लगातारको वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरुद्ध, बबई नदीमा जलसतहले सतर्कता तह पार गर्यो
घोराही, १३ भदौ । लगातारको वर्षाका कारण दाङको बबई नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । यसको जलाधार क्षेत्र दाङको तुलसीपुर-घोराही आसपासमा ठूलो वर्षा भइरहेकाले नदीमा पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै लगातारको वर्षाका कारण जिल्लाको ठाउँ–ठाउँमा सडक समेत अवरुद्ध भएको छ । घोराही तुलसीपुर सडकखण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ ।
घोराहीको सर्रा नजिक रहेको सेवार खोला र तुलसीपुर नजिक रहेको काला खोलामा आएको बाढीका कारण सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय दाङ डिएसपी राजन गौतमले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले खोलामा पानी बहाव अझ बढ्ने सक्ने हुँदा पैदल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । नदि तटीय क्षेत्रमा पनि पानीको सतह बढ्ने भएकाले सर्तक रहन आम नागरिकमा दाङ प्रहरीले अपिल गरेको छ ।
यसैविच घोराही होलरी सहिद मार्ग पनि निरन्तरको वर्षातले ठाउँ–ठाउँमा खसेको लेदोका कारण सडक अवरुद्ध भएको दाङले प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ । उता, निरन्तरको वर्षातका कारण तुलसीपुर सल्यान सडक खण्डको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग फेरि अवरुद्ध भएको छ ।
दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी गौतमले जानकारी दिनुभयो ।
बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात पूर्णरुपमा आवागमन ठप्प भएको उहाँले बताउनुभयो । वर्षा निरन्तर भइरहेकोले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । वर्षा रोकिएपछि पहिरो पन्छाउने काम हुने उहाँको भनाई छ । पहिरो निरन्तर झरिरहेको हुँदा सल्यानको कपुरकोटमै र दाङको तुलसीपुरमै सवारी रोकेर राखिएको उहाँले बताउनुभयो । निर्माणाधीन दाङ सल्यान सडक वर्षातको समयमा सधैँ अवरुद्ध हुने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्नु परेको छ ।
लामो समयको अन्तरालमा ठूलो वर्षा
दाङमा यो वर्ष अहिलेसम्मकै दोश्रो उच्च वर्षा भएको छ । जल तथा मौसम विज्ञान कार्यालय दाङका अनुसार, सोमबार बिहान पौने ९ बजेसम्म १ सय ८ दशमलव ७ मिलिमिटर वर्षा भएको छ ।
यो वर्ष जुन २९ तारिखमा १ सय ६८ दशमलव ९ मिलिमिटर वर्षा भएकोमा सोमबार दोश्रो ठूलो वर्षा भएको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले बताउनुभयो । मौसम सक्रिय बनेकाले वर्षाको मापन अझ बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।