Ad Area

चर्को व्याजदरको विरोधमा व्यवसायी


दाङ, १० असोज । नेपाल राष्ट्र बैंकले बैंक व्याजदर वृद्धि गरेपछि उद्योगी तथा व्यावसायीहरू आन्दोलित भएका छन् । चर्को व्याजदर विरूद्ध दाङका उद्योगी तथा व्यवसायीहरू आन्दोलित भएका हुन् । जिल्लाका सम्पूर्ण उद्योग वाणिज्य संघहरूले आइतवार घोराही बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय दाङ जिल्लामार्फत् नेपाल राष्ट्र बैंकलाई ज्ञापन–पत्र समेत बुझाएका हुन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको प्रदर्शन दामोदर चोक, तुलसीपुर चोक, न्यूरोड हुँदै तुलसीपुर चोक, शहीद–गेट, जेसीज रोड हुँदै जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले ऋण लिएका व्यवसायीको अवस्था दयनीय बनेको बताए । ‘हामीले जिन्दगीभरि सरकारलाई कर बुझाएका छौँ, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ’, उनले भने ।

कारोबारको २०÷२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले साना तथा मझौला व्यवसायीहरू अप्ठेरोमा परेका छन् । ज्ञापन–पत्रमा बैंक तथा वित्तीय संस्थाहरूले असोज १ गतेदेखि लागू हुने गरी व्याजदरमा गरेको वृद्धिप्रति दाङ जिल्ला उद्योग वाणिज्य संघ सहित जिल्ला भरका उद्योग वाणिज्य संघहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । कर्जाको व्याजदर आकाशिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ जाने विज्ञप्तिमा भनिएको छ ।

बैंक व्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएका साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको जनाएका छन् । उत्पादित सामानको मूल्य आकाशिए र आम सर्वसाधारणको जीविको पार्जन पनि कष्टकर हुँदै गएको विज्ञप्तिमा भनिएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिती दरलाई बैंक वित्तीय संस्थाहरूको व्याजदर वृद्धिको निर्णयले थप मूल्य वृद्धि आकासिँदै गएको उद्योगी तथा व्यवसायीहरूले बताएका छन् ।

अर्थतन्त्र संकुचनमा जाँदा सरकारको राजश्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुँदै गएको छ । हालको निर्णयले व्याजदरमा अस्थीरता हुँदा व्यावसायिक लागतमा प्रक्षेपण गर्न नसक्ने र लगानी निरुत्साहित हुनेछ । असहज परिस्थितिबाट गुज्रिरहेको उद्योग र व्यावसायिक क्षेत्रमा ऋणको व्याजदरको भार थपिन जाँदा अर्थतन्त्रमा संकट आउनसक्ने उनीहरूको भनाइ छ । आगामी कार्तिक १ गतेदेखि लागू हुनेगरी नेपाल राष्ट्र बैंकद्वारा जारी कारोबारको २०÷२५ प्रतिशत ऋण लगानी गर्ने नीतिले व्यवसायीहरूलाई थप अपठ्ेरो बनाउने ज्ञापन–पत्रमा उल्लेख छ ।

त्यसैले सहजताका आधारमा व्यवसायीलाई सहज हुने गरी उक्त नीतिलाई संशोधन गर्न जोडदार माग गरेका छन् । अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने व्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गरिएको छ ।

Blog Post Ad

ज्ञापन–पत्रमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षका टंकसिंह बुढाथोकी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्षका रामप्रसाद चालिसे, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग वाणिज्य संघका सुरज खड्का, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम खत्री, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, बिजौरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बालकृष्ण रेग्मी, बंगलाचुली उद्योग वाणिज्य संघका अध्यक्ष रुकप्रसाद पुलामीद्वारा हस्ताक्षर गरिएको छ । ज्ञापन–पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले उद्योगी तथा व्यवसायीहरूको माग सम्बन्धित निकायमा पठाउने बताइन् ।

Blog Post Ad Blog Post Ad