जीवन गौतमले बताउनुभयो ।

दाङको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न अनुगमन निरिक्षण निकै आवश्यक ठानेरै यो अभियान थालेको उहाँले बताउनुभयो । पालिकामा शिक्षक, जनशक्तिको अवस्थाका बारेमा अध्ययन गरिनुका साथै प्रभावकारी योजना कार्यान्वयमा पनि टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

अनुगमन टोलीका सदस्य गौतमले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निर्देशन दिदै शिक्षकहरु समयमै कक्षाकोठामा पुग्नुपर्ने बताउनुभयो । प्रत्येक दिन खुवाईने खाजा नास्ता को मेन्यु सबैले देखिने ठाउँमा राख्न र हरेक दिन छुट्टाछुट्टै खाजा खुवाउन निर्देशन दिनुभएको थियो । हरेक दिन विद्यालयमा आउँदा पोशाक अनिवार्य लगाउन शिक्षा शाखाका अधिकृत पौडेलले विद्यालयमा कार्यरत शिक्षकलाई निर्देशन दिँदै कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभयो । विद्यालयमा स्वच्छ पिउने पानी र शौँचालयको समस्या रहेको र सो समस्या समाधान गरीदिन प्रधानाध्यापकले आग्रह गर्नुभएको थियो ।

दाङ जिल्लामा सामुदायिक विद्यालयमा पढाउने दरबन्दीका शिक्षकको संख्या मात्रै दुई हजार पाँच सय १० छ । पालिकामार्फत शिक्षण अनुदान कोटामा र विद्यालयले निजी स्रोतबाट राखेका शिक्षकसमेत हेर्दा शिक्षक पर्याप्त भएको पालिकाको ठहर छ । शिक्षक पर्याप्त हुँदाहुँदै विद्यार्थी अभावमा दाङमा सातवटा विद्यालय मर्ज गरिएको छ भने कक्षामा एकजना पनि विद्यार्थी नभएर १७ वटा विद्यालयमा कक्षा नै स्थगन गरिएको छ । नेपाल सरकारले सामुदायिक विद्यालयमा तालिमप्राप्त दरबन्दी शिक्षकसँगै बजेट समेत दिने गरेको छ । ‘यो अवस्थामा कसरी पढाउने गरिएको छ, पढाईको विधि के अपनाइएको छ, वास्तवमा शिक्षक विद्यार्थी प्रति जवाफदेही छन् छैनन् भन्ने कुरा पनि हामीले हेर्ने गरेका छौँ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी महाशाखाले घोराही उपमहानगरपालिका वडा १० लमडरुवाकै श्री जनजागृति माविको पनि अनुगमन तथा छड्के निरीक्षण गरिएको छ । टोलीले विद्यालयमा कक्षा निरीक्षण, हाजीरी, खाजा नास्ता, विद्यालयमा लगाईने पोशाक र विद्यालयको भौतिक संरचनाको निरीक्षण गरेको थियो । ‘केही अंग्रेजी माध्यम शुरु गरेका विद्यालयले अभिभावकलाई फोन गरेको पाइएको छ, त्यो अभिभावकले चासो दिएर पनि होला’– उहाँले भन्नुभयो ‘अभिभावकले आफ्ना बालबालिकाका विषयमा चासो दिन जरुरी छ । यो विद्यालयमा पठनपाठनको अवस्था सन्तोष गर्न लायक छ, हामी आउँदा सरहरु सबै कक्षाकोठामा पाएका छौँ, यो सकारात्मक पक्ष हो, तर कक्षाकोठामा पढाउँदा शैक्षिक सामग्रीको प्रयोग कम भएको पायौँ, यसमा सुधार ल्याउन आग्रह छ ।’

सो विद्यालयका विव्यस अध्यक्ष बलबहादुर पुनले भौतिक सुधारका लागि केही प्रयास सफल भएपनि हाल विद्यार्थी अनुपातमा सौँचालय अभाव रहेकाले समस्या समाधान ध्यान दिन अनुगमन टोलीलाई आग्रह गर्नुभयो । शिक्षा महाशाखाका अधिकृत पौडेलका अनुसार घोराही क्षेत्रमा २५ प्रतिशत विद्यार्थी अहिले पनि भर्ना भएर विद्यालय नजाने गरेको अवस्था छ । ‘७५ प्रतिशत नियमित छन्, २५ प्रतिशत विद्यालय नआउने विद्यार्थीको कारण खोजेर विद्यालय ल्याउन जरुरी छ’ उहाँले भन्नुभयो ।

शिक्षा महाशाखाको अनुगमनका क्रममा सामुदायिक विद्यालयमा भर्ना भन्दा कक्षा कोठामा उपस्थित विद्यार्थी संख्या कम, अधिकांश विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था नभएको, चर्पीको समस्या, विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग अत्यन्त न्यून भएको, पाठ्यक्रमले तोके बमोजिम टाइमटेबल नबनाएको र एक घण्टा तोकिए पनि ४५ मिनेट पढाइएको, केही विद्यालयमा स्थायी पधानाध्यापक छनोट नभएको, केहीमा विद्यार्थीले खाजा खान नपाएको लगायत समस्या देखिएको बताउनुभयो ।

शिक्षा महाशाखाले अहिलेसम्म २४ दर्जन विद्यालयको अवस्थाको अनुगमन गरेर जानकारी लिइसकेको जनाएको छ । विद्यालयको शैक्षिक सुधारसँगै भौतिक अवस्थामा सुधार ल्याउन यो प्रयास गरिएको बताइएको छ । आईतबारको अनुगमनमा घोराही १० का वडा अध्यक्ष दीपक पाण्डे, शिक्षा महाशाखाका अधिकृत घनश्याम वली, पत्रकारलगायतको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad