Ad Area

प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा


काठमाडौं,२६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गरेका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘‘नेपाल आएको पाँच सय २५ दिनपछि टिमको जिम्मेवारी छोड्ने निर्णय गरेको छु । यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु । खुसी, माया, दुःख र पीडाविनाको यस यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम जय नेपाल ।’’

उनी कतार फुटबल सङ्घको सहयोगमा नेपालको प्रशिक्षक बनेका थिए । अलमुताइरीले यसअघि पनि सामाजिक सञ्चालनमा टिम छाडेको घोषणा गर्ने गरेका थिए । पछिल्लो समय आफ्नै देश कुवेतमा बस्दै आएका अलमुताइरीको राजीनामाको विषयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुनै जानकारी दिएको छैन ।

एन्फाले अलमुताइरीलाई सन् २०२४ सम्म नेपाली फुटबल टोलीको प्रशिक्षकमा अनुबन्ध गरेको थियो । तर पटक पटक विवादमा पर्दै आएका प्रशिक्षक अलमुताइरी एन्फाको नयाँ नेतृत्वसँग रुष्ट छन । सोही कारण अहिलको एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेर राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको छ ।

Blog Post Ad Blog Post Ad