Ad Area

६५औँ जन्मोत्सवमा साहित्यकार शर्माको सोह्रौँ कृति ‘बाईस तारा’ विमोचन


घोराही, ३ असोज । पत्रकार एवम् साहित्यकार पद्मप्रसाद शर्माको सोह्रौँ कृतिका रुपमा बाईस तारा जीवन चरित संग्रह विमोचन भएको छ । प्रगतिशील लेखक संघ दाङको आयोजनामा सोमबार आफ्नो ६५औँ जन्मोत्सवको अवसरमा साहित्यकार शर्माले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।

प्रलेस दाङ शाखा अध्यक्ष भुवन देवकोटा शरदको अध्यक्षता तथा लेखकका गुरु चेतनाथ पोख्रेलको प्रमुख आतिथ्यमा भएको कृति विमोचनमा वक्ताहरुले साहित्यकार शर्माको साहित्यिक, शैक्षिक जागरणका क्षेत्रमा रहेको क्रियाशीलताको प्रशंसा गरिएको थियो ।

विभिन्न २२ जना उच्चतम व्यक्तित्वका विषय समेटिएको बाईस तारा कृति अग्रजहरुको सम्मान भएको उहाँहरुको भनाई थियो । कृतिको समीक्षा गर्दै राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासीले सांस्कृतिक चेतना, सामाजिक परिवेश र बस्तुस्थितिलाई सटिक रुपमा उठान गरिएर कृति बनेको बताउनुभयो । २२ जनाको साहित्यिक योगदानलाई कृतिमा समावेश गरेर उहाँहरुको कामको सम्मान भएको बताउँदै ती सबै व्यक्ति दिवंगत भईसकेकाले कृतिमार्फत कामको दस्तावेजीकरण हुनु आफैमा महान काम भएको उल्लेख गर्नुभयो ।

साहित्यकार शर्माले ३० वर्षको अन्तरालमा १६ वटा कृति प्रकाशन गर्नु कृति प्रकाशनका हिसावले ठूलो साहित्यिक उपलब्धि भएको बताउँदै उहाँले आगामि दिनमा पनि साहित्यिक निरन्तरताको कामना गर्नुभयो । उहाँले भन्नुभयो, ‘साहित्यकार शर्माले ३० वर्षको अन्तरालमा १६ वटा कृति प्रकाशन गर्नु कृति प्रकाशनका हिसावले ठूलो साहित्यिक उपलब्धि हो, यसलाई सामान्य रुपमा हेरिनु हुँदैन ।’

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरुले साहित्यकार शर्माको साहित्यिक तथा शैक्षिक उडानको अनवरत यात्रामा जीवन संगिनी र परिवारका सदस्यहरुको भूमिका अनुकरणीय रहेको बताउनुभयो । साहित्यकार शर्माका कृति प्रशंन्नताको छहारीमा सितलताको अनुभुति दिने खालका भएकाले कृति केवल दस्तावेज मात्रै नभई प्रेरणाको श्रोत भएको पनि उहाँहरुको भनाई थियो ।

साहित्यकार शर्माले २०४९ सालमा पहिलो कृतिका रुपमा हाम्रा सुसेली गीत संग्रह सहप्रकाशन गर्नुभएको थियो । त्यसपछि २०५८ सालमा ढिकपुरदेखि मेची पुलसम्म यात्रा संस्मरण निबन्ध, २०६० सालमा हुम्लाको झलक भूगोल ईतिहास, २०६० सालमा राप्ती साहित्य परिषदको इतिहास, २०६१ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास प्रकाशन गरिसक्नुभएको छ । यस्तै, २०६१ सालमै शब्दको भेद र कार्यक्रमको स्वरुप निबन्ध, २०६२ सालमा उपहार लघुकथा संग्रह, २०६२ सालमा जसु–अनन्त टीका आत्मकथा, २०६३ सालमा जनआन्दोलन भाग २ मा दंगाली श्रष्टाको भूमिका इतिहास, २०६५ सालमा पहलवानपुरदेखि तिलासम्म यात्रा संस्मरण निबन्ध प्रकाशन गरिसक्नु भएको छ ।

२०६७ सालमा तर पनि अचेल छौँ यात्रा संस्मरण निबन्ध, २०७३ सालमा जीवनको रहस्य निबन्ध संग्रह, २०७६ सालमा ढिकपुरदेखि अर्घाखाँचीसम्म नियात्रा, २०७७ सालमा त्रिवेणी नियात्रा, २०७८ सालमा उज्यालो पर्खिरहेको क्षितिज कविता संग्रह तथा अधिकारी वंशधर नियाल्दा २०७८ इतिहास, राप्ती पोष्ट दैनिकमा फुटकर रुपमा प्रकाशित साथै गीत, कविता, कथा, निबन्ध, समीक्षा, समालोचना, जीवनी, समसामयिक लेखका साथै शैक्षिक लेखहरु विभिन्न पत्रपत्रिकामा नियमित प्रकाशित हुँदै आएका छन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व विशिष्ट अतिथि शर्माका गुरु लक्ष्मणप्रसाद मजगैयाँ, साहित्यकारसुष्मा शर्मा घिमिरे, प्रलेसका केन्द्रीय सदस्य रामप्रसाद जैशी, साहित्यकार केशव थापा, परिषदका सल्लाहकार पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, सर्वाेदय पुस्तकालय तथा वाचनालयका सुन्दर गौतम, रेडियो मध्यपश्चिमको संचालक समिति उपाध्यक्ष सुदर्शन रिजाल, लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेल, साहित्यकार शशीधर भण्डारी, सिस्नुपानी नेपालका डा. लोकराज पराजुली, कृति सर्जकका माईला छोरा शरद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सर्जक शर्माले आगामि वर्ष पनि जन्मदिनको अवसरमा अर्काे कृति प्रकाशन गर्ने घोषणा गर्नुभएको छ । प्रलेस सदस्य सुशीला आचार्यको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सहसचिव शारदा शर्माले गर्नुभएको थियो ।