Ad Area

धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन, सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा


घोराही ९, कार्तिक । सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यदलमा कृषि तथा पशुपंक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

सवैभन्दा बढि क्षति लुम्बिनी प्रदेशमा

कार्तिकको पहिलो हप्ता लगातारको वर्षापछि आएको बाढी पहिरो र डुबानमा करीव ८ अर्बको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । ६ वटा प्रदेशका १९ जिल्लामा गरी ८ अर्ब २१ करोड रुपैयाँ बराबरको दुई लाख ६९ हजार ८ सय ४२ मेट्रिक टन धानमा क्षति पु¥याएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको प्रारम्भिक विवरण अनुसार ८ अर्ब २१ करोड बराबरको धानवालीमा क्षति भएको छ ।

सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ टन धान क्षति भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा–१ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिक टन धानमा क्षति पुगेको छ ।

प्रदेश १ मा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिक धानमा क्षति पुगेको छ । यस्तै प्रदेश–२ मा ५६ करोड रुपैयाँ बराबरको २० हजार ३ सय ५०, गण्डकी प्रदेशमा १३ करोड रुपैयाँ बराबरको ४ हजार ५ सय ३०, कर्णाली प्रदेशमा १३ करोड रुपैयाँ बराबरको ४० हजार २ सय १९ मेट्रिक टनमा क्षति पुगेको मन्त्रालयलको तथ्यांक छ ।

Blog Post Ad

प्रदेश–१ का झापा, मोरङ, सुनसरी, प्रदेश–२ का सप्तरी सिरहा र सर्लाहीमा जिल्लामा क्षति भएको छ । यस्तै कर्णाली प्रदेशको डोल्पा, जुम्ला, सल्यान सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

एक लाख ७१ हजार ७६ हेक्टरमा क्षेत्रफलमा असर परेकोमा ७१ हजार ११ हेक्टर क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पाकेका धानमा ठूलो क्षति पुगेपछि यो वर्ष उत्पादनमा कमी आउने मन्त्रालयले अनुमान गरेको छ । मन्त्रालयले विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८ दशमलव ३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको जनाएको छ । तर, भित्र्याउनुअघि नै अधिकांश काटेर राखेको धान खेतमै डुवान र बाढीले बगाउँदा पूरै क्षति हुन पुगेको हो ।

गत वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख २१ हजार ७१० मेट्रिक टन उत्पादन भएको थियो । यता, दाङमा पनि प्रारम्भिक जानकारी अनुसार करीव ४० करोड बराबरको धानबालीमा क्षति पुगेको अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसका लागि क्षतिको बिस्तृत विवरण तथा तथ्यांक लिने काम वडास्तरबाट भईरहेको केन्द्रले बताएको छ ।

Blog Post Ad Blog Post Ad