Ad Area

तीन महिनामा ४० विवादका घट्ना दर्ता, १० वटामा मिलापत्र


दाङ, २२ कार्तिक । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष २०७९÷०८० को तीन महिनाको अवधिमा ४० वटा विभिन्न प्रकृतिका विवादहरु दर्ता भएका छन् । न्यायिक समितिमा दर्ता भएका विवादहरुमध्ये १० वटामा मिलापत्र गरिएको न्यायिक समिति संयोजक तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिएकी छिन् ।

घोराही उपमहानगरपालिकाको न्यायिक समितिद्वारा पहिलो त्रामासिकमा सम्पादित कार्यप्रगतिसम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा न्यायिक समिति संयोजक डिसीले न्यायिक समितिमा दर्ता भएका विवादहरुमा दुवै पक्षलाई बोलाएर छलफल गराउँदा दशवटा विवादहरुमा मिलापत्र गरिएको बताइन् । ‘पहिलो त्रैमासिकमा न्यायिक समितिमा विभिन्न प्रकृतिका ४० वटा विवादहरु दर्ता भएका छन्’, संयोजक डिसीले भनिन्– ‘न्यायिक समितिमा दर्ता भएका विवादहरुमा मिलापत्रका लागि दुवै पक्षलाई बोलाएर छलफल गराउँदा दशवटा मुद्दाहरु टुंगो लगाइएको छ ।’

संयोजक डिसीले न्यायिक समितिमा आर्थिक लेनदेन, जग्गा विवादलगायतका विभिन्न प्रकृतिका मुद्दाहरु पछिल्लो समय बढी मात्रामा आउने गरेको बताइन् । यस आर्थिक बर्षमा दर्ता भएका ४० वटा र गत आर्थिक बर्षबाट जिम्मेवारी सरी आएका २१ वटा गरी न्यायिक समितिमा भएका ६१ विवादमध्ये २२ वटा विवादमा मिलापत्र गरिएको बताइन् । उनले जिम्मेवारी सरी आएका ९ वटा र नयाँ दर्ता भएकामध्ये ३० वटा विवादहरु न्यायिक प्रक्रियामा रहेको बताएकी थिइन् । साथै संयोजक डिसीले न्यायिक समितिमा विवादहरु कमभन्दा कम आउन भन्ने उद्देश्यले वडाका विवाद वडा तहमै मिलाउने गरी मेलमिलापकर्ताहरुलाई जिम्मेवारी दिन थालेको बताइन् ।

‘सकेसम्म विवादलाई वडा तहमै मिलाउने गरी न्यायिक समितिले विभिन्न वडाहरुमा रहेका मेलमिलापकर्ताहरुलाई सक्रिय बनाउन थालेको छ’, संयोजक डिसीले भनिन्– ‘जसले गर्दा न्यायिक समितिमा मुद्दाको चाप कम हुने र पीडितहरुले चाँडै न्याय पाउने उद्देश्य रहेको छ ।’ न्यायिक समितिमा धेरै मुद्दाहरु आउँदा दुवै पक्षलाई बोलाउनुपर्ने र बस्तुस्थिति बारेमा बुझ्न खोज्दा विवाद मिलाउनका लागि समय लाग्ने गरेको बताइन् । घोराही उपमहानगरपालिका न्यायिक समितिले प्रत्येक हप्ताको सोमवार र शुक्रवार गरी दुई दिन न्यायिक समितिमा परेका विवादहरु हेर्ने गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले विवादरहित समाज निर्माणका लागि उपमहानगरपालिकाले प्रयास गरिरहेको बताएका थिए । त्यसका लागि न्यायिक समितिसँगै वडा तहमा रहेका मेलमिलापकर्ताहरुलाई सक्रिय बनाएर सभ्य समाज निर्माण गर्ने विवादित दुवै पक्षहरुलाई जितको महसुस गर्ने गरी विवादहरु मिलाउनका लागि न्यायिक समितिले काम गरिरहेको बताएका थिए । पत्रकार सम्मेलन न्यायिक समिति संयोजक हुमाकुमारी डिसीको अध्यक्षतामा भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad