Ad Area

दाङका ६ साहित्यिक संस्थाले महाकवि देवकोटालाई सम्झिए


घोराही, ७ कार्तिक । नेपाली भाषा, कला तथा साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती दाङमा पनि मनाइएको छ । दाङका विभिन्न ६ वटा साहित्यिक संघसंस्थाले सोमबार घोराहीमा एकै ठाउँमा कार्यक्रम गरेर महाकवि देवकोटालाई सम्झिएका हुन् ।

राप्ती साहित्य परिषद् केन्द्र, सर्वाेदय पुस्तकालय तथा वाचनालय दाङ, लेखक संघ दाङ, प्रगतिशील लेखक संघ नेपाल दाङ शाखा, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङ र विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखाले संयुक्त रुपमा कार्यक्रम गरेर महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व बारे चर्चा परिचर्चा गरेका छन् ।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरी महाकवि देवकोटालाई सम्झििइएको हो । सो अवसरमा ’महाकवि देवकोटाका सिर्जनामा लय चेतना’ विषयमा साहित्यकार एवं समालोकहरू डा.हिमलाल पन्थी र पुस्कर रिजाल ’पुष्प’ ले चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा महाकवि देवकोटाको निचारी बारे लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले जानकारी गराउनुभएको थियो भने प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, वरिष्ठ साहित्यकार नारायण नेपाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा नगेन्द्र गुरु, विना रोका, सन्ध्या रेग्मी, यम रेग्मी, मोहनकुमार दाहाल, कमलमणि देवकोटा, नारायण नेपाल, घनश्याम अस्तित्व लगायतका स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।

यसैबीच, साहित्यकार नगेन्द्र गुरुद्वारा रचित ’याद त आइहाल्छ नि’ नामक गजलसङ्ग्रहको विमोचन गरिएको थियो । महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा पारेर आज उक्त गजल संग्रह विमोचन गरिएको हो । सर्वाेदय पुस्तकालय तथा वाचनालय दाङका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रलेस नेपाल दाङ शाखाका उपाध्यक्ष रेशम बीसीले धन्यवाद दिनुभएको थियो , उक्त कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ’समीर’ले गर्नुभएको थियो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभएको छ ।

Blog Post Ad

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

Blog Post Ad Blog Post Ad