Ad Area

फोटोसहितको मतदाता नामावली अध्यावधिक भदौ १३ देखि १५ गतेसम्म गरिँदै


घोराही, ८ भदौ । निर्वाचन आयोगको कार्यतालिका अनुसार दाङमा फोटोसहितको मतदाता नामावली अद्यावधिक गरिने भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले बुधबार आयोजना गरेको मतदाता नामावली अद्यावधिक दावी विरोधसमेत कार्यक्रममा फोटोसहितको मतदाता नामावली सच्याउने काम भईरहेको बारे जानकारी गराइएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

संघ र प्रदेशको मंसीर ४ गते एकैचरणमा निर्वाचन हुने भएपछि साउन १९ गतेसम्म प्रविष्ट भएको फोटोसहितको मतदाता नामावली सच्याउने काम भईरहेको हुँदा सरोकार सबैलाई आफ्नो विवरण यकिन गर्न आग्रह गरिएको छ ।

यसका लागि यही भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने र त्यसपछि मतदाताले आफ्नो विवरण यकिन गरी सच्याउन सक्ने बताइएको छ । तर, कुनै मतदाताले मतदान केन्द्र सार्न चाहेमा एउटै वडामा मतदान केन्द्र सार्न मिल्ने भएपनि वडाभन्दा बाहिर सार्न नमिल्ने स्पष्ट पारिएको छ । यो काम भदौ १३ गतेदेखि १५ गतेको बिचमा हुनेछ ।

यसका लागि व्यक्ति स्वयंले पनि गर्न सक्ने भएका छन् । ‘मृत्युु भएका, बसाइ सरि अन्यत्र गएका, विहे गरेर गएका, नागरिकता त्याग गरेका वा रद्द गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वा सच्याउन सकिने भएको छ,’ कार्यक्रममा सूचना अधिकारी गहेन्द्र कुवरले भन्नुभयो, ‘यसलाई मतदाताहरुले सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।’

उहाँका अनुसार, दाङमा मतदाता नामावली विवरणमा मृत्युको अवस्था बारेको जानकारी स्पष्ट नहुँदा यकिन गर्न निकै कठिन भएको छ । उहाँले भन्नुभयो, ‘कुनै कमलबहादुर खत्री मर्याे भनेर वडाबाट नाम मात्रै पठाउनुहुन्छ । तर, सोही वडामा ४–५ जना उहीँ नामका हुन्छन् । त्यो बेला को मरेको हो भन्ने यकिन गर्न निकै कठिन हुन्छ । त्यसैले अब वडाले विवरण पठाउँदा मतदाता नामावलीको पूर्ण विवरण पठाएमा हामीलाई सजिलो हुनेथियो ।’

मतदाता नामावली विवरण अध्यावधिक गर्न वडाबाट स्पष्ट रुपमा पठाएमा यकिन गर्न सजिलो हुने र नाम नामेसी, मतदाता परिचय पत्र नम्बर सबै खुलेमा सही तथ्यांक आउने निर्वाचन कार्यालयको भनाई छ । ‘यसले निर्वाचन सहज, सरल र मितव्ययी बन्ने अवस्था आउँछ, हामीले निर्वाचन सहज रुपमा सम्पन्न गर्ने कोशिसमा छौँ, यसका लागि सबैको साथ सहयोगको खाँचो छ,’ उहाँले भन्नुभयो ।

Blog Post Ad

जिल्लामा हाल ४ लाख १९ हजार ४ सय ४९ जना मतदाता रहेका छन् जसमा २ लाख १३ हजार ६ सय ६९ महिला, २ लाख ५ हजार ७ सय ७८ पुरुष र २ जना अन्य रहेका छन् । जिल्लामा संघ र प्रदेशको निर्वाचनका लागि १ सय ५३ वटा मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र रहने उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख नित्यानन्द शर्माले निर्वाचन आयोगले थालेको कार्यमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । यसका लागि जनप्रतिनिधि, राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज, सञ्चार क्षेत्रलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad