Ad Area

उद्धार र राहत वितरणमा ध्यान दिन नागरिक समाजको अपिल


घोराही २४ असोज । नागरिक समाज दाङले वर्षाका कारण भएको विपदजन्य घटनाका पीडितलाई तत्काल उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन सम्वद्ध सबै निकायलाई अपिल गरेको छ ।
विपदमा परी भएको क्षतिप्रति दुख व्यक्त गर्दै सबै पीडित घरपरिवारको लगत संकलन गरी भेदभावरहित रुपमा तत्काल राहत वितरणमा जुट्न समाजले अपिल गरेको हो । वर्षाका कारण आएको बाढी, पहिरो, डुबानलगायत विपदका घटनामा परी घरबार विहीन भएकाहरुलाई बस्ने व्यवस्था मिलाउन तथा थप राहत वितरणको काममा ढिलाई नगर्न पनि  सचेत गराएको छ ।
समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै विपदको बेलामा पीडितहरुको तत्काल उद्धार गरी उपचार र बन्दोबस्तको उचित व्यवस्था मिलाउनु सबैको कर्तव्य भएकाले स्थानीय सरकार, सम्वद्ध सबै निकायलाई उद्धार र राहतमा जुट्न अपिल गर्नुभएको छ ।
‘यो बेलामा पीडितको पीडामा मलम लगाउन थयाशीघ्र उद्धारपछि राहतको सही व्यवस्थापन हुन जरुरी छ । विपदमा परेका सबै घरपरिवारको लगत संकलन गरी भेदभावरहित ढंगले तत्काल राहत वितरण गर्न र दीर्घकालीन व्यवस्थापनमा जुट्न स्थानीय सरकार, सम्वद्ध संघसंस्था, प्रहरी प्रशासनलगायत सबै समुदायमा  नागरिक समाज दाङ हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा  भनिएको छ ।
यस्तै, अहिले पनि मौसम प्रतिकुल रहेकाले विशेष सावधानी अपनाउन आम नागरिक वर्गमा नागरिक समाज दाङले सचेत गराएको छ  ।

Blog Post Ad Blog Post Ad