दाङ महिला जेसीजको प्रयास- दुर्गमका विद्यार्थीलाई ‘बालविवाह न्यूनीकरण’ सचेतना

घोराही, १० भदौ । दाङ महिला जेसीजले बालबालिकाहरुलाई लक्षित गरेर बंगलाचुली ३ भेँडाबारी मुलाबारीमा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा श्री माध्यमिक विद्यालय भेँडाबारी, मुलाबारीका प्रधानाध्यापक खगराज लम्सालको प्रमुख आतिथ्यमा शुक्रबार विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई दिईएको बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमले निकै सकारात्मक सन्देश प्रवाह गरेको विद्यार्थीहरुले बताएका छन् ।
ग्रामीण भेगमा पुगेर पहिलो पटक आयोजना गरेको सचेतनामूलक कार्यक्रमलाई विद्यार्थीले निकै रुचीपूर्वक सहभागीता जनाएका थिए । सचेतनामूलक कार्यक्रममा सहभागी १ सय ५० भन्दा बढी विद्यार्थीले कार्यक्रम अवधिभर निकै उत्साहका साथ भाग लिँदै सामाजिक रुपान्तरणका लागि कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।
ग्रामीण भेगमा अहिले पनि विभिन्न कारणले बालविवाह हुन भएकाले यसले व्यक्ति, परिवार र समाजमा पारेको नकारात्मक असरका बारेमा जानकारी लिन पाउँदा हर्षित भएको कक्षा ९ मा अध्ययनरत छात्रा हेमा गाहाले बताउनुभयो ।
बालविवाहका कारण पर्ने असरका बारेमा जानकारी पाउनुका साथै नेपालको कानूनले तोकेको सजायका बारेमा पनि थाहा पाएको अर्का विद्यार्थी हिरा पुनले बताउनुभयो । बालविवाह गर्नु हुँदैन भन्ने बारेमा प्राप्त गरेको ज्ञानलाई घरपरिवार र समाजमा आगामी दिनमा सचेतना फैलाउने कार्यक्रममा सहभागी कक्षा ९ की विद्यार्थी बन्चिता पुनले बताउनुभयो ।
बालविवाह जस्ता सामाजिक कुरीति विरुद्धका सचेतनामूलक कार्यक्रम आगामी दिनमा निरन्तर दिनुपर्ने आवश्यकता रहेको अर्का विद्यार्थी खेतुलाल बिकले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि वर्तमान कानूनी अवस्था तथा यसले समाजमा पारेको असर बारे अधिवक्ता गोमा महराले अभिमुखीकरण गर्नुभएको थियो । उहाँले कानूनले वर्जित गरेको कुरालाई सबैले मान्नुपर्ने हुँदा बालविवाह जस्ता अपराधजन्य कुरामा बालबालिका नपरुन् भनेर दुर्गम क्षेत्रमा सचेतना दिईएको बताउनुभयो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक दीपक थापाले समाजमा बालविवाह जस्ता अपराधजन्य घटना रोक्न व्यक्ति, समाज चनाखो बन्नुपर्ने बताउनुभयो । सभ्य समाज निर्माणका लागि सचेतना नै मुख्य कुरा रहेकाले सिकेको कुरालाई आगामी दिनमा कार्यान्वयन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लम्सालले दूरदराजमा आएर आफ्ना बालबालिकाहरुलाई सचेत बनाउने काम गरेको भन्दै दाङ महिला जेसीजलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार, सो विद्यालयमा कुनै संघसंस्थाले सचेतनामूलक कार्यक्रम गरेको पहिलो पटक हो । उहाँले सभ्य नागरिक बन्नका लागि सिकेको ज्ञानलाई आत्मसात गर्दै आगामी दिनमा व्यवहारमा उतारेर सामाजिक रुपान्तरणको अभियन्ता बन्न आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक सहसचिव संगीता रोकायको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा आस्थापाठ कानुनी सल्लाहकार अनिता ढकालले गराउनुभएको थियो । सचेतनामूलक कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।