Ad Area

कविता : कमरेडकी छोरी


पर सरेकी अर्धाङ्गिनी
आजै हो घर सरेको
आज महिनाको अन्तिम दिन
भर्खर घरमा आइपुगे कमरेड।

बाझो खेत जोतेर थाकेको गोरुजस्तै
सधैं थकित मुद्रामा देखिने कमरेड!
आज भने निकै रोमान्टिक मुडमा छन।
किन कि आज महिनाको अन्तिम दिन
आजै हो पर सरेकी अर्धाङ्गिनी घर सरेको।

आज कमरेडले
बारुद र बन्दुकका कुरा गर्ने छैनन
न त कुनै आन्दोलन , विधुम्स र विचारका।
बरु आज सिकाउनेछन कमरेडले
‘अंकगणित’
जस्तो कि दुई एक कानी दुई ,दुई दुना चार।
किन कि आज महिनाको अन्तिम दिन
आजै हो पर सरेकी अर्धाङ्गिनी घर सरेको।

गुन्द्री र च्यात्दरको बासबाट
सिरक र कम्मलको आवासमा फर्किएकि
अर्धाङ्गिनीलाई मीठो निन्द्राको कल्पना छ।
तर कमरेडलाई उतार्नु छ कामवास्नाको ह्याङ ओभर।
किन कि आज महिनाको अन्तिम दिन
आजै हो पर सरेकी अर्धाङ्गिनी घर सरेको।

कमरेडले चितोरेरै भएपनि, झम्टिएरै भएपनि
निचोरेरै भएपनि, निमोठेरै भएपनि
कोरेरै भएपनि ,चिमोठेरै भएपनि
खोप्न चाहान्छन,रोप्न चाहान्छन
र लेख्न चाहान्छन,एउटा इतिहास
शुक्रकिट र डिम्वको प्रतिक्रियाबाट
“कमरेडकि छोरी”।

आफ्नै अर्धाङ्गिनीको सपना भन्दा पर छ
कमरेडको कल्पना !
जस्तो कि,कमरेड चाहान्छन
आफू सवार साधनहरुमा बज्ने
साइरनबाट लिउन छोरीले सङ्गितको मज्जा।

कमरेड चाहान्छन,जस्तो कि
आफ्नो कार्यकक्षको
दाहिने पट्टिको मेचमा लेखियोस छोरीको नाम।

कमरेड चाहान्छन,जस्तो कि
विश्वविद्यालयहरुमा छुट्टिइयोस
छोरीको लागि भि.आ. पि. कोटा।

कमरेड चाहान्छन,जस्तो कि
छोरीको विदेश भ्रमणको लागि रातो पासपोर्ट ।

कमरेड चाहान्छन,जस्तो कि
सरकारी उपल्लो निकायमा छोरीको नियुक्ति ।

कमरेडलाई डर छ,
कतै छोरा पो हुन्छ कि?

भरत रोकाय ‘एक्सन’
सल्यान