Ad Area

लघुवित्त विरुद्ध संघर्ष समितिलाई कारबाही गर्न गृहको निर्देशन


घोराही, २ भदौ । सरकारबाट मान्यता पाएर सञ्चालनमा रहेका लघुवित्तहरुलाई दुख दिने नाममा गठन भएको ‘लघुवित्त विरुद्ध संघर्ष समितिलाई’ कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बिहीबार सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई आदेश दिँदै गृह मन्त्रालयले वित्तीय संस्थाको मानमर्दन गर्ने, अवैधानिक संघर्ष समिति बनाएर दुख दिने, कपोलकल्पित र अनर्गल कुरा गर्ने काम गरेको भन्दै लघुवित्त विरुद्ध संघर्ष समितिलाई तत्काल कारबाही गर्न निर्देशन दिएको हो ।

गृहले विभिन्न नाममा आन्दोलन र हुलहुज्जत गर्ने अवैधानिक समूहले नेपालको लगानीको वातावरणलाई खलल पुर्याएको र लगानीकर्ताको मनोबल गिराएको ठहर गरेको छ । गृहले आन्दोलनरत समूहलाई अवैधानिक रहेको कारण आदेशअनुसार अनुरोध छ भन्दै कारबाहीको लागि सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।

लघुवित्तको कार्यक्रममा संघर्ष समितिले सुनियोजित रुपमा आन्दोलन गरी कार्यक्रमलाई अवरोध पुर्याउने काम गरेको भन्दै गृहले आफ्नो निर्देशनमा लेखेको छ, ‘देशको कानुन बमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति पाई सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध हाल केहि व्यक्ति तथा लघुवित्त विरुद्ध संघर्ष समिति नामको अवैधानिक समूहले सुनियोजित रुपमा आन्दोलन गरी कार्यक्रममा अवरोध सृजना गर्ने कपोलकल्पित आरोप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्तकर्मीहरुलाई धम्की दिई मनोबल कमजोर पार्ने, सोझासाझा सदस्यलाई वित्तीय सेवा लिन बाधा पुर्याई लघुवित्तका कार्यक्रमलाई नै धराशायी बनाउने कोशिस भइरहेको भनी नेपाल लघुवित्त बैंकर्स संघबाट मिति २०७९ साउन ३० गते माननीय गृहमन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको पत्र मार्फत जानकारी आएको हुँदा उक्त पत्र र संलग्न पत्रहरुको छ पाना छायाप्रति यसैसाथ राखी आवश्यक कारबाहीको लागि पठाइएको व्यहोरा आदेशअनुसार अनुरोध छ ।’

Blog Post Ad Blog Post Ad