Ad Area

घोराही बजारका कवाड व्यवसायी अब करौती डाँडामा स्थानान्तरण हुँदै


घोराही १०, कार्तिक । घोराही बजारलाई व्यवस्थित र सुरक्षित बजारका रुपमा विकास गर्न एकीकृत बजारको अवधारणा कार्यान्वनमा ल्याउन थालिएको छ । केही वर्ष अघि अटो भिलेजको अवधारणा कार्यान्वनमा ल्याईएकोमा अब बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका कवाड व्यवसायीहरुलाई एकीकृत रुपमा व्यवसाय संचालन गर्न लगाउने गरी प्रकृया अघि बढाउन लागिएको हो ।

मंगलबार घोराही उपमहानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाको आयोजनामा बजार क्षेत्रमा छरिएर रहेका कवाड व्यवसायीहरुसँगको अभिमुखीकरण कार्यक्रमले कवाड व्यवसायलाई सुदृढ, परिस्कृत एवं सुरक्षित व्यवसायका रुपमा अघि बढाउने गरी एक समिति पनि गठन गरिएको छ ।

वडा नम्बर १४ का वडा अध्यक्ष तथा सरसफाई वातावरण एवं विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीको अध्यक्षता तथा नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी घोराही बजारलाई सरसफाईयुक्त बनाउन तथा कवाड व्यवसायीलाई एकीकृत रुपमा व्यवसाय संचालनका लागि वातावरण मिलाउन लागिएको हो । छरिएर रहेका कवाड व्यवसायीका कारण विभिन्न किसिमका समस्या निम्तिन थालेको भन्दै नगरपालिकामा नागरिकको गुनासो आउने क्रम बढेपछि पालिकाले यस विषयमा चासो लिएको हो ।

अब कवाड व्यवसायीहरुलाई एकीकृत रुपमा व्यवसाय संचालनका लागि घोराही १६ मा रहेको करौती डाँडामा स्थानान्तरण गर्न लागिएको छ । त्यहाँ रहेको करीव १ विगाहा जग्गालाई प्रयोग गर्न दिने गरी स्थानान्तरण गर्न लागिएको सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार कवाड व्यवसायीहरुलाई स्थानान्तरणसँगै व्यावसायिक सुरक्षा र प्रवर्द्धनका लागि समस्या समाधान गर्न समन्वय समिति गठन गरिएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेलको संयोजकत्वमा ७ सदस्यीय कवाड व्यवस्थापन समन्वय समिति गठन गरिएको हो । जसको सदस्य सचिवमा घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी रहेका छन् । यसैगरी, राजश्व शाखा प्रमख कृष्ण केसी, कवाड व्यवसायीहरुका तर्फबाट बाल्मी केसी, मञ्जित पुन र रजमान धुनियाँ तथा टोलबासीका तर्फबाट गिरबहादुर बस्नेत सदस्यका रुपमा रहेका छन् ।

उक्त समन्वय समितिले अबको एक हप्ताभित्रमा करौतीडाँडाको स्थलगत अध्ययन अवलोकन गर्नुका साथै आवश्यक पूर्वाधार निर्माणका लागि सुझाव दिनेछ । त्यसपछि आगामी ३ महिनाभित्रमा घोराही १४ र १५ मा रहेका कवाड व्यवसायीहरुको व्यवसाय स्थानान्तरण गराई सक्ने गरी काम अघि बढाउन लागिएको छ ।

Blog Post Ad

हाललाई बजार क्षेत्रमा रहेका कवाड व्यवसायीहरुको व्यापारले सरसफाई, सुरक्षालगायतमा समस्या निम्त्याएको भन्दै नगरबासी, टोलबासीको गुनासो व्यापक रुपमा आउन थालेकाले प्राथमिकताका आधारमा स्थानान्तरण गरिएपनि १ वर्षभित्रमा उपमहानगरका सबै कवाड व्यवसायीलाई करौतीडाँडामा स्थानान्तरण गरि सक्ने लक्ष्य राखिएको छ । घोराहीमा मात्रै करिव डेढ दर्जन कवाड व्यवसायी रहेको बताइएको छ ।

Blog Post Ad Blog Post Ad