Ad Area

बालबालिकालाई पढाईका लागि संघर्ष, विद्यालय पुग्नै ३ घण्टा !


घोराही, ८ असोज । बालबालिकाहरुलाई सुलभ र सहज तरिकाबाट शिक्षा उपलब्ध गराउन सरकारले बर्षेनी विभिन्न कार्यक्रम तथा नाराहरू तय गर्ने गरेपनि जिल्लामा दुर्गम क्षेत्रका बालबालिकाहरुले पढाईका लागि संघर्ष गर्नुपर्ने अवस्था छ । उनीहरूका लागि आधारभूत तहको शिक्षा लिनका लागि विद्यालय जान घण्टौँ हिड्नुपर्ने बाध्यता रहेको छ ।

त्यही मध्यको एउटा उदाहरण हुनुहन्छ दाङ राप्ती गाउँपालिका–९ घोसखोला निवासी विरेन्द्र गाहा । बंगलाचुली गाउँपालिका–३ भेडावारी मुलावारीमा रहेको माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बिरेन्द्र पढाईका लागि दैनिक तीन घण्टा हिडेर विद्यालय पुग्ने गर्नुुहुन्छ । त्योपनि जंगल र पहाडैपहाडको बाटो हिडेर । गाउँमा स्कुल नभएछि दैनिक ३ घण्टाभन्दा बढी समय लगाएर विद्यालय आउने गरेको उहाँले बताउनुभयो ।

‘गाउँमा विद्यालय छैन् । पढ्नकै लागि करिव ३ घण्टा बढी हिड्नुपर्ने बाध्यता छ’,विरेन्द्रले भन्नुभयो,‘पानी प¥यो भने जंगलका खोलाहरु बढेर विद्यालय आउन सकिदैन । राम्रो मौसम भएको बेला मात्रै हो आउने ।’ उहाँसँगै सोही गाउँबाट दैनिक करिब १०÷१५ जना विद्यार्थीहरु ३ घण्टा बढी हिडेर मुलावारी विद्यालयमा आउने गरेका छन् । ‘नजिकमा विद्यालय छैन । त्यसैले टाढाको विद्यालय भएपनि पढ्न जानुपर्ने बाध्यता रहेको छँ’,उहाँले भन्नुभयो,‘आजभोली तँ लामो दिन हुने भएकाले घर पुग्दा उज्यालो हुन्छ । तर चिसोमा समयमा विद्यालय आउँदा झोलामा लाइट बोक्नुपर्ने बाध्यता हुन्छ ।’

बीरेन्द्रलाई जस्तै बंगलाचुली गाउँपालिका–५रोकिनेडाँडा निवासी जानकी गाहालाई पनि आधारभूत तहको शिक्षा ल्याउनका दैनिक २ घण्टा हिड्नुपर्ने बाध्यता छ । कक्षा ९ मा अध्ययनरत जानकीलाई विद्यालय पुग्न करिव २ घण्टा र फर्किन २ घण्टा हिड्नुपर्ने बाध्यता छ । विद्यालय नजिकै घर हुनेलाई पढ्न सहज हुने गरेपनि टाढा घर हुनेलाई समस्या हुने गरेको जानकी बताउँनुहुन्छ ।

‘घर नजिकै विद्यालय भएको भए पढ्नलाई राम्रो हुन्थ्यो । विद्यालय टाढा हुँदा धेरै दुःख पाउनु परेको छ’,जानकीले भन्नुभयो,‘विद्यालय जादा आउँदा थकाई लागि हाल्छ । कहिले स्कुल पुग्दा पढाई सुरु भैसकेको हुन्छ तँ कहिले घर आउँदा रात पर्छ । जसले गर्दा घरमा विहान साँझ पढ्ने समय नै हुँदैन राती थकाईले निद्रा लागि हाल्छ ।’ लामो समय हिडेर विद्यालय जानुपर्ने बाध्यताका कारण बिहान उठेर स्कुल जान तयार पर्दा तथा बेलुकी अबेर घर पुग्ने भएकाले विद्यालयमा बाहेक घरमा पढ्ने विद्यार्थीहरुलाई समय नै नहुने गरेको माध्यामिक विद्यालय भेडावारी मुलावारीका शिक्षक बीरेन्द्रकुमार न्यौपाने बताउँछन् ।

शिशु कक्षादेखि १२ सम्म करिव ६ सय ७० विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा आधाभन्दा बढी विद्यार्थी दैनिक एक घण्टाभन्दा बढी हिडेर टाढा–टाढाका गाउँहरुबाट आउने गरेको माध्यामिक विद्यालय भेडावारी मुलावारीका प्रधानाध्यापक खगराज लम्सालले बताउनुभयो । उक्त विद्यालयमा बंगलाचुली गाउँपालिका–३, ४ र ८ सँगै घोराही उपमहानगरपालिका वडा नं. १ र राप्ती गाउँपालिका वडा नं. ९ का विभिन्न बस्तीबाट बालबालिका पढ्न आउने गरेका छन् ।

Blog Post Ad

‘भौगोलिक विकटताका कारण विद्यार्थीहरुलाई अनेत्र जाने ठाउँ छैन’,प्रधानाध्यापक लम्सालले भन्नुभयो,‘जसले गर्दा बंगलाचुलीको मुलावारीस, भेडावारीसँगै टाढाका बस्तीहरु रोकिनेडाँडा, राप्ती गाउँपालिकाको घोसखोलालगायतका गाउँहरुबाट बालबालिकाहरु पढ्न आउने गरेका छन् ।’ टाढाबाट आउने विद्यार्थी ढिला गरी विद्यालय आउने, थकाइ लाग्ने छिट्टै भोकाउने समस्याले पठनपाठनमा समस्या हुने गरेको शिक्षकहरु बताउँनु हुन्छ । बालबालिकाहरु पढाउनका लागि विभिन्न समस्या हुँदाहुँदै पनि नजिकै विद्यालय नहुँदा टाढाका विद्यालयमा बालबालिकाहरुलाई घण्टौ हिडाएर पठाउनुपर्ने बाध्यता स्थानीयलाई रहेको छ ।

विद्यालयका पनि आफ्नै समस्या

२०३५ सालमा स्थापना भएको प्राथमिक विद्यालय अहिले कक्षा १२ सम्म पढाई हुन थालेको छ । स्थापना भएको ४४ बर्ष भैसक्दा पनि विद्यालयमा अनेकौ समस्या भोग्दै आएपनि विद्यालयले दुई बर्षअघिदेखि गाउँघरका बालबालिकाहरुलाई शिक्षा संकायमा कक्षा १२ सम्म पढाउन थालेको छ । तर पढाउनलाई शिक्षकसँगै विद्यार्थी समेत पर्यापत छैनन् ।

विद्यालयमा दश कक्षासम्म पढाउने शिक्षकहरुले १२ सम्म पढाउने गरेका छन् । कक्षा ११ र १२ मा शिक्षा संकायमा पढाई हुन थालेपछि १६ जना विद्यार्थीहरु गतबर्ष भर्ना भएको विद्यालयका प्रधानाधपक लम्सालले बताउनुभयो । विद्यालयका दरवन्दीका शिक्षक ३ जना, राहतका ३ जना, २ जना केन्द्रीय अनुदान, २ जना बालबालिका सहयोगी कार्यकता, ९ जना करारका शिक्षकहरु र एक जना लेखापाल रहेको विद्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad