Ad Area

दाङमा पशु सेवा विज्ञ केन्द्रको बजेट दश करोड बढी


घोराही ८, कार्तिक । पशुपंक्षी विकास तथा पशुहरुको स्वास्थ्य प्रवर्द्धनका लागि दाङमा दश करोड बढी बजेट बिनियोजन भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घोराहीमा सोमवार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८–०७९ का लागि प्रदेश सरकारबाट विनियोजन भई आएको वार्षिक कार्यक्रम तथा बजेटका बारेमा सार्वजनिक गरेको हो ।

कार्यक्रममा जिल्लामा दुध, मासु, अण्डा, माछा तथा पशु प्रवर्द्धन र उनीहरुको स्वास्थ्यका लागि दश करोड ३१ लाख ७६ हजार रकम विभिन्न शीर्षकमा खर्च गर्ने गरी विनियोजन भई आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार मिसन कार्यक्रममा ९२ लाख, सेवा टेवा विस्तार कार्यक्रमका लागि तीन करोड ७ लाख दुई हजार, खाद्य तथा स्वास्थ्य पोषण सुरक्षा कार्यक्रमका लागि ९८ लाख रुपैंया प्रदेश सरकारले विनियोजन गरेको छ ।

यसैगरी, पशु विकास तथा पशु स्वास्थ्य कार्यक्रमका लागि ६६ लाख ६३ हजार रुपैँया, मत्स्य विकास कार्यक्रमका लागि १४ लाख ७३ हजार रुपैया, स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि दुई करोड २१ लाख ९९ हजार रुपैया विनियोजन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख केसीले बताए । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ३६ लाख ७५ हजार रुपैँया र पशुपंक्षी रोगका लागि खोप अभियानमा २४ लाख ८ हजार र कर्मचारीको तलवभत्ता एवं साधारण खर्चका लागि १ करोड ६९ लाख ६६ हजार रुपैयाँ गरी चालु आर्थिकमा जम्मा दश करोड ३१ लाख ७६ हजार रुपैया बिनियोजन भएको हो ।

उनका अनुसार यस पटक जिल्लामा साविकमा कार्यान्वनमा रहेका स्मार्ट कृषि गाउँसँगै अर्को एउटा गाउँ र कोभीड विशेष कार्यक्रम थप गरी बजेट विनियोजन भएको छ । जिल्लाको दंगीशरण, बबई, लमही, राप्ती, तुलसीपुरको अक्कासी, गढवामा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन हुँदै आएकोमा यस पटक राजपुरको सुनपत्रीमा पनि कार्यक्रम लागू हुने भएको छ ।

विनियोजित बजेटमा दुग्ध विकास र प्रवर्द्धनका लागि प्रतिलिटर २ रुपैयाँका दरले प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराईदै आइएको सेवालाई पनि निरन्तरता दिइएको छ भने स्टीलको भाँडा उपलब्ध गराउने, मासुजन्य बस्तुमा पनि प्रोत्साहन स्वरुप उपलब्ध गराइँदै आइएको प्रति किलो २५ रुपैयाँको सेवा पनि निरन्तर हुने भएको छ । यी दुवै कार्यक्रमका लागि ६० लाख विनियोजन भएको छ ।

Blog Post Ad

गत वर्ष सो कार्यालयले करीव सवा ९ करोडको बजेट ल्याएको थियो । कोरोना महामारीका कारण अधिकांश शीर्षकका बजेट कार्यान्वनमा समस्या भएपनि करीव ७४ प्रतिशत बजेट खर्च गर्न सफल भएको उनको दावी छ । यस पटक पनि बजेट कार्यान्वयनको प्रभावकारी बढाउने गरी काम गर्ने उनको प्रतिवद्धता छ ।

यद्यपि, प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटको केही शीर्षकमा गर्नु पर्ने खर्चको कार्यविधि आई नसकेकाले कसरी अघि बढ्नेमा अन्यौल रहेको कार्यालयले बताएको छ । प्रदेश सरकारको कृषि विकास मन्त्रालयले बजेट कार्यान्वयनका लागि कार्य विधि बनाएर चाँडै नै पठाएको अवस्थामा सहज हुने केन्द्र प्रमुख केसीको भनाई छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख डा. बेदबहादुर केसीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पशुपालनका क्षेत्रमा बिनियोजन भएको बजेटलाई जनताको जीवनस्तरमा सुधार ल्याउने गरि खर्च गर्नुपर्ने बताएका थिए । पशुपालनका माध्यमबाट जनताको आर्थिक जीवनस्तरमा सुधार गर्न सके समृद्ध समाज निर्माणमा सहयोग पुग्ने समेत बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतम, कृषि ज्ञान केन्द्र घोराहीका पृथुमान चौधरी, घोराही उपमहानगरपालिका पशु विकास शाखा प्रमुख जीवराज पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पशु स्वास्थ्य शाखा प्रमुख भरत देवकोटाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad