Ad Area

फर्निचर उद्योग जलेर खरानी, सवा सात करोडको नोक्सानी


घोराही, ८ कार्तिक । दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी भई उद्योगमा रहेको सबै सामान जलेर खरानी हुँदा करोडौँको क्षति भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आज राति आगलागी हुँदा फर्निचर उद्योग जलेर पूर्ण रूपमा खरानी भएको छ भने सवा सात करोड बराबरको क्षति भएको छ ।

रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नम्बर ४ बडहरा स्थायी घरभई हाल घोराही १५ शहीद उमेशमार्गमा रुपनारायण शर्मा, तेजनारायण शर्मा र महेश शर्माले संचालन गर्दै आएको फर्निचर उद्योगमा आगलागी भएको हो ।

उनीहरुले संचालन गर्दै आएको न्यू दाजुभाई फर्निचर उद्योगमा आगलागनी हुँदा फर्निचरसहित सामग्री र नगद ७५ लाख गरेर दुई करोड ७५ लाख, दाजुभाई फर्निचर उद्योगमा फर्निचर र जिन्सि सामान गरेर दुई करोड ५० लाख, स्टार दाजुभाई उद्योगमा डेढ करोड बराबरको क्षति भएको छ । रुपनारायण शर्माले छठ मनाउन घर जाने कामदारका लागि र छोराका फि तिर्न भन्दै आफुसँगै राखेको ७५ लाख नगद सबै जलेर खरानी बनेको बताउनुभयो । तीन वटै फर्निचर उद्योगमा करीव ८० जना कामदार कार्यरत छन् ।

छेवैमा रहेको दाजुभाइ नास्ता पसलमा पनि आगलागी हुँदा चार लाखको क्षति भएको प्रहरीले मुचुक्ला उठाएको छ । यसैगरि ओम प्रकृति फर्निचर उद्योगको १० लाख, वशिष्ठ अधिकारीको ४ तले घरमा आगलागीले असर गर्दा करीव २० लाख, लुमाकान्त अधिकारीको ३ तले घरमा तीन लाख, रमेश गौतमको १ लाख तथा अरु भौतिक क्षति गरी ७ करोड २५ लाख बराबरको नोक्सानी भएको जिल्ला कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभयो ।

आगलागीबाट यति ठूलो नोक्सानी भएको घोराहीमा पहिलो पटक रहेको उहाँको भनाई छ । राति अचानक आगलागी भएपछि आफुहरुले केही पनि बचाउन नसकेको पीडितहरुको भनाई छ ।  प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेको आगो बिहान साढे ४ बजेपछि मात्रै नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकल तथा स्थानीय टोलबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।

Blog Post Ad

घोराही उपमहानगरपालिकाको दमकल आएपनि पूर्ण रुपमा काम गर्न सकेको थिएन । अहिले त्यहाँ टीनका पाता र पाईप जलेर काम नलाग्ने अवस्थामा रहेको छ भने अरु सबै सामान केही पनि नबचेको आगलागी पीडित तेजनारायण शर्माले बताउनुभयो । यस्तै, घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेले आफु राति २ बजेबाट घटना स्थलमा खटिए पनि आगो नियन्त्रणमा ल्याउन कठिन भएको बताउनुभयो । काष्ठजन्य सामग्री तथा त्यहाँ प्रयोग हुने रसायनका कारण पनि आगो छिटो फैलिएको र रातको समय भएकाले पनि आगो नियन्त्रणमा ल्याउन नसकिएको हुँदा सबै जलेर खरानी बनेको उहाँले बताउनुभयो ।

तिहारको बेलामा भएको ठूलो घटनाले उद्योगी व्यवसायीलाई निकै दुखी बनाएको निजि क्षेत्रको भनाई छ । बैंकबाट ऋण निकालेर गरिएको करोडौँको लगानी खरानी बन्दा आफुहरु पनि दुखी भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad