Ad Area

तिहार पर्खदै फूल


दाङ, १० कार्तिक । एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुगेर फर्किएका घोराहीका लोकेन्द्र रोका मगरको दैनिकी अहिले फेरिएको छ । कतारमा करीव ७ वर्ष एक निर्माण कम्पनीमा काम गरेर स्वदेश फर्किएपछि अब के गर्ने भन्ने अन्योल रोका मगरमा थियो । त्यही बेला उहाँलाई दाङमा केही नयाँ व्यवसाय गर्ने सोँँच पलायो ।

रोल्पा जेलवाङ (हाल सुन छहरी गाउँपालिका ७) मा जन्मेका रोका मगरले विदेशमा श्रमको मूल्य बुझेपछि स्वदेशमै त्यही श्रम खर्च गर्न सके यहीँ सुन फलाउन सक्ने अठोट गरे । त्यही बेला उनको मनमा फूल खेती गर्ने अनौठौ योजना बन्यो । शुरुमा फूल खेतीले टाट पल्टाउँछ की भन्ने लागेको थियो तर बजारको माग र अवस्था बुझेर काम शुरु गरेपछि पछि फर्केर हेर्नु परेन । सात वर्ष अघि घोराहीमा ६ कट्ठा जग्गा भाडामा लिएर परिक्षणका लागि १ कट्ठाबाट फूल खेती सुरु गरेका रोका मगरको व्यवसाय फूल फक्रिए जसरी फक्रिँदै गएको छ ।

शुरुवाती चरणमा बजारमा फूल बिक्रिका लागि लैजाँदा फूल पनि बेच्छन् र भन्नेहरु अहिले ग्राहक बनेको उनि बताउछन् । फूल टिप्नु हुँदैन, पाप लाग्छ भन्ने समाजमा रहेको गलत मान्यतालाई चिर्दै फूलको व्यावसायिक खेतीमा थालेका उनि अहिले अहिले सफल फूल व्यवसायीको परिचय बनेको छ ।

घोराही १४ झिंगौरामा अहिले रोका मगरले करीव १ विगाहा क्षेत्रफलमा व्यावसायिक फूल खेती गरेका छन् । लगातारको परिश्रम, काममा विश्वास र श्रमको सम्मान गर्दै जाँदा अहिले फूल व्यवसायी बनेर परिचित हुन पाउँदा आफुलाई मनमा निकै सन्तोष मिल्ने गरेको बताउछन् । शुरुशुरुमा फूल संस्कृतिको विकास गर्न चुनौति सामना गर्नुपर्यो, बिस्तारै सबैले यसको महत्व बुझ्दै जानुभयो, अब त राम्रो भएको छ, यसले पनि मलाई काम गर्नमा थप हौसला मिल्यो, पहेँलपुर फुलेका सयपत्री फूलको बगैँचामा काम गर्दै रोका मगरले भने । उनले शुरुवाती चरणमा फूलको नर्सरी र मौसमी फूल खेती गर्दै आएका थिए ।

जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेको बताए । ‘मैले शुरु गर्ने बेलामा दाङमा व्यावसायिक रुपमा फूलखेती कतै भएको थिएन, काठमाडौँतिर फूलखेती व्यावसायिक रुपमा गरेको देखेको थिएँ अनि मैले यहाँ गर्दा कसो नहोला र भन्ने सोँच बनाएँ’, रोका मगरले भने ।

आर्थिक वर्ष २०७६–०७७ मा औपचारिक रुपमा फर्म दर्ता गरेरै उनले व्यावसायिक फूल खेतीको थालनी गरेका हुन् । जसले गर्दा प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले पनि व्यवसाय प्रवद्र्धनका लागि केही अनुदान सहयोग गरेको बताए । झिँगौरामा फूलको नर्सरी स्थापना गरेका रोका मगरले विभिन्न प्रजातिका फूल बिक्रि गर्दै आएका छन् । उनको नर्सरीमा घर सजावटका लागि लगाईने विभिन्न जातका फूल पाईने गरेको छ । दैनिक जसको फूल खरीद गर्न स्थानीय तथा विभिन्न स्थानबाट समेत ग्राहक आउने गरेको बताए । शुरुमा १ लाखबाट शुरु गरेको रोका मगरको फूल खेती अहिले निकै फस्टाई सकेको छ ।

Blog Post Ad

शुरुवातमा स्थानीय जातको फूल रोपेर फूल खेतीको थालनी गर्नुभएको रोकामगरले अहिले विभिन्न जातका फूल खेती गर्दे आएका छन् । एक वर्ष मालाले बजार पाएन। त्यो बेला बाहिरको भर परिएन। स्थानीयले फूल फुलाए। खेर गयो । १८ कट्ठामा रापेको फूलले २ लाख घाटा भयो ।

यस पटक तिहारका लागि भन्दै सयपत्री फूल फुलिसकेको छ । अहिले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूल खेती गरेको बताए । करीव १८ कट्ठामा लगाइएको हजारी (सयपत्री) फूल बारीभरी पहेँलपुर भएको छ । यसको सुन्दरताको बयान गरी साध्य छैन । फूल आफैमा सुन्दरताको उपज हो । फूलले मानिसको सौन्दर्यतासँगै सभ्यताको पनि मापन गर्ने गर्छ ।

तिहारका लागि भनेर रोपिएको फूलले स्थानीय बजारका मागलाई प्राथमिकता राखेको छ । रोका मगरका अनुसार स्थानीय बजारलाई पहिलो प्राथमिकता दिएर फूल रोपिएको हुँदा यहाँका ग्राहकले नै यस पटक तिहारमा सयपत्री फूलको माला खरीद गर्न सक्नेछन् ।
उनले रोपेको फूलबाट यो पटक करीब ७ हजार माला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । जिल्ला बाहिरबाट माग आउने गरेको भएपनि स्थानीय बजारमा खपत भईरहेको हुँदा जिल्लालाई प्राथमिकता दिएर फूल रोपेको उनि बताउछन् ।

 

Blog Post Ad Blog Post Ad