Ad Area

फोरलेन सडक ‘चुनावी एजेण्डामा’


दाङ, ३० कार्तिक । घोराही–तुलसीपुर फोरलेन सडक जिल्लाको समृद्धिका लागि महत्वपूर्ण विकासको योजना हो । सडक तथा पूर्वाधार विकास योजनाअन्तर्गत रहने सडक विस्तारले जिल्लाको विकासका लागि ठूलो सहयोग पुग्ने अपेक्षा जिल्लाबासीको छ ।

जिल्लामा हुने विकाससम्बन्धी हरेक कार्यक्रम हुन् वा निर्वाचनका क्रममा जोडतोडले घोराही–तुलसीपुर तथा घोराही–लमही फोरलेन सडक विस्तारको कुरा उठ्ने गरेको छ । स्थानीय तहदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनसम्म कुरा उठ्ने घोराही–तुलसीपुर फोरलेन सडक विस्तारको काम ३६ महिनामा सक्ने गरी २०७५ साल पुस १५ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण पाँच वर्ष बितिसक्दा समेत सडक विस्तारको आधा काम समेत हुनसकेको छैन ।

निर्माण व्यवसायीले काम नगर्दा घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि–तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब १४ दशमलव ४६ किलोमिटर चारलेन र १३ दशमलव ७३ किलोमिटर दुईलेन सडक विस्तारको काम अलपत्र परेको छ । लामो समयसम्म सडक विस्तारले पूर्णता नपाउँदा उक्त सडकखण्डमा सवारी दुर्घटना बढ्नुका साथै पाँच वर्षको अवधिमा २३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कले देखाउँछ तर यस विषयमा नेताहरू गम्भीर रूपमा चासो नदिएको घोराहीका मतदाता घनश्याम डाँगीले बताए । ‘नेताले भाषणमा पटक–पटक गर्छौँ भन्नुहुन्छ, अब भाषणको विश्वास गर्ने दिन छैन’, उनले भने, ‘सडक विस्तारको काम गरेर देखाउनसके मात्रै जनताले विश्वास गर्नेछन् ।’

निर्वाचनका समयमा पहल गर्छौँ भन्ने तर जितेपछि आफैले गरेको प्रतिबद्धता भुल्ने नेताहरूको प्रवृत्तिका कारण दुई वर्षभित्रै सम्पन्न हुनुपर्ने फोरलेन सडक विस्तारको काम वर्षाैसम्म अलपत्र परेको जनगुनासो छ । निर्वाचनका समयमा उम्मेदवारहरू पाँच वर्षको अवधिमा आपूmले जिते गर्ने कामहरूलाई समेटेर प्रतिबद्धतापत्र समेत सार्वजनिक गर्ने गरेका छन् । जिल्लाको मुख्य सडक विस्तारको योजनालाई प्राथमिकता दिनुपर्ने भए पनि दाङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उम्मेदवारले दुई वर्षभित्र बनाउने प्रतिबद्धता गरे पनि नेकपा एमालेका उम्मेदवारले स्पष्ट रूपमा उल्लेख गर्नसकेका छैनन् ।

प्रतिबद्धतापत्रमा नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धनले दुई वर्षभित्रमा सडक बनाउने बताएको छ भने एमाले अवधि खुलाएको छैन । गठबन्धनले ल्याएको प्रतिबद्धतापत्रको पेज नम्बर ९ मा सडक÷यातायात शीर्षकअन्तर्गत पहिलो नम्बरमा समेटेर ‘लामो समयदेखि अलपत्र घोराही–तुलसीपुर चारलेन सडक विस्तार बढीमा दुई वर्षभित्र पूरा गरिनेछ’, भनिएको छ । तर एमालेका उम्मेदवारले ल्याएको प्रतिबद्धतापत्रमा लमही–तुलसीपुर सडकखण्डलाई विस्तार गर्ने भन्ने मात्रै उल्लेख छ । संकल्प–पत्रको ९ नम्बर पेजको भौतिक पूर्वाधार–दाङको समृद्धिको आधार शीर्षकको बुँदा नं. ३ मा जिल्लाको मुख्य सडक नाम नै उल्लेख नगरी ‘लमही–तुलसीपुर सडकखण्डलाई विस्तार गरिनेछ’, मात्रै भनिएको छ ।

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार अमेरिकी डलरको लागतमा सडक निर्माणको जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले आपूmले काम नगरेर सडक निर्माणको जिम्मा अन्य पेटी ठेकेदारलाई दिएको थियो । निर्माण कम्पनीकाअनुसार बबई नदीदेखि–कुटवा खोलासम्म ६ दशमलव ५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३ दशमलव ७ किलोमिटर सडक दुईलेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तीखौवासम्म ८ दशमलव ३१ किलोमिटर सडक चारलेन बनाउने गरी निर्माण कम्पनीसँग सम्झौता फोरलेन सडक कार्यान्वयन इकाइ कार्यालय लमहीले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad