Ad Area

नातेदार र परिचितबाटै बालिका ‘असुरक्षित’


रञ्जिता अधिकारी
देउखुरी, १३ भदौ । “भिनाजु नाता पर्ने एक व्यक्तिले मलाई बलात्कार गरे । घटना भएको पाँच दिनपछि मैले आफुलाई परेको अन्यायका बारेमा दिदीलाई कुरा बताएँ । यो कुरा आमासम्म पुग्यो । घटनाको बारेमा सुनेपछि भिनाजुलाई आमाले गाली गर्नुभयो । घटनाका बारेमा कुरा प्रहरीसमक्ष पुर्याईयो । त्यसपछि प्रहरीले कानुनअनुसार सजाय दिलायो ।”

एक छात्राको लिखित अभिव्यक्ति हो यो । गोपनीयताको कुरा गर्दै उनले त्यसभन्दा बढी लेखिनन् । नेपाल अमेरिका अलुम्नाई नेटवर्कले ‘मेरो आवाज, मेरो शक्ति’ परियोजनामार्फत २०७९ साउनमा दाङ जिल्लाका किशोरीहरूले भोगेका अपराधका विभिन्न शैलीलाई उनीहरूकै शब्दमा लेख्न लगाएको थियो । दाङको घोराहीस्थित एक सामुदायिक विद्यालयमा गरिएको अध्ययनक्रममा किशोरीहरूले नाम नलेख्ने सर्तमा आफुमाथि भएका अन्याय र थिचोमिचोलाई पोखेका थिए ।

कक्षा १२ मा अध्ययनरत एक छात्राले आफुले भोगेको दुःखद घटनालाई यसरी लेखिन्: “मेरो जीवनमा घटेको घटनाका बारेमा जानकारी गराउँदा आफैँलाई अप्ठ्यारो लागेको छ । तर, भन्नु पर्ने अवस्था पनि आएको छ । मलाई गीत संगीत असाध्यै मन पर्छ । त्यसैले आपूmले गुन्गुनाएका गीत सामाजिक सञ्जालमा राख्ने गरेको थिएँ । मेरो प्रतिभा देखेर सुनेर घोराहीका एक जना मिडियाकर्मी तथा सर्जकले गीत गाउन दिन्छु भन्दै घोराही बोलाउनुभयो । घोराहीबाट तुलसीपुर गीत रेकर्ड गर्न जाने भनिएको थियो तर लमही लगियो । लमहीको एक होटलमा राख्नुभयो । म आत्तिएँ । उहाँलाई गीत रेकर्डका लागि आग्रह गरेँ तर मदिरा सेवन गर्न आग्रह गर्नुभयो । मसँग अभद्र व्यवहार भयो । मलाई मासिक श्राव भएको छ भनी प्याड किन्ने बहाना बनाएर बाहिर निस्केँ । आफ्नो दिदीलाई फोन गरेँ । त्यहाँ तत्काल मैले अरू केही गर्न सकेन । त्यही बेला घटनाको बारेमा प्रतिकार गरेको भए अवस्था बेग्लै हुन्थ्यो होला ।”

यी प्रतिनिधि घटना हुन् । प्रत्येक दिनजसो कुनै न कुनै बहानामा महिला र बालबालिका हिंसामा परिरहेका हुन्छन् । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरेर महिला हिंसा गर्ने क्रम बढ्दो छ । कतिपय घटना बाहिर आउँछन्, कतिपय घरभित्रै सेलाउँछन् ।

साइबर अपराध: महिला हिंसाका घटना उल्लेख्य

कसैले साथी बनेर, कसैले अपराधको शैली अपनाएर त कसैले सहयोगको नाममा अपराध गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । विभिन्न बहानामा समाजमा यस्ता अनेकन अपराधका घटना हुने गरेको भए पनि अपराध गर्ने मनसाय भएकाहरूले कुनै न कुनै बहानामा उन्मुक्ति पनि पाउने गरेका छन् । फलस्वरूप उनीहरू कानुनी कठघरासम्म नपुग्ने गरेको प्रहरीको भनाइ छ । समाजलाई अपराधमुक्त बनाउन अब समाजमा सचेतनासँगै सही सिकाइमा ध्यान दिनुपर्ने, सामाजिक सञ्जाल नियन्त्रण र नियमन गर्ने बलियो कानुन नभएकाले यसको दुरुपयोग हुने गरेको प्रहरीको निष्कर्ष छ । (स्रोतःजिल्ला प्रहरी कार्यलय दाङ) ।

नेपालमा २०७८ सालमा तीन हजार ९०६ वटा साइबर अपराधका घटना प्रहरीमा दर्ता भएका थिए, जसमा पुरुषको तुलनामा महिला हिंसाको घटना उल्लेख्य रहेको थियो । फेसबुकसँग सम्बन्धित घटनाहरूमा महिलाका दुई हजार तीन र पुरुषका एक हजार ४७१ घटना दर्ता भएका थिए । फेसबुक, भाइबर, इन्स्टाग्राम, इमो, टिकटक, ह्वाट्सएप, ट्वीटर जस्ता सामाजिक सञ्जालको दुरुपयोग गर्दै समाजमा अनेकन खालका घटना हुने गरेको पाइएको छ । यसका कारण अनाहकमा आर्थिक तथा भौतिक क्षति हुने गरेको र मानसिक तनाव बढ्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, अहिले पनि जिल्लामा दैनिक सरदर १० वटा साइबर अपराधका घटना दर्ता हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले यस प्रकारको घटनाको उजुरी लिए पनि घटनाको अनुसन्धान भने केन्द्रीय अनुसन्धान व्यूरोले गर्दै आएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार, कोरोना महामारीपछि साइबरसम्बन्धी अपराधका घटना अझ बढेको छ । विभिन्न कारणले मानिसहरू मोबाइलको प्रयोगमा नजिकिएका तथा यसको सदुपयोगभन्दा दुरुपयोगमा लागेकाले अपराध सिर्जना गर्न यसले भूमिका खेलेको हुन सक्ने उहाँ बताउनुहुन्छ ।

बढ्दो छ महिला हिंसा

ओरेक नेपाल दाङका कार्यक्रम संयोजक इश्वरी थापाका अनुसार २०२१ जनवरी देखि २०२२ अगष्ट सम्ममा दाङमा बालिका हिंसा बढेको बताउनुहुन्छ । यौन हिंसामा परेका २० जना मध्ये १८ वर्ष मुनीका ८ जना रहेको र त्यो भन्दा माथिको उमेर समुहका १२ जना रहेको थापाले जानकारी दिनुभयो । घरेलु हिंसाका एक सय २० घटना रहेका छन् । १८ वर्ष मुनीका २ जना र १८ वर्ष माथिका ७४ जना रहेको छ । गत वर्ष महिला हिंसाका एक सय ११ घटना भएकोमा यो वर्ष बढेर एक सय २० पुगेको छ, यो संख्या धेरै नै हो । छोरीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा हिंसा बढेको ओेरेक जिल्ला संयोजक थापाले बताउनुभयो । दाङमा बर्सेनि महिला र बालबालिकामाथि यौनजन्य हिंसा बढ्ने गरेको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७८-७९ मा जिल्ला प्रहरी कार्यालय दाङको महिला सेलमा महिला तथा बालबालिकामाथि जबरजस्ती करणीका ८३ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार, दाङमा आव २०७८-७९ मा महिला तथा बालबालिकामाथि जबरजस्ती करणीका ८३, जबरजस्ती करणी उद्योगका २९, मानव बेचबिखनका दुई, बहुविवाहका ४२, बाल यौन दुरुपयोगका तीन वटा उजुरी परेका छन् । घरेलु हिंसाका १२९ मुद्दा दर्ता भएकोमा ११५ मुद्दामा मिलापत्र भएको र १४ जना सम्बन्ध विच्छेदका लागि अदालत गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक निमा जिसीले जानकारी दिनुभयो ।

महिला मानव अधिकार रक्षक सन्जाल दाङका अध्यक्ष सुशीला पौडेल महिलाहरू कहाँ कतिबेला हिंसा पर्ने हुन् भन्ने डर सधैँ रहिरहने बताउनुहुन्छ । आफूले विश्वास गरेका व्यक्तिबाट र नजिकका चिनेजानेका आफन्तीबाट बालिका सुरक्षित हुन नसकेको उल्लेख गर्दै उहाँ महिला हिंसा न्यूनीकरणका लागि प्रत्येक घरपरिवारले सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुहुन्छ ।

घोराही उपमहानगरपालिका उपमेयर हुमा डिसीले महिला बालबालिकालाई सुरक्षित राख्न पालिकाले काम थालेको बताउनुहुन्छ । किशोरी शिक्षा, आत्मरक्षा तालिम र आफ्नो सुरक्षाका लागि महिला आफैँ अग्रसर हुनका लागि उत्प्रेरणा दिने कार्यक्रम आयोजना गरिएको उहाँ बताउनु हुन्छ ।

“हिंसामा परेका किशोरी र महिलालाई मनोपरामर्श दिने र समाजमा पुनर्स्थापनाको वातावरण मिलाउने काम पनि गरेका छौँ,” उपमेयर डिसी भन्नुहुन्छ, “घर परिवारबाटै असल संस्कारको विकास हुन सकेमा महिला तथा बालबालिका धेरै हदसम्म सुरक्षित हुन सक्छन् ।”