Ad Area

६६ हजारले पूर्ण खोप लगाएको तथ्यांकपछि लुम्बिनी बन्यो ‘पूर्ण खोप सुनिश्चित प्रदेश’


घोराही, ३१ भदौ । लुम्बिनी पूर्ण खोप सुनिश्चित प्रदेश घोषित भएको छ । खोप लगाउने उमेरका ९० प्रतिशत भन्दा धेरै बालबालिकाले पूर्ण खोप लगाएपछि लुम्बिनी प्रदेशलाई शुक्रबार एक समारोहका बीच पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।

स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चिता घोषणा गर्नुभएको हो । घोषणा सभामा उहाँले अब सरकारले छुटेका बालबालिकालाई तल्काल पूर्ण खोपको दायरामा ल्याउन र यसको दिगोपनामा काम गर्न सुझाब दिनुभयो ।

स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बालबालिकालाई सुरुवा रोगको संक्रमणबाट बचाएर स्वस्थ र निरोगी बनाउन रातदिन अभियानमा खटेर पूर्ण खोप घोषणा गर्न सफल भएको बताउनुभयो । पूर्ण खोप पाउनु बालअधिकार र खोप दिनु राज्यको दायित्व भएको बताउदै उहाँले लुम्बिनी प्रदेशले आफ्नो दायित्व पूरा गरेको उहाँले जनाउनुभयो ।

राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभन्दा तलका बालबालिकालाई १३ वटा सरुवा रोगबाट बचाउन विभिन्न खोपहरु लगाउने गरिन्छ । नियमअनुसार ९० प्रतिशत भन्दा धेरै बालबालिकाले खोप लगाएपछि पूर्ण खोप घोषणा गरिन्छ । लुम्बिनी प्रदेशमा ६६ हजार ४ सय ६४ जनाले पूर्ण खोप लगाएका छन् । ६४ हजारले नियमित खोप केन्द्रबाट खोप लगाएका हुन् भने २ हजार ४ सय ६४ जना बालबालिकालाई विशेष अभियान मार्फत घरदैलो गरेर पूर्ण खोप लगाइएको थियो ।

प्रदेशमा २ हजार ८ सय २२ वटा खोप केन्द्र छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले छुटेका सबै बालबालिकाहरु विशेष अभियानमार्फत बैशाखभित्र खोपको दायरामा ल्याउने बताउनुभयो । प्रदेशले यसअघि १२ वटै जिल्लालाई पूर्ण खोप घोषणा गरेको थियो । २०७० सालमा देशमै पहिलो पटक पाल्पा र नवलपरासी पश्चिम पूर्ण खोप सुनिश्चित भएका थिए ।

Blog Post Ad

गतवर्ष बर्दिया, कपिलवस्तु र रुकुमपूर्व पूर्ण खोप जिल्ला बनेपनि यसवर्ष दाङसहित बाँकी रहेका जिल्ला पूर्ण खोप सुनिश्चित भएपछि प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले विपन्न, श्रमिक र विकटका बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याउन स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र अभियानकर्ताहरुले विशेष भूमिकाका कारण पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको बताउनुभयो ।

निर्देशिका अनुसार प्रदेशले गरेको काम र तथ्यांकको अनुगमन गरी पूर्ण खोप सुनिश्चितताका लागि संघीय सरकारले प्रमाणिकरण गर्नुपर्छ । शुक्रबार संघीय स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले प्रमाणिकरण प्रमाणपत्र दिनुभएको थियो । घोषणा सभामा पूर्ण खोपमा सहयोग गर्ने साझेदार निकाय, १२ वटै जिल्ला समन्वय समितिहरु, स्वास्थ्य कार्यालयहरु, स्थानीय तहहरु लगायतलाई प्रशंशापत्रसहित सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad