Ad Area

जनतामा छैन ‘चुनावी उत्साह’


रञ्जिता अधिकारी
दाङ, ३० कात्तिक । चुनावमा मतदान गर्न अब केही दिनमात्र बाँकी छ तर जनतामा भने चुनावको रौनक खासै देखिँदैन । २०७४ मा सम्पन्न चुनावमा जनता उत्साहित देखिएपनि अहिले त्यस्तो उत्साह देखिएको छैन । आगामी मंसीर ४ को प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनले अहिले जताततै चुनावी चहलपहल बढाएको छ । उम्मेदवार भोट माग्न व्यस्त छन् । दलका नेता, कार्यकर्ता पनि मतदाता रिझाउन लागिपरेका छन् । अहिले उम्मेदवार बनेका नेताहरु जनताको जनजीविका, सामाजिक न्याय, शान्ति र सुरक्षा, कृषिमा आयाम, आर्थिक समृद्धिको मुद्धालाई आधार बनाएर जनताको बीचमा पुग्ने गरेका छन् ।

चुनावमा मतदान गर्न अब केही दिनमात्र बाँकी छ तर जनतामा भने चुनावको रौनक खासै देखिँदैन । २०७४ मा सम्पन्न चुनावमा जनता उत्साहित देखिएपनि अहिले त्यस्तो उत्साह देखिएको छैन । राजनीतिक दलका गतिविधि, खिचातानी र नेताहरुको क्रियाकलापकै कारण जनतामा उत्साह नदेखिएको स्थानीय बताउँछन् । घोराही उपमहानगरपालिका वडा नम्बर ६ का सीताराम चौधरीको भनाईमा ‘गाउँगाउँमा सिंहदरवार भनिए पनि त्यो ‘सिंहदरवार’ले जनतालाई केही सुविधा दिन सकेको छैन । “घोराहीदेखि धारपानीसम्मको सडकमा नालासहित पिच गर्छौ भनेका थिए । पाँच वर्षमा नाला बनाएनन्, काम गर्ने वचन दिने तर नगर्ने बानी सच्याउनुपर्छ,” उहाँले भन्नुभयो ।

घोराही –१६ का स्थानीय रामचरण चौधरीको काम तरकारी उत्पादन गरी बिक्रि गर्ने हो । घोराही बजारमा ल्याएर तरकारी बेच्दै आउनुभएका चौधरी भन्नुहुन्छ, “काम नगरी खान पाइँदैन । समयमा मल र बिउ नपाउदा खेती गरेर गुजारा चलाउने किसानलाई धेरै समस्या भएको छ ।” “पाँच वर्षसम्म उनीहरूले जनतामाथि शासन गरे, सेवा होइन । उनीहरू आफूलाई जनताको सेवक भन्छन्, तर उनीहरु सेवक हुन सकेको देखिएन, चौधरीको भनाई छ ।” पाँच वर्षसम्म अनुहार नदेखाएका नेता फेरी घरघरमा आएका छन् ।

घोराही –६ का मिनराज आचार्य सरकारले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको लागि उमेर घटाएकोमा खुशी हुनुहुन्छ । बाटो, नाला पिच गर्ने, साना सडकलाई स्तरबृद्धि गर्ने र सिंचाइका लागि डिपबोरिङ खनेर सजिलो गराएको बताउनुहुन्छ । बहुमतको सरकार नहुँदा बिचैमा बाहिरीनु पर्दा संचालन गरेका काम अपुरा हुने भएको अव निर्वाचित हुने पार्टीले बहुमत ल्याएमा सजिलोसंग सरकार चलाउने बताउनुहुन्छ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दल आफ्नो चुनावी अभियानलाई गाउँ केन्द्रीत पनि गरेका छन्, खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने समय भएकाले पार्टीका उम्मेदवारले खेतबारीमै पुगेर मतदातासँग मत मागिरहेका छन् । गाउँका घरघरमा पुगेर उम्मेदवारले आफ्नो र पार्टीको घोषणापत्र सुनाउँदै मत मागि रहेका छन् ।

चुनावका बेला जसरी एक एकलाई भेट गर्ने समय हुन्छ, पछि जनताको बीचमा आउनुपर्छ भन्ने भुल्न नहुने उहाँको आग्रह छ । “पार्टीका उम्मेदवार घरदैलोमा आई भोट माग्छन्, एउटा पार्टीका उम्मेदवार विजयी भएर जान्छ, उसले गरेका वाचामा बेईमानी गर्नुभएन भन्ने मतदाताको भनाई हो, उहाँले भन्नुभयो,” “जति सकिन्छ त्यति आश्वासन दिए पो हुन्छ, भएभरका ठूला कुरा गरेर यो गर्छु त्यो गर्छु भन्दै भोट माग्ने अनि जितेर पाइला नफर्काउने काम गरेको देख्दा मन खिन्न हुन्छ ।”

लमही नगरपालिका– ६ का किसान मनिराम चौधरी पनि कृषि पेशामा हुनुहुन्छ । उहाँको दैनिकी खेतबारीमै बित्छ । कृषि पेशाबाट उहाँले जेनतेन गरेर छोराछोरी पढाउनुभएको छ । तरकारी बेचेर दैनिकी चलाउने चौधरी भन्नुहुन्छ, “सिसहनियाँ बजार व्यस्थित नभएका कारण सडकको छेउमा बसेर व्यापार गर्नुपरेको छ, कुनै दुर्घटना भयो भने ज्यान समेत जान्छ ।” स्थानीय तहमा हाटबजारको नाममा कर उठ्ने गरे पनि बजारको व्यवस्थापनमा ध्यान जान नसक्दा समस्या भएको उहाँले बताउनुभयो । जनतालाई रोजगार, व्यवस्थित बजार, शिक्षा तथा स्वास्थ्यमा सहुलियत चाहिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चुनावअघि उनीहरू विभिन्न प्रलोभन देखाएर मत लिएर जान्छन,काम हुनु त परैको कुरा चुनाव जितेपछि उनीहरूको अनुहारसमेत देख्न गाह्रो हुन्छ ।”

विकास तथा रोजगारीको नारा हरेक चुनावमा सुन्ने गरे पनि यी दुवै नारा कहिल्यै सम्बोधन नभएको मतदाताहरुको भनाई छ । “गाउँघरमा आधाभन्दा बढी मानिस छैनन्, अधिकांश युवा विदेशमा छन्, भएका युवा जागिरका लागि सहर बजारमा छन्, घरमा महिलाहरू मात्र भेटिन्छन्,” उहाँले भन्नुुभयो, “अहिले नेताको कुरा सुन्ने मान्छे पनि गाउँघरमा छैनन् ।” नेताहरूले गाउँमै रोजगारीको व्यवस्था गरेको भए युवाहरू पलायन हुने अवस्था नै आउँदैनथ्यो दिनभर काम गरेर साँझ बिहानको छाक टार्नेदेखि किसान वर्गलाई भने चुनावको माहोलले छोएकै छैन । उनीहरुको मन मस्तिष्कमा चुनावी प्रति चासो छैन ।

चुनावका बेला अनेकन आश्वासन बाँड्ने र चुनावपछि वास्तै नगर्ने प्रवृत्तिले उनीहरू निराश छन् । जसले गर्दा यो पटकको चुनाव जनताका लागि भन्दा राजनीतिक दलका लागि प्राथमिकतामा परेको उनीहरु बताउँछन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिएपछि उम्मेदवार मतदाता समक्ष पुग्ने गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दाङमा प्रतिनिधिसभा र प्रदेश सभासदस्यका लागि ९० जनाको उम्मेदवारी परेको जनाएको छ । जस मध्ये १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ सातजनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको हो । यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना यस्तै निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ छ स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ ।


निर्वाचन क्षेत्र नं १ को (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेबाट गंगाराम भट्टराई, नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारु बिचमा कडा प्रतिस्प्रधा रहेको छ । निर्वाचन क्षेत्र नं १ को (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्का, (उहाँ नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ ) नेकपा एमालेबाट कुलबहादुर खत्री क्षेत्री बिचमा कडा प्रतिस्प्रधा रहेको छ । यसैगरी निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेशसभाका लागि नेकपा एमालेको तर्फबाट बलीभद्र राणा र नेपाली कांग्रेसका राजु खनालको बिचमा प्रतिप्रर्धा रहेको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं २ को २ बाट प्रदेशसभाका लागि नेकपा एमालेका गिरिराज केसी, नेपाली कांग्रेसका प्रचण्डविक्रम न्यौपानेको बिचमा कडा प्रतिस्प्रर्धा रहेको छ । क्षेत्र न ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओली र सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी बिचमा प्रतिस्प्रर्धा रहेको छ ।

यस्तै प्रदेशसभातर्फ ३ (१)मा नेकपा एमालेका तर्फबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी बिचमा प्रतिस्प्रर्धा रहेको छ । यसैगरी निर्वाचन क्षेत्र नं ३ (२)मा नेकपा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीको बिचमा कडा प्रतिस्प्रर्धा रहेको छ । प्रदेश निर्वाचन कार्यालय दाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ४ लाख १९ हजार ९ सय २४ जना मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार १५३ मतदान स्थलमा ४६५ मतदान केन्द्र तोकिएको छ ।