Ad Area

विश्व मानवता दिवस- समाजमा ‘मानवता बढाउन सचेतना’ आवश्यक


घोराही, ३ भदौ । विश्व मानवता दिवस–२०२२ को अवसरमा विपदको अवस्थामा प्रदान गरिनु पर्ने न्युनतम यौन तथा प्रजनन स्वास्थ्य सेवा विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा सभापति तीर्थराज सन्तोषीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघका केन्द्रीय उपाध्यक्ष निर्मला गौतम रेग्मीको प्रमुख आतिथ्यमा घोराहीमा शुक्रबार कार्यक्रम गरिएको हो ।

सो अवसरमा सहभागीले मानवताको व्यवहार स्थापित गर्न समाजमा सचेतना बढाउनुपर्ने बताउनुभएको छ । समाजमा अहिले भईरहेका विभिन्न खालका विपदका कारण मानवता कमजोर बन्दै गएको र यसले मानिसको यौन तथा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्दै गएकाले सचेतना बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । प्रमुख अतिथि गौतमले किशोरकिशोरी, यौनिक अल्पसंख्यक, बिकलांग, अशक्त विपदका बेलामा बढी प्रभावित हुने हुँदा यसको क्षेत्रमा काम गर्नेहरुले प्रभावकारी भूमिका बढाउनु पर्ने बताउनुभयो ।

उहाँले परिवार नियोजन संघ जनसंख्या नियन्त्रणका लागि खुलेको संस्था भएपनि अहिलेको माग र आवश्यकतालाई ध्यानमा राखेर यौन तथा प्रजनन स्वास्थ्यलाई असर गर्ने क्षेत्रहरुको पहिचान गरेर भुमिका बढाउँदै लगेको बताउनुभयो ।

विपदहरु भूकम्प, कोभिड, बाढी पहिरोका बेला खासगरी किशोरी र महिलाहरु उच्च जोखिममा परेको स्मरण गर्दै स्वस्थ समाज निर्माणका लागि दुरदराजका लक्षित समुदायमा पुगेर काम गर्नु नै मानवीय जीवनमा ठुलो काम हुने स्पष्ट पार्नुभयो । उहाँले समाजमा अहिले हुने गरेको अपराधजन्य घटना रोक्न बृहत् यौनिकता शिक्षाको सचेतना फैलाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

Blog Post Ad

सो अवसरमा संघकी स्टाफ नर्स सरिता तामाङले विपदको अवस्थामा प्रदान गरिनु पर्ने न्युनतम यौन तथा प्रजनन स्वास्थ्य सेवा बारे प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँले विश्व व्यापी मानवीय संकटका बेलामा महिला, बालबालिका, अशक्त वर्गको यौन तथा प्रजनन् स्वास्थ्यमा गम्भीर असर गरेको बताउनुभयो । खासगरी प्राकृतिक प्रकोप, वातावरणीय जोखिम, सशस्त्र द्वन्द्व, भोकमरी, भूक्षय, भुकम्पका बेलामा जेष्ठ नागरिक, अशक्त, बालबालिका र महिला बढी प्रभावित हुने गरेका उदाहरण प्रस्तुत गर्दै यौन हिंसा र बलात्कार, बालविवाह, कम उमेरको विवाह र जबरजस्ती विवाह जस्ता घटना बढेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

जसका कारण समाजमा मानव बेचविखन, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, गर्भावस्था र प्रसुतिको जटिलता, यौन रोग र एचआईभी सङ्क्रमण जस्ता समस्याबाट महिलाहरु प्रताडित हुनुपरेको बताउनुभयो । यसले मानवता कमजोर बनेको देखाएकाले समाजमा सचेतना र कानूनी पक्षका बारेमा वृहत बहस चलाउनु पर्ने बताउनुभयो । कार्यक्रममा जिल्लास्थित परिवार नियोजन संघमा आवद्ध महिला सामुदायिक परामर्शदाता, शाखा कार्यसमिति पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा संस्थाका आजीवन सदस्य सरस्वता गौतम, कोषाध्यक्ष पुष्पा श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad