Ad Area

आम निर्वाचन–२०७९ : बहालवालादेखि पूर्व मन्त्रीसम्म प्रतिस्पर्धामा


दाङ, २६ कार्तिक । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शंकर पोख्रेलले प्रदेशको राजधानी पटक–पटक तोक्न नमिल्ने बताएका छन् । उनले को व्यक्तिले के बोल्छ, त्यसको अर्थ समेत नभएको बताए ।

‘संविधानले प्रदेशको राजधानी एकपटक तोक्ने व्यवस्था गरेको छ । त्यो अनरूप लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा तोक्ने काम प्रदेशसभाले गरिसकेको छ’, घोराही उपमहानगपालिका १३ मा शनिवार मतदातासँगको भेटघाट कार्यक्रममा महासचिव पोख्रेलले भने, ‘तोकेको राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’

उनले राजधानी कार्यान्वयनको लागि आफू मुख्यमन्त्री भएको बेला योजनाहरू अघि सारेको समेत बताए । ‘हामीले राजधानी कार्यान्वयनको लागि योजना ल्याएका थियौँ तर गठबन्धन सरकारले त्यसलाई कार्यान्वयन गर्नसकेको छैन’, उम्मेदवार पोख्रेलले भने ।

२०७४ सालमा दाङ क्षेत्र नं. २(१)का प्रदेशसभा सदस्यमा निर्वाचित भएर मुख्यमन्त्री बनेका पोख्रेलले चौतर्फी प्रतिकूलताबीच प्रदेश राजधानी बुटवलबाट दाङ सार्न सफल भएका थिए । संघीय सरकारले तोकेका ७ वटा प्रदेशका अस्थायी राजधानीमध्ये ६ वटा साविककै स्थानमा रहेका बखत पोखरेलले मात्रै राजधानी गृहजिल्ला सार्न सकेका थिए ।

‘राजधानी कार्यान्वयनको लागि सहरीकरणसँगै पूर्वाधारका धेरै योजना ल्याएका थियौँ’, उनले भने, ‘तर गठबन्धन सरकार निर्माण भएपछि कार्यान्वयनमा विलम्ब भएको छ ।’ उनले राजधानीको विषय कुनै मजाकको विषय नभएको समेत बताए । मतदाता भेटघाटमा उम्मेदवार पोख्रेलले जिल्लाको विकासको लागि योग्य उम्मेवारलाई चुनाव जिताउन अनुरोध समेत गरे ।

‘प्रतिकूलताका बीचमा पनि प्रदेश राजधानी जिल्लामा ल्याउनेदेखि अन्य विकासका आधार खडा गरेका छौँ’, उनले भने, ‘त्यो भएर निर्वाचनमा मतदाताले योग्य र काम गर्न सक्नेलाई छनोट गर्नुपर्छ ।’ उम्मेदवार पोख्रेलसँग स्थानीयले विकास निर्माणका माग समेत राखेका थिए । शनिवार बिहान उम्मेदवार पोख्रेलले घोराही–१३ मा डाङढुगे मगर समुदायसँग र घोराही १५ को थारूगाउँमा मतदातासँग भेटघाट गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad