Ad Area

कर्मठ महिला सहकारीलाई ‘राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार’ प्रदान


घोराही, ३० भदौ । लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ‘राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार’ प्राप्त गरेको छ ।

पशुबस्तुको मुल्य श्रृंखलामा आधारित क्षेत्रमा काम गर्दै आएको हेफर इन्टरनेशनल नेपालले महिला सहकारीले ९ वर्षमा गरेको संघर्षपूर्ण  कामको उच्च मुल्यांकन गर्दै कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थालाई नगद ३ लाख रुपैयाँसहित बिहीबार लुम्बिनी सम्मेलन तथा ध्यान केन्द्र भैरहवामा एक भव्य समारोहका बीच पुरस्कृत एवम् सम्मान गरेको हो । उक्त पुरस्कार सहकारीकी अध्यक्ष देवीमाया थापासहित कार्यसमितिलाई हस्तान्तरण गरिएको थियो ।

सेवा नेपालका अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्य र पूर्वमन्त्री गोकर्ण बिस्टको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा कर्मठ सहकारी सँगै बिहानी, प्रयास र प्रतिभा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

शुन्यबाट थालनी भएको सहकारीले बितेको ९ वर्षमा गरेको संघर्षपूर्ण कामका कारण सफलता हासिल गर्दै ‘राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार’ पाउन सफल हुनु विपन्न, निमुखा दिदीबहिनीहरुको सपनामा विश्वास भर्ने काम भएको भन्दै संस्थाकी अध्यक्ष थापाले आभार प्रकट गर्नुभयो । ‘राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार’ पाएसँगै सहकारीले आगामी दिनमा अझ मेहनत गर्दै संस्थागत सुशासन, आर्थिक पारदर्शिता, महिला उद्यमशीलताका क्षेत्रमा थप गम्भीर भएर काम गर्ने अध्यक्ष थापाले अठोट व्यक्त गर्नुभयो । समुह हँुदै सहकारी स्थापनादेखि हालसम्म सहकारीको संस्थागत विकासमा योगदान दिएका सबैको साथ सहयोगका कारण आफुहरु पुरस्कृत एवम् सम्मानित हुन पाएको उहाँले बताउनुभयो ।

Blog Post Ad

२५ जना सदस्य बाट दर्ता गरिएको सहकारीमा अहिले १३ सय ३५ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् । ४ करोड कुल पूँजी रहेको उक्त सहकारीले ५ जना कर्मचारीबाटै दैनिक कार्य सम्पादन गर्दै आएको छ । सहकारीले बर्सेनि २ हजार बढी खसी बाख्रा बिक्री गर्दै आएको छ भने खसीबोका बिक्रिबाट करोडौँ रुपैयाँका कारोबार गर्दै आएको छ । सहकारीबाटै पशुको स्वास्थ उपचार, बिमा सेवा, घाँसको बिउबिजन उपलब्धता र रासायनिक मलको बिक्री बितरण आएको हुँदा स्थानीय महिलाहरुले आयआर्जनका क्षेत्रमा उल्लेख्य प्रगति गर्दै आएका छन् ।

सहकारीमा आवद्ध शेयर सदस्यहरुले वैदेशिक रोजगारमा गएका आफ्ना श्रीमानलाई पनि घर फर्काएर ब्याबसायिक बाख्रापालनमा सहभागी गराउँदै आयआर्जनमा जोड्ने काम गर्दै आएका छन् । हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा २०६८ साल मंसिर २२ गते साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तर्गत समुह बनाएर शुरूवात गरेको कार्यक्रमलाई २०७० कार्तिक १४ गतेबाट सहकारी संस्थाका रुपमा दर्ता गरि हस्तान्तरण गरिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले बताउनुभयोे ।

सहकारी दर्ता भएपछि पनि हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले पशु बस्तुको मूल्य श्रृृंखलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना एसएलभीसी दोश्रो अन्तर्गत काम गर्दै सहकारीलाई सबल गराउने काम गर्दै आइरहेको थियोे ।
कार्यक्रममा हेफर इन्टरनेसनल अमेरिकाका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र नाथ लोहनी, लेखा अधिकृत मार्सिया रेस्फुसेन लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय निर्देशक डाक्टर शुभ नारायण महतोले स्वागत गर्नुभएको कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डाक्टर तीर्थ रेग्मीले कार्यक्रमको उद्देश्य र नेपालमा हेफरले गरेको कामको बारेमा प्रकाश पार्नुभएको थियोे । देशभरबाट हजारौं महिला उद्यमीहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad