Ad Area

भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जना पक्राउ


घोराही, २ भदौ । समाजमा अहिले अकल्पनीय अपराधका घटना बढ्दै गएको छ । आफन्त, चिनजानबाट तथा अपरिचित व्यक्तिबाट दिनानुदिन विभिन्न शैलीका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । दाङमा पनि पछिल्लो केही वर्षयता विभिन्न खालका अपराधका घटना भएका छन् । शरीर बन्धकदेखि ज्यान मार्नेसम्मका अनेक शैलीमा अपराध गर्नेहरु प्रहरीको फन्दामा परेका छन् ।

जसरी पनि पैसा कमाउने गलत मानसिकता बढ्दै गएकाले पनि समाजमा अपराधको बाटो रोज्नेहरु बढ्दै गएको सामाजिकविदहरुको भनाई छ । आपराधिक घटनामा संलग्न हुनेहरु प्राय युवा उमेर समुहका रहने गरेका प्रहरीको तथ्यांकले देखाउँछ । गत साउनको दोश्रो हप्ता एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर फिरौती माग गरेको घटना सार्वजनिक भएको छ ।

गत साउनमा सामाजिक सन्जाल फेसबुकको प्रयोग गर्दै एक समुहले काठमाडौँबाट दैलेख जाँदै गरेको एक व्यक्तिलाई फिल्मी शैलीमा आफ्नो नियन्त्रणमा लिँदै एक समुहले बन्धक बनाई फिरौती मागेको घटना बाहिरिएको हो ।

घटना अनुसार, दैलेखका केशवकुमार बिक गत साउन ९ गते काठमाण्डौदेखि दैलेख जाने क्रममा निर्मला नाम बताउने महिलाले फेसबुकबाट कुरागरी तँपाईसंग भेट्ने काम छ बुटवलमा झर्नु भन्छिन् । फेसबुकमा गरेको कुराकानीको आधारमा केशवकुमार सोहीे मितिको राती साढे १० बजेको समयमा बुटवल बसपार्कमा बसबाट झर्छन् । आफु बुटवल झरेको बारे केशवले निर्मला नाम बताउने महिलालाई फोन गरेर जानकारी गराएपछि अर्को गाडीमा चढ्न भनिन्छ ।

मेरो आफन्तको गाडी छ ड्राईभरलाई तपाईको नम्बर दिएको छु भनी ती महिलाले भनेकोमा केशबलाई बाग्मति प्रदेश ०१–०२५च ८७२९ नम्बरको स्कारपीओ गाडीमा आएका व्यक्तिले चढाएर अपरिचित ठाउँमा लैजान्छन् । फिल्मी शैलीमा आएका उनीहरुले जबरजस्ती अपहरण गरी केशवसँग भएको मोबाईलसमेत खोस्छन् । र, स्कारपियोमा राखेर उनीहरुले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सल्यान रोड स्थित युवम् होटलमा लैजान्छन् ।

उक्त होटेलको कोठा नम्बर १०६ मा बन्धक बनाई उनीहरुले केशवसँग सात लाख फिरौती माग्छन् । तर, उनीहरुले केशवलाई बन्धक बनाई फिरौती मागेको विषयमा साउन १० गते दिउँसो साढे ४ बजे जिल्ला प्रहरी कार्यालयमा गोप्य सूचना आउँछ । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले केशब कुमारलाई सकुसल उद्दार गर्न सफल हुन्छ ।

Blog Post Ad

त्यसपछि सो घटनामा संलग्न रहेकाहरुको अवस्था बारे जानकारी लिनुपर्ने भन्दै प्रहरीले घटनाको सबै अवस्था गोप्य राखेर अनुसन्धान अघि बढाउँछ । अनुसन्धानको प्रकृयाले अपराधीहरु पक्राउ पर्छन् । लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय दाङले व्यक्तिलाई बन्धक बनाई फिरौती माग्नेहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । उक्त घटनामा संलग्न भएका भनिएका ६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, सो घटनामा संलग्न रहेको भन्दै बबई गाउँपालिका बडा नम्बर ३ बस्ने बर्ष ३५ का लिलाराम बिक, सोही ठाउँमा बर्ष ३५ का मार्सल भन्ने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे बस्ने बर्ष २५ का सुकलाल बिक, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २६ की निर्मला विश्वकर्मा, शिवराज नगरपालिका वडा नम्बर ९ कपिलवस्तु बस्ने वर्ष २० का मनोज थारु, गौमुखी गाउँपालिका वडा नम्बर ७ प्युठान घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हातीखौवा बस्ने बर्ष २४ को गाडी चालक जनक कवँरलाई नियन्त्रणमा लिईएको छ ।

अपहरणमा प्रयोग गरेको सवारी साधनसहित उनीहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, चालु आर्थिक वर्षको बितेको एक महिनामा अपहरणसम्बन्धि कसुरका योसहित दुई वटा तथा हातहतियार खरखजाना अन्तर्गत १ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।

Blog Post Ad Blog Post Ad