Ad Area

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका जिल्लामै ‘अब्बल’ घोषित


घोराही, ४  असोज । स्वास्थ्य क्षेत्रका गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ ।

स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा अरु पालिकामध्ये सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार एक कार्यक्रमका बीच पहिलो भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरिएको छ ।

खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित १६ वटा सूचकलाई आधार बनाएर गरेको कामको उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै, जिल्लाको गढवा गाउँपालिका दोश्रो, तुलसीपुर उपमहानगरपालिका तेश्रो र बंगलाचुली गाउँपालिका चौथो भएको छ । उत्कृष्ट भएका पालिकालाई घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मालगायतले प्रमाण पत्र हस्तान्तरण गर्नुभयो ।

गत आर्थिक वर्षमा पालिकाले स्वास्थ्य कार्यक्रमका गरेको कामको मुल्यांकन गर्न स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरत कवरको संयोजकत्वमा गठित ४ सदस्यीय टोलीले उत्कृष्टता घोषणा गरेको हो । जिल्लामा संचालित प्रमुख जनस्वास्थ्यका कार्यक्रम समेटी विभिन्न १६ वटा सूचकलाई आधार बनाएर कामको आधारमा प्राप्त गरेको अंकलाई मान्यता दिँदै १० वटै पालिकाको क्रम निर्धारण गरिएको हो । जस अनुसार, पाँचौँमा राजपुर गाउँपालिका, छैठौँमा घोराही उपमहानगरपालिका, सातौँमा शान्तिनगर गाउँपालिका, आठौँमा लमही नगरपालिका, नवौँमा बबई गाउँपालिका र अन्तिममा दंगीशरण गाउँपालिका रहेको छ ।

Blog Post Ad

यस्तै, कोभिड विरुद्धको खोप कार्यक्रममा उतकृष्ट रुपमा व्यवस्थापन तथा समन्वय गरी कार्य सम्पादन गरेको भन्दै जिल्लाको राप्ती गाउँपालिकाका स्वास्थय शाखा प्रमुख नारायण राउत, शान्तिनगर गाउँपाकिला स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुन र तुलसीपुर उपमहानगरपालिकाका जनस्वासथ्य निरिक्ष विमल केसीलाई उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए । वार्षिक समिक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतिलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नगरप्रमुख चौधरीले स्वास्थ्य क्षेत्रका कर्मचारीमा ठुलो जिम्मेवारी रहेपनि यसमा जनप्रतिनिधिको भुमिका पनि उत्तिकै भएको बताउनुभयो । ‘स्वास्थ्यमा सुधार हुँदै गएको छ । तर, लक्ष्य पूरा हुन सकेको छैन । यसका लागि हामीले धेरै गनुपर्ने हुन्छ’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा सुधार गर्न अझ धेरै गर्नुपर्छ भन्ने मैले महसुश गरेको छु । यसमा सबै जनप्रतिनिधिले जिम्मेवारी लिनु आवश्यक छ ।’

उहाँले स्वास्थ्यमा सुधार भए मात्रै आर्थिक सुधार सम्भव हुने बताउँदै शारीरिक, मानसिक रुपमा स्वस्थ भए मात्रै परिवार समृद्ध बन्न सक्छ। परिवारमा एक जना अस्वस्थ भए सिंगो परिवार तनावमा हुन्छ, त्यस्तै देशका नागरिक अस्वस्थ भए देशको अर्थतन्त्रमा असर गर्छ । ‘परेपछि मात्रै उपचार गर्ने परिपाटीले पनि समस्या ल्याएको छ’ उहाँले भन्नुभयो, ‘स्वास्थयमा सुधार ल्याउन हरेक नागरिकलाई स्वास्थ्य सचेतना बढाउनु पर्छ ।’

स्वास्थ्यमा गरिएको लगानी खर्च होईन, पूँजी हो भन्ने बुझ्न जरुरी रहेको बताउँदै उहाँले दाङको स्वास्थ्यमा सुधार ल्याउन साझेदार स्वास्थ्य संस्थाले ठुलो भुमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लालाई स्वास्थ्यमा सबल बनाउँदै प्रदेशमा प्रथम बन्नुपर्छ भन्ने मान्यताका साथ काम गर्नुपर्ने छ, मलाई प्रदेश राजधानीको पालिकाले जिल्लामा स्वास्थ्य क्षेत्रमा उत्कृष्टता प्रस्तुत गरेकोमा बधाई दिन चाहन्छु, अब हामीलाई पनि स्वास्थ्यमा सुधार गर्न थप मेहनत गर्नुपर्छ भन्ने सिकाएको छ ।’

अहिले समुदायमा सर्ने भन्दा नसर्ने रोगको अवस्था विकराल बन्दै गएकाले स्वास्थ्य क्षेत्रका जिम्मेवार निकायले अनुसन्धान गर्न अति आवश्यक भएको उहाँको भनाई छ । ‘अनुसन्धानको काम स्थानीय तहभन्दा माथिका सरकारले गरेर सहयोग गर्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो, ‘रक्सी चुरोट सेवन नगर्ने मानिस पनि अहिले क्यान्सर, मृगौलालगायतको जोखिममा परेका छन्, यो किन भईरहेको छ भन्ने बारे वृहत अनुसन्धान हुनुपर्छ ।’

कार्यक्रममा प्रदेश स्वास्थ निर्देशनालयका वरिष्ठ स्वास्थ शिक्षा अधिकृत भरत कवरले स्वास्थ्यका क्षेत्रमा थुप्रै समस्या हुनुमा सिमित श्रोत साधनले प्रमुख कारक रहेको बताउनुभयो । तर, यसले अवसर पनि ल्याएको उहाँको भनाई थियो । उहाँले स्थानीय सरकारले यसलाई अवसरका रुपमा लिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वस्थ नागरिक उत्पादन गर्ने काममा स्थानीय सरकार अग्रसर हुनुपर्छ, यसका लागि सबै पक्षको पैरवी हुनुपर्छ ।’

उहाँले उपचारात्मक सुधारले मात्रै स्वास्थ्यमा प्रगति सम्भव नहुने बताउँदै त्यसका लागि उपचारभन्दा रोग लाग्न नदिने गरि अभियान र योजना बनाउनुपने बताउनुभयो । स्वास्थ्यका लागि सक्षम प्रणालीका हरिजंग रायमाझीले जिल्लाभरको तथ्यांकले समस्या पहिचान गरेकाले आगामि दिनमा समस्या समाधानमा सहज हुने अपेक्षा गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा जिल्लाका १० वटै पालिकाले गरेका कामबाट सिक्दै अनुभव आदान प्रदान भएको बताउनुभयो ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले लक्षित जनसंख्या अनुपातमा प्रगति घटेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले यो बढाउनुपर्छ, यसका लागि निकै महेनत गर्नु जरुरी छ । अघिल्ला वर्षभन्दा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन जरुरी रहेको औँल्याउँदै उहाँले जिल्लाका पालिकाहरुको काममा सुधार ल्याउन फोकल पर्सनको भुमिका हुने बताउनुभयो । ‘स्वास्थ्य सम्वेदनशील क्षेत्र भएकाले सिमित जनशक्तिबाट असिमित स्वास्थ्य सेवा दिनु पर्ने हुँदा आगामि दिनमा सहजीकरणका लागि स्वास्थ्य कार्यालयको भुमिका बढाउनुपर्छ,’ उहाले भन्नुभयो, ‘यो भयो भने हामीले जिल्लालाई प्रदेशमै उत्कृष्ट बनाउन सक्छौँ ।’

कार्यक्रममा जिल्लाभरका स्वास्थ्य शाखाहरुले स्वास्थ्यका क्षेत्रमा भएका काम र चुनौतिका बारेमा जानकारी गराएका थिए । स्वास्थ्यका सुचकमा सुधार गर्न धेरै मेहनत गर्नुपर्ने भएकाले एकापसमा समन्वय गर्दै अघि बढ्नुपर्ने पनि उनीहरुको ठहर रहेको थियो । स्वास्थ्य कार्यालय दाङका मेघराज पौडेलले जिल्लाभरको स्वास्थ्य प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । केही सूचक सुधारको रुपमा रहेपनि धेरै स्वास्थ्यका सूचकमा सुधार गर्न धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको आवश्यकता औँल्याउनुभएको थियो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनकी भारती केसीले स्वास्थ्यका केही सूचकमा निकै सुधार देखिनु जिल्लामा गरिएको कामको प्रगति मान्न सकिने बताउनुभयो । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जिल्लाभरका स्वास्थ्य शाखालाई एकै थलोमा राखेर गरिएको स्वास्थ्य समिक्षाले समस्या पहिचानसँगै समाधानका लागि कसरी अघि बढ्ने भन्ने बारेमा निचोड निकाल्न र योजना बनाउन सहयोग पुगेको बताउनुभयो ।

‘पालिका स्तरमा स्वास्थ्यका क्षेत्रमा गरिएको कामले कुन पालिकाको अवस्था के छ भन्ने थाहा भएको छ, यसले स्वास्थ्यको अवस्थाका बारेमा स्पष्ट चित्र दिएको अब कसरी अघि बढ्ने भन्ने मार्ग चित्र बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘समस्या छ भन्दैमा काम नगरेर बस्ने होईन, चुनौतिको सामना गर्दै अघि बढ्ने हो ।’ दुई दिने जिल्ला स्तरीय समिक्षा गोष्ठीसँगै अब केही दिनमा प्रदेश स्तरीय समिक्षा गोष्ठीको तयारी भएको उहाँले ब बताउनुभयो । यसका लागि दाङ अरु जिल्ला भन्दा सक्षम बनाउने गरी अघि बढ्नुपर्ने उहाँको धारणा थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका शाखा अधिकृत वामदेव शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad