Ad Area

कुसुण्डा जातकै थरबाट नागरिकता माग


घोराही, ७ भदौ । कुसुण्डा जातकै थरबाट नागरिकता माग गर्दै कुसुण्डा समुदाययले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन ।

कुसुण्डा समुदायलाई नागरिकता प्राप्त गर्न असजिलो भएको, कुसुण्डा जातकोबाट नागरिकता प्राप्त गर्न व्यवस्था मिलाउनु पर्ने, जग्गाको लागि लालपुर्जाको समस्याको समाधानका लागि पहल गर्नुपर्ने, कुसुण्डा समुदायको एकीकृत बस्ति हुनुपर्ने, स्वास्थ्य सम्बन्धि समस्या समाधान गर्नु पर्ने लगायत माग गरिएको कुसुण्डा समाजका अध्यक्ष धनबहादुर कुसुण्डाले बताउनुभयो ।

त्यसैगरी कुसुण्डा समुदायको जिविकोपार्जनको समस्या, कुसुण्डाको भाषा संरक्षण गर्नुपर्ने वालवालिकालाई निशुल्क शिक्षा, सीप र क्षमता अनुसारको रोजगारीको व्यवस्था गरिनुपर्ने लगायत माग गरिएको उहाँले बताउनुभयो ।

फियान नेपाल पहलमा प्रमुख जिल्ला अधिकारी रेग्मीलाई ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो । यसैविच ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले कुसुण्डा समुदायको समस्या समाधानको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको थियो । नागरिकताको समस्याको विषयमा गृह मन्त्रालयसंग छलफल गर्ने र अन्य समस्या समाधानको लागि स्थानीय सरकार संग छलफल गर्ने बताउनुभएको थियो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा फियान नेपाल लुम्बिनी प्रदेशको संयोजक सुरेश गौतम, खाद्य अधिकार संजाल दाङका सचिव सन्तोष दहित लगायतको उपस्थिति रहेको थियो ।