Ad Area

भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपको फाईनलमा


दाङ, ३१ भदौ । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन । यस्तै भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो ।

साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो । २०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो ।

त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले मिठो बदला पनि लिएका छन् । अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ । बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad