Ad Area

बिमा रकमको लोभमा टिप्परमा आगजनी, मालिक र चालकसहित ३ जना पक्राउ


घोराही,७ भदौ । दाङमा प्रहरीले नेपाल बन्दको नाममा आफ्नो टिप्परमा आगजनी गर्ने टिप्पर धनिसहित चालक र सहचालकलाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका विभिन्न पार्टीहरुले आव्हान भएको बन्दका क्रममा बिमा रकमको लोभमा टिप्परमा आगजनी गर्नेहरुलाई पक्राउ गरेको हो ।

नेपाल बन्दका क्रममा मंगलवार विहान ५ बजेतिर घोराही–लमही सडक खण्ड अन्तर्गत गोग्लीबाट लमहीतर्फ जादै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा आगजनी भएको थियो । बन्दकर्ताहरुले टिप्परमा आगजानी गरेको भन्ने सूचना प्राप्त गरेपछि खटिएको प्रहरीले टिप्पर धनी, चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पुरानो विग्रिरहने टिप्परमा बिमा रकमको लोभमा सवारीसाधन धनिको सहमतिमा चालक र सहचालकले आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ निवासी टिप्पर धनि ४३ बर्षीय धनेश्वर भण्डारी, राप्ती गाउँपालिका–८ पिपरिया निवासी ३२ बर्षीय चालक अरुण चौधरी र गढवा गाउँपालिका–७ चन्दनपुर निवासी १७ बर्षीय सह–चालक आकाश चौधरी रहेका छन् । प्रहरीले पक्राउ परेका तीनै जनालाई मंगरवार पत्रकार सम्मेलन गरेर सार्वजनिक छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक गौतमका अनुसार मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २१ को दफा २५३ को उपदफा १ र २ बमोजिमको परिभाषित कसुरमा मुद्धा दर्ता भएको छ । पक्राउ परेकालाई १ वर्षसम्म कैद र दश हजार रूपैयासम्म जरिवाना हुने काुननी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad