Ad Area

स्तम्भकार समाज दाङको तेश्रो अंक विमोचन


घोराही, ८ असोज । स्तम्भकार समाज दाङको तेश्रो अंकका रुपमा मुखपत्र विमोचन भएको छ । समाजका अध्यक्ष केबी मसालको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रम गरि तेस्रो मुख पत्र विमोचन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सही उपयोग गराउने वातावरण स्तम्भकार समाजले खेल्नुपर्ने बताउनुभयो । उहाँले अहिले अभिव्यक्ति स्वतन्त्रताको नाममा विद्रोह गर्ने परिपाटीको गलत अभ्यास हुन लागेकाले हरेकले विवेकको सही प्रयोग गर्दै पदीय जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।

समाजमा रहेका वौद्धिक वर्गलाई एक ठाउँमा अझै ल्याउन नसकिएको अवगत गराउँदै उहाँले सचेतनाको बत्ती बाल्ने काम भएको हुँदा दूरदराजका हरेक नागरिकसम्म चेतनाको बत्ती बाल्न निरन्तर अभियान अघि बढाउन सचेत गराउनुभयो ।

कार्यक्रममा समाजका सल्लाहकार सुशील गौतम, पूर्व सल्लाहकार हिरामणि दुखी, नागरिक समाजका निवर्तमान संयोजक चन्द्रराज पन्त, रेडियो मध्यपश्चिम सञ्चालक समितिका अध्यक्ष मधुसुदन वैद्य, राप्ती साहित्य परिषदका सल्लाहकार पुरुषोत्तम खनाल लगायतले स्तम्भकार समाजले खेलेको भुमिकाको चर्चा गर्दै आगामि दिनमा यसको भुमिका अझ बढाउन आग्रह गर्नुभएको थियो ।

स्तम्भकार समाज देशमै पहिलो संस्थाका रुपमा रहेकाले देशभर यस विषयमा नयाँ संचार गरेको बताउनुभयो । २०७५ सालमा स्थापित स्तम्भकार समाजले वार्षिक मुखपत्र प्रकाशन गर्दै आएकोमा विगत दुई वर्ष कोरोनाका कारण प्रकाशन हुन सकेको थिएन ।

समाजका उपाध्यक्ष पद्मप्रसाद शर्माको स्वागत एवम् प्रवेशबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव नारायणप्रसाद भण्डारीले गर्नुभएको थियो ।