Ad Area

नागरिकता बनेको २० वर्षपछि बल्ल कुकुर्नीबाट ‘कृष्णा’ नाम, भन्छिन् ‘अब समाजमा खुल्न सक्ने भएँ’


घोराही, ९ भदौ । कृष्णा सुनारका जेठो छोरा १२ कक्षा पास गरेर रोजगारीको सिलसिलामा बाहिर बस्छन् । कमाएको पैसा पठाउनु पर्यो भने सँधै बुवाको नभए छिमेकीको नाममा पठाउनुपर्छ । ‘श्रीमान घरमा नभएको बेलामा आफैले कागजी काम गदा निकै अप्ठ्यारो सहनुपरेको थियो, अब ढुक्क भएँ,’ बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा नाम संशोधन गरिएको नागरिकता पाएपछि खुशी हुँदै घोराही ११ बाँसगजेरीकी ४८ वर्षीया कृष्णा सुनारले भन्नुभयो, ‘अब त जे काम पनि म आफैले गर्न सक्ने भएँ, यसका लागि म सबै सरहरुलाई धन्यवाद दिन्छु ।’

छोराछोरी ठूला भएपछि कागजी काम गर्दा आमाको नाम भन्न नसक्ने अवस्था भएको थियो । त्यसले पनि सुनार परिवारलाई थप तनाव भएको थियो । समाजमा पशु, जनावरको नामबाट नागरिकता बनेकाहरुले नाम सच्याएर अर्को नागरिकता पाएको संचारमाध्यमबाट थाहा पाएपछि कृष्णा सुनारले मनमा साहस बटुल्दै तीन दिनअघि जिल्ला प्रशासनमा आएर थाल्नुभएको प्रयास बुधबार सफल भएको छ । जसले गर्दा उहाँ निकै उत्साहित पनि बन्नुभएको छ ।

‘गाउँघरमा बोलाउँदा सबैले जिस्काएर कुकुर्नी–कुकुर्नी भन्थे । तर न्वारानको नाम चाँही ‘कृष्णा’ थियो । जिस्काउँदा जिस्काउँदै पछि नामै ‘कुकुर्नी’ रहन गयो । यसले निकै समस्या भयो, अब त्यो दिन गए भन्ने लागेको छ,’ कृष्णाले भन्नुभयो, ‘नामकै कारण यति धेरै अपमानित हुनु परेको पीडा मलाई थियो, अब रहनेछैन ।’

लेखाई पढाई साधारण भएपनि पीठमा नाम लेखिदिँदा कसैले उहााँको नाम कुकुर्नी सुनार राखिदिएको रहेछ । जसले र्दा पछि नागरिकता बनाउँदा त्यही नामबाट उहाँलाई बाध्यकारी रुपमा नागरिकता स्वीकार्नु परेको रहेछ । जिल्ला प्रशासन कार्यालय, रुकुमले २०५९ साल पुस १५ गते दिएको नागरिकतामा उहाँको नाम ‘कुकुर्नी’ सुनार छ । नागरिकता नम्बर २४६ (०३५) ३९ बाट जारी भएको उहाँको नागरिकतामा प्रमुख प्रशासकीय अधिकृत पुरन गिरीले दस्तखत गर्नुभएको छ । ‘हामीले नाम त भएन, अरु नामबाट नागरिकता बनाई दिनुस् सर भनेका हौँ, तर मान्नुभएन,’ कृष्णाका श्रीमान कर्णबहादुरले भन्नुभयो, ‘पीठमा जे छ त्यही हुन्छ भनेर त्यही नामबाट नागरिकता थमाई दिनुभयो, जसले हामीलाई निकै दुख दियो ।’

नागरिकता जारी भएको करीव २० वर्षपछि मात्रै कृष्णाले आफ्नो नाम अनुसारको नागरिकता हात पार्न सफल हुनुभएको छ । ‘२० वर्षसम्म म औपचारिक रुपमा कुकुर्नी सुनारबाटै चिनिन बाध्य भएँ,’ उहाँले भन्नुभयो । सुनार’को जन्मथलो पश्चिम रुकुम हो । साविक रुघा गाबिस वडा नम्बर ३ रुकुम घर भएका सुनार परिवार केही वर्षअघि मात्रै दाङ झरेको थियो ।

Blog Post Ad

श्रीमान कर्णबहादुर सुनारले पनि श्रीमतीको नाम कुकुर्नी भएको थाहा पाएर पनि समस्याको समाधान कसरी गर्ने भन्ने बारे लामो समयसम्म निष्कर्ष निकाल्न सक्नुभएको थिएन । जसले गर्दा श्रीमतीको नामबाट केही ठाउँमा बाध्य भई काम पनि गर्नुभएको छ । ‘मेरो नामबाट १ कट्ठा जग्गा किनेको छु, त्यो बेलामा कुकुर्नी सुनारबाट लालपूर्जा छ, बैंकमा पनि खाता खोलेको छ, त्यहाँ पनि उही नाम छ, अब त सच्याउन पाउँछु होला,’ कृष्णाले प्रसन्न मुद्रामा भन्नुभयो, ‘नामकै कारण पनि यति धेरै तनाव हुने रहेछ, आज आफ्नो नाम अनुसारकै नागरिकता पाएपछि आत्मविश्वास बढेको छ ।’

जातीय थिचोमिचोका कारण पनि यस खालको अन्यायमा परेको हुन सक्ने घोराही ११ का वडाअध्यक्ष कुलबहादुर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुरा मलाई पनि थाहा थिएन र हुने पनि भएन, किनकी उहाँ केही वर्षअघि पहाडतिरबाट बसाई सरी आउनुभएको हो । अस्ति भर्खर नाम फेर्नुपर्यो भन्दै आएपछि थाहा पाएँ त्यही अनुसार प्रकृया पुर्याएर प्रशासनमा पठाएको थिएँ ।’

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधबार कृष्णा सुनारलाई नाम सच्याएर प्रतिलिपी नागरिकता दिँदै भन्नुभयो, ‘अब त ढुक्क हुनुभयो है, यति भन्दा उहाँले भन्नुभयो, हजुर सर, अब त मनमा आत्मविश्वामस बढेको छ ।’ मानिस भएर पनि पशुको नाम किन लेखिदिनुभए होला भन्दै वडा कार्यालय पुगेपछि घोराही ११ को वडाकार्यालयले पशु संकेत गरेर अपमानजनक नाम लेखिएकाले कुकुर्नी नामको ठाउँमा कृष्णा नाम सच्याई नागरिकताको प्रतिलिपीका लागि जिल्ला प्रशासन कार्यालयमा भदौ ६ गते सिफारिस गरेको थियो । जसका आधारमा जिल्ला प्रशासनले उहाँको काम बनाई दिएको हो ।

छोरी कक्षा १२ मा पढ्छिन्, उनलाई आमाको नाम भन्न सक्ने अवस्था नभएको भन्दै लज्जबोध गरेको कृष्णाले सुनाउनुभयो । ‘विभिन्न समुहमा बस्दा, टोल छिमेकमा नाम भन्न सक्ने अवस्था थिएन, अब त सबै ठाउँमा ढुक्कका साथ अघि सर्छु,’ कृष्णाले भन्नुभयो, ‘उतिबेला नागरिकता बनाउँदा नाम ठीक लेखिदिएको भए आजसम्म दुख भोग्नु पर्ने थिएन ।’ उहाँका श्रीमान कर्णबहादुर पनि श्रीमतीको नामकै कारण कतिपय कार्यक्रम तथा अवसरबाट पछि हट्नु परेको बताउनुभयो । ‘अब त समस्या टरेको छ, ढुक्कका साथ कागजी काम गर्न सक्ने भएका छौँ,’ कर्णबहादुरले भन्नुभयो, ‘अपमानजनक शब्दले घरका सबै जनालाई चिन्ता दिएको थियो ।’

वडा अध्यक्ष लामिछानेले पनि अपमानजनक शब्दका कारण नागरिक अपेहेलित मात्रै नभई मानसिक रुपमा पनि समस्यामा पर्ने अवस्था रहेको बताउनुभयो । ‘यति अपमानजक शब्दका कारण उहाँले आफुलाई बाहिर ल्याउन सक्नुभएको रहेनछ, सुन्दा दुख लाग्यो कमसेकम नागरिकता बनाउने टोलीले मानिसको नामका बारेमा सोच्नु पर्ने हो,’ उहाँले भन्नुभयो, ‘अब यस्ता नाउँ नलेखिनुहोला भन्न चाहन्छु ।’

वडाअध्यक्ष लामिछानेका अनुसार, बाँसगजेरीलगायतका गाउँमा अहिले पनि अपमानजनक शब्दसहितका नाम भएका थुप्रै व्यक्ति छन् । उनीहरुका बारेमा पनि सोँच्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । ‘पशुसरह नाम भएपछि मानिस आफ्नो नाम बताउन हिच्किचाउनु स्वाभाविक हो, नामकै कारण उहाँहरु कतिपय अवसरबाट पछि हट्नु परेको अवस्था पनि होला, अब भएका समस्या समाधान गर्ने तिर लाग्नुपर्छ,’ वडाअध्यक्ष लामिछानेले भन्नुभयो, ‘दैलेखमा ‘कुकुर’ नाम सच्याईएपछि धेरैले आफ्नो वास्तविकता ओकल्न थाल्नुभएको छ, मैले पनि मेरो गाउँ ठाउँमा कसको नाम के रहेछ भन्ने थाहा पाउँदैछु ।’

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि अपमानजनक शब्द राखेर कोही कसैलाई नागरिकता दिन नहुने बताउनुहुन्छ । ‘सुन्नै नसकिने खालको नाम राखेर किन नागरिकता बनाई दिएको होला, मानिसका लागि नाम त जति पनि छन् नी,’ उहाँले भन्नुभयो, ‘यो त अहिलेको जमानामा अपाच्य मात्रै होईन घोर अपमान र अन्याय नै हुन्छ ।’

‘जिल्लामा यसरी पशुको नामबाट नागरिकता बनेर सच्याउनु भएको घटना थिएन, यो पहिलो घटना हो । बुधबार कृष्णालाई नागरिकता थमाउँदै भन्नुभयो, ‘यति अपमानजनक शब्द राख्नु हुँदैन, यो व्यक्ति र उनका परिवारको भावनमा ठेस लाग्ने शब्द हुन् ।’ उहाँले विशेष परिस्थितीमा मात्रै नागरिकको आत्मसम्मानमा ठेस पुग्ने भएकाले अपमानजक शब्द हटाउने व्यवस्थालाई कार्यान्वयन गरेको बताउनुभयो । ‘अन्यथा, नाम मन परेन भन्दै सच्याउन थाल्ने हो भने यहाँ थेगि नसक्नु भीड लाग्छ, यो गर्न पनि मिल्दैन,’ उहाँले भन्नुभयो सामाजिक रुपमा सबैले स्वीकार गर्न सक्ने मात्रै होईन सम्मानजनक शब्दसहितको नागरिकता हुनुपर्छ भन्ने हो ।’

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार, अपमानजनक शब्द राखेर नागरिकता लिएकाहरुले जिल्लाबाट हालसम्म नागरिकता लैजानुभएको छैन । उसो त, सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार गृह मन्त्रालयको निर्देशनमा दाङबाट हालसम्म सय बढीले थर सच्याएर प्रतिलिपी नागरिकता भने लगिसकेका छन् । यसरी थर सच्याउनेमा प्राय दलित समुदायका रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad