Ad Area

स्थापना दिवसमा नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा रक्तदान


घोराही, ३ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाकि उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता तथा संस्थाका कानुनी सल्लाहकार सुष्मा गौतमको प्रमुख आतिथ्य एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला योगीको विशिष्ट आतिथ्यमा शुक्रबार कार्यक्रम गरि रक्तदान गरिएको हो ।

संस्थाको २९औँ स्थापना दिवसमा २९ जनाले रक्तदान गर्नुभएको थियो । स्थापना दिवसमा हरेक वर्ष रक्तदान गर्दै आएको संस्थाले सामाजिक, आर्थिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले सामाजिक र आर्थिक उत्थानका लागि संस्थाले स्थापना कालदेखि समाजका विभिन्न क्षेत्रमा भुमिका निर्वाह गर्दै आएको हुँदा धेरैको जीवन बदल्न सम्भव भएको बताउनुभयो । सहयोगापेक्षी वर्ग र समुदायलाई मात्रै नभई महिला वर्ग, पहुँच नपुगेका समुदायमा संस्थाले असल सोँच र कामका माध्यमबाट भुमिका खेल्दै आएकाले अहिले हजारौँको जीवन सहज बन्न सम्भव भएको बताउनुभयो । सामाजिक कामलाई पहिलो प्राथमिकता राखेको संस्थाले आफ्नो स्थापना दिवसमा रक्तदान गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सो अवसरमा, संस्थापक अध्यक्ष योगीले मानिसलाई आत्मज्ञानको असल व्यवहारले मनमा सन्तोष दिए जस्तै संस्थाको असल नीति र कामले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । २०५० साल भदौ ३ गते संस्था स्थापना गर्दा सामाजिक रुपान्तरणका लागि शिक्षा, सचेतना, स्वस्थ र स्वस्थ समाजको परिकल्पनासँगै कानुनी राज्य स्थापनाको लक्ष्य राखेरअघि बढेको बताउँदै यो कामले सार्थकता पाउँदै गएको बताउनुभयो । खासगरी, महिलाहरुको उत्थान, स्वावलम्बन, आर्थिक रुपान्तरणका लागि जागरण, बालिका शिक्षा, स्वास्थ्यका क्षेत्रमा संस्थाले विभिन्न परियोजनामार्फत योगदान दिँदै आएको बताउनुभयो ।

रक्त संचार सेवा केन्द्र घोराहीका प्रमख दीलिप न्यौपानेले रक्तदान मानव धर्मको एक रुप भएकाले संस्थाले आफ्नो जन्मदिनमा रक्तदान गरेर धेरैको जीवन बचाउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सो अवसरमा, लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष तथा संस्थाका व्यवस्थापक पवन योगी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका घोराही शाखा प्रबन्धक माधवा रेग्मी, संस्थापक सदस्य तथा जाल्पा संस्थाका आन्तरिक लेखा प्रमुख कल्पना कार्की, नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा संचालित महिला शान्ति र सुरक्षा कार्यक्रमका सामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकाल, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आरके शीतल, रेडियो मध्यपश्चिमका समाचार प्रमुख छवि पुरीलगायतले संस्थाको उन्नति, प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाकि कोषाध्यक्ष देवा जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिवा योगीले गर्नुभएको थियो ।