Ad Area

मिटर ब्याजी खोज्दै प्रहरी, ३० जनामाथि विशेष निगरानी


छबि पुरी
घोराही ६, कार्तिक । दाङको प्रमुख व्यापारिक केन्द्र घोराही, तुलसीपुर, लमही, भालुवाङ, गढवालगायतका स्थानमा ‘मिटर ब्याज’को आतंक बढेर गएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अत्यन्तै जोखिम तथा गैरकानूनी काम मिटर ब्याज कारोबारले कति बेला कसको घरबार उठ्ने हो कसैलाई कुनै पत्तो छैन । रातारात धनी बन्ने सपनामा मिटर ब्याजको फन्दामा पर्ने मध्यम तथा निम्न वर्गीय परिवारका सदस्यका लागि जीवन बरबादीको कारक बन्दै गएको छ । जिल्लामा अहिले केही ‘माडे’ भनिनेहरुले बिचौलियाको माध्यम बनाएर आफु बाहिर नदेखिने गरी भित्रभित्रै करोडौँ रकम मिटर ब्याजमा लगाउनेहरु अहिले धमाधम प्रहरीको निगरानीमा पर्न थालेपछि घटना एकपछि अर्को गरी क्रमशः बाहिरिँदै गएको छ ।

अत्यावश्यक काम परेको बेला ऋण खोज्न जानेहरु मिटर ब्याजीको फन्दामा पर्ने गरेका छन् । व्यवसाय या कारोबारमा संलग्न मात्र होइन, अप्ठेरोमा परेका कारण मिटर ब्याजमा रकम लिने र सम्पत्ति डुबाउनेको संख्या पनि दाङमा ठूलो छ ।विदेश जाँदा चाहिने रकम अभावमा माडे भनिने मिटर ब्याजी कहाँ पुगेर फस्नेहरु होऊन् वा व्यापारका लागि लगानी थप गर्न रकम तत्काल आवश्यक पर्नेहरु अहिले सडकमा आएका घटना पनि दाङमा प्रसस्त हुन थालेका छन् ।

उनीहरूले घरजग्गा दृष्टिबन्धक गर्ने देखि छिनुवापास गरेर आसामीको शरणमा पुग्न बाध्य हुने गरेका छन् । मिटर ब्याजीहरुले कपाली तमसुक बनाउने, जग्गा छिनुवा पास गर्न लगाउने, ऋणीलाई दवावमा राखेर दुई वटा कागज बनाएर मोटो रकम असुल्ने गरेका छन् ।
जिल्लामा अहिले यस प्रकारको गैरकानूनी गतिविधिको सिलसिला निकै बढेर गएको समाचार प्रकाशित भएपछि प्रहरीले चासो लिएको छ । जिल्ला प्रहरी कार्यालय, दाङले घटनाका बारेमा बृहत अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्लामा मिटर ब्याजको गैरकानूनी कारोबार गर्नेहरु प्रहरीको निशानामा परेका छन् ।

अहिले दैनिक जसो प्रहरीले मिटर ब्याजको कारोबार गर्ने गरेको आशंकामा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई घटना अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा पर्नेहरु लब्ध प्रतिष्ठित व्यक्तिदेखि कानून व्यवसायी, उद्योगी व्यवसायीसमेत रहेका छन् । उनीहरुले छोटो समयमा मोटो रकम कमाउने लोभमा अरुको घरबार उठाउने दुस्साहस गरेको पाईएको छ ।
‘घटनाका विषयमा हामी अत्यन्तै गम्भीर रुपमा अघि बढेका छौंँ,’ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने, ‘बृहत अनुसन्धानमा छौँ । पीडितवालाले जाहेरी नदिँदा पनि अनुसन्धानमा केही बाधा पुगेको छ ।’

उनका अनुसार अहिलेसम्म ३० जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्ने काम भईसकेको छ । उनले घटनाको शुरुवात कसरी हुन्छ भन्ने यकिन गर्न नसक्दा समस्या कहाँबाट थालनी भएको हो भन्नेमा आफुहरुलाई जडसम्म पुग्न अप्ठ्यारो परेको बताए । तर, अनुसन्धान धेरै अघि बढि सकेकाले त्यसकै आधारमा मोटो रकम मिटर ब्याजमा लगानी गर्नेहरु प्रहरीको फन्दामा पर्ने सम्भावना बढेर गएको छ । ‘केही बलिया आधार पत्ता लागि सक्यो, अब ढिलो चाँडो हामी ठूला माछा समात्ने ठाउँमा पुग्दैछौँ,’ प्रहरी उपरीक्षक काफ्लेले भने ।

Blog Post Ad

मिटर ब्याजमा संलग्नहरुको पहिचान गर्न सम्भावितहरुलाई अनुसन्धानको दायरामा ल्याउने र सोधपुछ गरि निगरानीमा राख्ने काम निरन्तर जारी रहेकाले यो विषय प्रहरीका लागि पनि उत्तिकै जिम्मेवारीपूण अवस्था पुगेको बताए । प्रहरीले मिटर ब्याजी गिरोहको संजाललाई नै निरुत्साहित गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । ‘अहिलेसम्म ३० जना आशंका गरिएकाहरु प्रहरीको अनुसन्धानमा परिसकेका छन्। उनीहरुमाथि अहिले पनि कडा निगरानी राखिएको छ,’ प्रहरी उपरीक्षक काफ्लेले भने, ‘केही ठूला व्यापारीदेखि सामाजिक प्रतिष्ठा बोकेका भनिएकाहरु पनि निगरानीमा परेका छन् ।’

अनुसन्धानका क्रममा नियन्त्रणमा लिईएकाहरुले पीडितलाई कम रकम दिएर माटो रकमको तमसुक बनाउने गरेको, कमिसन अत्यधिक लिने गरेको, ब्याज दर अस्वाभाविक रुपमा असुल्ने गरेको पाईएको छ । तर, रकमको कारोबार गर्दा तमसुक गर्ने गरिएको प्रसस्त आधार भेटिएकाले तमसुकको विषय फौजदारी हुने हुँदा यो विषय अदालतले हेर्ने हुँदा घटना अनुसन्धानमा केही समस्या आएको उपरीक्षक काफ्लेले बताए ।

‘कुनै पनि अभियुक्तलाई ६ दिनमात्रै हामीले नियन्त्रणमा लिएर राख्न मिल्छ। यसले पनि बृहत् अनुसन्धानमा बाधा पुग्ने गरेको छ, यसलाई वैकल्पिक विधि अपनाएर भएपनि निचोडमा पुग्ने गरी हामी अघि बढेका छौँ,’ प्रहरी उपरीक्षक काफ्लेले भने । पीडितलाई थोरै रकम दिएर तमसुकमा मोटो रकमको समझदारी गराउने गिरोहका कारण रकम तिर्न नसकी घरबार बिहिनको अवस्था सम्म पुग्ने गरेका छन् । नियन्त्रणमा परेकाहरुको बयानका आधारमा एकै जनालाई ४० लाख रुपैयाँसम्मको तमसुक गराईएको पाइएको छ । गैरकानूनी कामलाई निरुत्साहित गर्न प्रहरीले थालेको अनुसन्धानमा पीडितवालाहरुले साथ दिनु पर्ने उनको अपिल छ ।

कुनै बेला मिटर ब्याज कारोबारीको जिल्लामा दबदबा रहेपनि अब यो काममा उनीहरु हच्किन थालेका छन् । उनीहरुसम्म पुग्नका लागि प्रहरी आफैले पनि विभिन्न विकल्प अपनाई अघि बढेको छ । अहिले प्रहरीको सक्रियताका कारण यो घटनामा नयाँ समस्या नथपिए पनि पुराना घटनाले पीडित हुनहरु अनौपचारिक रुपमा प्रहरीको सम्पर्कमा पुगेर न्यायको याचना गर्नेहरु बढ्दैछन् । सामाजिक प्रतिष्ठा, साहुको दबावका कारण पनि पीडित पक्ष आफु ऋणले गर्दा आफु नांगिए पनि हत्तपत्त समस्या बाहिर ल्याउन चाहेको देखिएन । यसले गर्दा पनि अनुसन्धानमा समस्या हुने गरेको छ ।

प्रहरीका अनुसार मिटर ब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न छन् । पहिलो गिरोह, यसमा लगानी गर्न प्रोत्साहित गर्नेको छ । व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्छन् । अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेको छ । विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ ।

बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुन्छ । तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्छ । यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको छ ।

मिटर ब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको छ । सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटर ब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिन्छन् । सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न छन् । यहाँ मिटर ब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला–ठूला व्यावसायिक कर्जा छन् । तर तिनको व्यवसाय कहीँकतै केही पनि देखिँदैन । बैंकका कर्मचारीलाई आकर्षक कमिसन दिएर यसरी कर्जा लिने र मिटर ब्याजमा लगानी गर्ने गरिएको छ । बैंकका कर्मचारीमार्फत सहज तरिकाले ऋण निकाल्ने र मिटर ब्याजमा लगाउने प्रवृत्तिले गर्दा व्यवसाय गर्न कर्जा पाउनेहरूका लागि ऋण लिन निकै गाह्रो हुँदै गएको सेवाग्राहीको गुनासो छ ।

निजी बैंकले त मिटर ब्याजमा संलग्न व्यक्तिहरूका नाममा भएको कम्पनीविरुद्ध प्रहरीमा उजुरीसमेत गरेको पाइएको छ । बैंकले शंकास्पद रहेको धितोमा फर्जी कागजपत्र तयार गरेको भन्दै छानबिनका लागि प्रहरीमा उजुरी गरेको पाइएको हो । तर पीडितले भने बैंकको मिलोमतोमा ठूलो रकम धितोवालाको सहमतिबिना नै कर्जा दिएको आरोप लगाउँदै आएका छन् ।

मिटर ब्याज भनेको मिटर घुमेजस्तै ब्याज रकम फनफनी घुमेर जोडिने रकम हो । बैंकहरुले प्रवाह गरेको ऋणको ब्याज दर राष्ट्र बैंकले निर्धारण गरेको ‘पोर्ट फोलियो’ का आधारमा तय हुने हुँदा पछि गएर ऋणिले शुरुवाती चरणमा सम्झौता गरेभन्दा ठूला अन्तर पर्ने गरी ब्याज भुक्तानी गर्नु नपर्ने व्यवस्था भएपनि मिटर ब्याजमा सबै मोटो रकम बुझाउनुपर्छ । जसले गर्दा ऋण लिनेहरु प्राय सडकमा आउन बाध्य हुने गरेका छन् । चर्को ब्याज दरमा अनाधिकृत र गैरकानूनी रुपमा रकम लगानी गरी व्यक्तिलाई ‘उठीबास’ लगाउने गरी ‘मिटर ब्याजको धन्दा’ चलेपछि यो घटना अहिले सतहमा आएको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad