Ad Area

नवौं राष्ट्रिय खेलकुद : दाङका ८३ खेलाडीले प्रतिष्पर्धा गर्दै


दाङ, २८ असोज । खेलाडीहरुको उत्साहको पर्व नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रवार(आज)देखि गण्डकी प्रदेशको पोखरामा सुरु हुँदैछ । प्रतियोगिताका लागि देशका सातै प्रदेशसँगै विदेशबाट समेत खेलाडीहरु पोखरा पुगिसकेका छन् ।

तीनै मध्यका एक खेलाडी हुन, दाङ निवासी अर्जुन नेपाली । आईटिएफ तेक्वान्दो खेलका लागि लुम्विनी प्रदेशस्तरीय छनोट खेलबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका नेपालीका लागि प्रतियोगिता पहिलो अभ्यास समेत हो । पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्न थालेका नेपाली पदक जित्ने आशामा छन् ।

‘विभिन्न प्रतियोगिताहरुमा पदक जितेपनि सरकारले आयोजना गरेको प्रतियोगिता खेल्ने अवसर पाएको थिएनन्,यस पटक छनोट भएको छु’,आईटिएफ तेक्वान्दो खेलाडी नेपालीले भने,‘आशा छ,प्रतियोगितामा प्रदेशका लागि पदक समेत जित्ने छु ।’ आईटिएफ तेक्वान्दोमा दाङबाट नेपालीसँगै तीन जना खेलाडीहरु छनोट भएका छन् ।

त्यसैगरी घोराही निवासी महिला क्रिकेट खेलाडी सरस्वती जिएम प्रदेशस्तरीय महिला क्रिकेट टिमको कप्तानी गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलिरहेकी छिन् । लुम्विनी प्रदेशको महिला टिमले प्रतियोगितामा जित समेत हासिल गर्दै अघि बढेको छ । राष्ट्रिय प्रतियोगितामा सरस्वतीसँगै दाङबाट नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६ जना खेलाडीहरु छनोट भएका छन् ।

त्यसैगरी घोराहीका मिसांग घर्तीमगर पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न थालेका छन् । उनी लुम्विनी प्रदेशस्तरीय फुटवल टिमका लागि दाङका एक्ला खेलाडी समेत हुन । जिल्ला प्रदेशहुँदै नवौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका मिसांगले प्रतियोगितामा पदक समेत जित्ने विश्वास व्यक्त गरेका छन् । उनीहरु जस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दाङबाट १७ विधामा ८३ जना महिला तथा पुरुष खेलाडीले प्रतिष्पर्धा गर्न थालेको जिल्ला खेलकुद बिकास समिति दाङका कार्यालय प्रमुख शान्ति सोमै राना मगरले जानकारी दिएकी छिन् ।

कार्यालय प्रमुख रानाका अनुसार प्रतियोगितामा सबैभन्दा धेरै ह्यान्डवल खेलमा १३ जना महिला तथा पुरुष खेलाडीहरु यस पटक जिल्लाबाट सहभागी भएका छन् । त्यसैगरी सफ्ट टेनिसमा १० जना, महिला तथा पुरुष फुटवलमा ९ जना, एथ्लेटिक्स ८ जना, भारोत्तोलन, क्रिकेट र बास्केटबलमा ६÷६ जना, टेवलटेनिस र पेन्टिङमा ४÷४ जना खेलाडीहरु राष्ट्रिय प्रतियोगिता खेल्दै छन् ।

Blog Post Ad

त्यसैगरी भलिबल र आइटिएफ तेक्वान्दो खेलमामा ३÷३ जना, कवडी, खोखो र शारीरिक सुगठनमा २÷२ जना, तेक्वान्दो र उसुमा १÷१ जना गरि ८३ जना खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएर खेल्ने थालेको कार्यालय प्रमुख राना मगरले जानकारी दिएकी छिन् । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङबाट धेरै खेलाडीहरु सहभागी हुँदैछन्’,कार्यालय प्रमुख राना मगरले भनिन्,‘उनीहरु मध्य केही अनुभव खेलाडीहरु रहेका छन भने केही नयाँ खेलाडीहरु छन् ।’

कार्तिकको ३ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश, तीन बिभागीय टिमसहित एनआरएनको टिम गरेर ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताका खेलहरु गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुसँगै केही प्रतियोगिता काठमाडौमा समेत हुँदैछन् । प्रतियोगितामा ३५ विधामा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको औपचारिक रुपमा आज उद्घाटन हुने भएपनि प्रतियोगिता अन्तर्गतका विभिन्न खेलहरु केही दिनअघि नै सुरु भैसकेका छन् ।

Blog Post Ad Blog Post Ad