Ad Area

पर्व लक्षित शान्ति सुरक्षा र गुणस्तरीय खाद्यान्नमा ध्यान दिन अपिल


घोराही, १५ असोज । दाङ महिला जेसीजले चाडपर्वको समयमा शान्ति सुरक्षा तथा गुणस्तरीय खाद्यान्न उपभोगमा सरोकारवाला भुमिका विषयक अन्तरक्रिया तथा वडा दशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रममा सहभागीहरुले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नहुने हुँदा समुदायले पनि नागरिक प्रहरीको भूमिका निभाउन जरुरी रहेको बताएका छन् ।

यस्तै, पर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाउन पनि अपिल गरिएको छ । उपभोक्ताको चहलपहल बढी हुने समयमा व्यापारीले गलत मनसायले काम गर्ने हुँदा त्यस्ता काम गर्नेलाई कानूनी दायरामा ल्याउन उपभोक्ताले सहयोग गर्नुपर्ने वक्ताहरुको भनाई थियो । प्रमुख जिल्ला अधिकारी रेग्मीले बजार अनुगमनको काम गरेर गल्ती गर्नेलाई कार्वाहीका लागि प्रशासनलाई सिफारिस गर्न आग्रह गर्नुभयो । बजार अनुगमन नियमित रुपमा हुँद आएकाले देखिएका समस्या समाधानका लागि पहल हुने गरेको बताउनुभयो । यस्तै, उहाँले स्थानीय सरकारले पनि बजार अनुगमन गर्ने हुँदा कारवाहीका लागि सिफारिस भएमा कानून अनुसार कारवाही हुने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले स्वस्थ रहनका लागि उपभोग्यबस्तु खरिदमा नागरिक सचेत हुनुपर्ने बताउनुभयो । नागरिक सचेत भएमात्रै बस्तुको गुणस्तरमा सहयोग पुग्ने उहाँको भनाई थियो । अहिले सरकारको नियममा रही व्यापार व्यवसाय गर्ने भन्दा गैरकानूनी ढंगले कारोबार गर्ने, कर छली गरेर ल्याईएका बस्तु बिक्रि गर्ने गिरोह सक्रिय रहेको आफुलाई गोप्य जानकारी आएको बताउँदै गलत काम गर्नेलाई कडा कारवाही गर्ने गरी आन्तरिक रुपमा खोज अनुसन्धान अघि बढाईएको बताउनुभयो ।

Blog Post Ad

चाडपर्वका बेला आपराधिक घटना बढ्ने हुँदा घरपरिवारका सदस्य बढी चनाखो हुनुपर्ने, शंकास्पद गतिविधि भए तत्काल प्रहरीलाई खबर गरेर घटना हुनबाट रोक्ने काममा सघाउन प्रहरी उपरीक्षक बीरबहादुर वलीले अपिल गर्नुभएको छ । उहाँले शान्ति सुरक्षाको सवालमा नागरिक सचेत बन्न सकेको अवस्थामा धेरै घटना हुनबाट रोकिने बताउनुभयो । बर्दीधारी पुलिसभन्दा बर्दी बिनाका सिभिल प्रहरीका रुपमा नागरिकलाई समाजमा हुने धेरै सूचनाको जानकारी हुने भएकाले त्यस्ता सूचना नागरिकले प्रहरीलाई दिएर सघाएमा काम गर्न सहज हुने उहाँको भनाई थियो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले बजार अनुगमनमा व्यवसायीहरुबाट पहिले जस्तो समस्या नरहे पनि गुणस्तर मापनका लागि उपकरण अभाव हुँदा समस्या हुने गरेको बताउनुभयो । अनुगमनका लागि खाद्य वा अखाद्य बस्तु छुट्टाउन यन्त्र, नापतौलका सामग्री ठिक भए नभएको जाँच गर्ने उपकरणलगायतका आवश्यक सामग्री नहुदा अनुगमनमा आफुहरुले बारम्बार समस्या झेल्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बजार अनुगमनसंगै शान्ति सुरक्षाको विषयलाई ध्यानदिन आग्रह गर्नुभएको थियो । उनीहरुले खाद्यमा हुने मिसावटसंगै आपराधिक क्रियाकलाप रोक्न ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा त्रिभुवननगर जेसीज दाङका अध्यक्ष विवेक आचार्य, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिना बिसी, अधिकारकर्मी सुष्मा गिरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आरके शीतल, रोट्रयाक्ट क्लब अफ दाङका कोषाध्यक्ष मनिष सेढाई, महिला उद्यमी विष्णु थापा, दाङ महिला जेसीजका कानुनी सल्लाहकार अनिता ढकाल, दाङ महिला जेसीजका पूर्व अध्यक्ष बिन्दु गिरी, दाङ महिला जेसीजका निवर्तमान महासचिव सुनिता थापा, जेसीहरु नमा शर्मा, लक्ष्मी घमाल चाैधरी, बसन्ती सुबेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संयोजक एवम् उपाध्यक्ष लक्ष्मी घमाल चौधरीको स्वागत मन्तव्य र आस्थापाठ तालिम निर्देशक दिलु मल्लले गराउनुभएको थियो । महिला जेसीजकी पूर्वअध्यक्ष सुशीला पौडेलको विषय प्रवेशबाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad